४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पोखरामा भदौ १६ गते तायाः मचा नाच प्रतियोगिता

तायाःमचा नृत्य प्रतियोगिताको तयारीमा जुटेको समूह।

पोखरामा आगामी भदौ १६ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष पोखरा महानगरपालिका–११ रानिपौवामा हुनेछ।

 नेवाः खल कास्कीको आह्वानमा हुने प्रतियोगिता यस वर्ष नेवाः कचा खल रानीपौवाको आयोजना तथा नेवा ल्याम्ह पुचः रानीपौवा र नेवा मिसा पुचः रानीपौवासँगको सहकार्यमा हुने जनाइएको छ।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यु भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ। गाईजात्रामा तायाःमचा नृत्य समेत समावेश गर्ने प्रचलन छ। गाईजात्राको अवसरमा देखाइने तायाःमचा नृत्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको छ।

प्रतियोगिताको तयारी सुरु भएको नेवा खलः कास्कीले जनाएको छ। प्रतियोगिताको तयारी स्वरूप शनिबार एक कार्यक्रमकाबीच सचिवालयको उद्घाटन गरिएको छ। सो अवसरमा प्रतियोगितामा सहभागी टिमहरुलाई बाजा सेट प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदाय भएका हरेक टोलमा तायाः मचा निस्कियोस् भनेर आफूहरुले प्रतियोगिता गर्ने गरेको बताए। ‘यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्दत पुग्छ भन्ने हाम्रो विश्वास हो, ’उनले भने।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले तायाःमचा नेवार समुदायको मौलिक संस्कृति भएको बताए। यसको संरक्षणका लागि प्रतियोगिता आयोजना भएपनि मौलिक पक्षमा अझै ध्यान नपुगेको उनको भनाई छ। तायाःमचा नृत्य पहिलेजस्तो रहेन,’ उनले भने,‘नाचमा चाहिने कुराहरुमा कमी आएको छ। नाचमा टाउको कसरी हल्लाउने? कसरी राग बजाउने भन्ने लगायतका मौलिक शैलीमा ध्यान पुगेको छैन।’

प्रतियोगितामा यस वर्ष करिब २५ टिमले सहभागिता जनाउने प्रतियोगिता संयोजक ईश्वर कर्माचार्यले जानकारी दिए। प्रतियोगिताको विजेतालाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिने नेवाः खल कास्कीका अध्यक्ष पालिखेले जानकारी दिए।

प्रकाशित: १३ श्रावण २०८० १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App