२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

शुभको शुभांशु

समीक्षा

नेपाली लघुकथा लेखनले निरन्तर रूपमा प्रगति र लोकप्रियता हासिल गरिरहेको अवस्थामा २०८० वैशाख १३ गते लोकार्पित ‘शुभांशु’ लघुकथासंग्रह कार्यक्रमस्थलमा नै मेरो हात लागेको थियो। ‘शुभांशु’  लघुकथासंग्रह हात लाग्नेबित्तिकै कतिखेर घर पुगौँ र पढाैं भन्ने मनमा हुटहुटी चल्यो। एक बसाइमै सबै लघुकथा सरसरती पढें। पहिलो पटकको पढाइले चित्त बुझेन। अर्को पटक गहन तथा मिहीन रूपमा पढें। पढेपछि यस संग्रहलाई लघुकथाको सैद्धान्तिक पक्षबाट केही धारणा राख्ने जमर्को गरेको छु।

माता मिठुमाया गैरे तथा पिता झगलाल गैरेकी सुपुत्रीको रूपमा २०३८ साल श्रावण ७ गते रत्ननगर -१३, चितवनमा जन्मनुभएकी लघुकथाकार शुभको यो पहिलो कृति हो। २०७० देखि २०७९ फागुनसम्म वैदेशिक भूमिमा जसरी पसीना बगाउनुभएको थियो, त्योभन्दा कयौं गुणा बढी पसीना लघुकथा लेखनमा बगाएको आभास दिएको छ यस कृतिले। हाम्रो लघुकथा पाठशाला (हाल हाम्रो लघुकथा केन्द्र) को फेसबुक पेजमा वाचिका तथा व्यवस्थापकको रूपमा परिचित लघुकथाकारसँग पहिलो पटक म उहाँको यस कृतिको लोकार्पणको समयमा प्रत्यक्ष तथा आत्मीय रूपमा परिचित हुन पुगेँ।

‘शुभांशु’  लघुकथासंग्रह हात लाग्नेबित्तिकै कतिखेर घर पुगौँ र पढाैं भन्ने मनमा हुटहुटी चल्यो।

कृतिको मुहार पृष्ठमा रहेको नाम शुभांशु अर्थात् शुभ-अंश, चन्द्रमा, नयाँ प्रकाश आदि धेरै अर्थ बोकेको भए पनि यस कृतिलाई मैले लघुकथाको क्षेत्रमा नव प्रकाशको रूपमा लिएको छु।

नीरबहादुर याक्खाको आवरण चित्रकला रहेको कृतिमा लघुकथाकार लता केसीको शुभेच्छा, खेमराज पोखरेलको शुभकामना, डा. शेखरकुमार श्रेष्ठको भूमिका र कृतिकारको भनाइ छ। ११२ पेजमा ६२ लघुकथाका खुराक पस्किन सफल यस कृतिको पहिलो लघुकथा व्रत रहेको छ भने लघुकथा लापार्बाहीले समापन गरेको छ।

शीर्षक सार्थकता

शीर्षकले विषयवस्तुको मुख्य विचारलाई संकेत गर्दछ। शीर्षक छनोट पात्रको भूमिका, कथाको उद्देश्य, घटनाको सन्दर्भ आदिमा केन्द्रित रहेर गरिन्छ। त्यस्तै शीर्षक लघुकथाझैं लघु र जिज्ञासु खालको हुनुपर्छ।

यसै मान्यताको आधारमा लघुकथाकार शुभ शीर्षक चयनमा सचेत रहनुभएको छ। यससंग्रहको कतिपय लघुकथाको शीर्षकले प्रतिक्रियात्मक अर्थ बोकेको देखिन्छ भने कतिपयले मार्मिक पक्षको रहस्य उदघाटन गर्ने प्रतिच्छाया राखेको छ। यसले लघुकथालाई प्रभावकारी बनाएको छ।

आयाम

लघुकथामा सर्जकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन। आयमको दृष्टिकोणले २ सयदेखि ३ सय शब्दमा लघुकथा समेटिनुपर्छ। यस संग्रहका एक लघुकथा छाडेर सबै लघुकथा आयामका दृष्टिले उपयुक्त देखिन्छन्।

उठान र समापन

लघुकथा उठानमा अप्रत्याशितता र सुरुवाती वाक्यमा कुतूहलता रहनुपर्छ भन्ने कथन पनि छ। यस कृतिमा आकस्मिक उठान भएका लघुकथाहरू निशब्द, श्रमिकको खुसी, प्रिय मान्छे, भरोसा, नराम्रो मान्छे, यात्रा, त्रास, पश्चाताप, आशीर्वाद, चट्टान, नामर्द कोरोना, आवरण, परिबन्द, सुकुम्बासी, ईर्ष्या, झल्को, रालो, बुई आदि छन्। यी लघुकथाहरूले को, किन र कसरी भन्ने कुतूहलता बोकेको देखिन्छ।

त्यस्तै सशक्त विपरीत धारमा र खुला समापन भएका लघुकथाहरूले घटना र परिवेशका बाँकी अवस्थाबारे पाठकलाई सोच्न बाध्य बनाउने, अरू अर्थ लगाउने जस्ता कल्पनाको स्वतन्त्रता दिने हुनाले उहाँका यी लघुकथाहरू प्रभावकारी छन्। सशक्त विपरीत धारमा समापन भएको लघुकथाहरू पछुतो, श्रमिकको खुसी, भार, दान, समाचार, रहस्य, कमजोरी आदि रहेका छन्।

परिवेश

घटना र अनुभूति एकै झोक्कामा सकिने लघुकथाको अर्को मूल तत्व रहेको छ। कथामा पात्रहरूले गरेको कार्य, संवाद र घटनाहरू घटेको समयलाई केलाउँदा लघुकथाहरूको परिवेश, घटना समय फरक-फरक देखिन्छ। व्रत-श्रावण महिना वा तीज, पीडा-तिहार, सचित्र-दशैं, पछुतो र त्रास-कोरोनाकाल, श्रमिकको खुसी-मजदुर दिवश, फरक पितृकल्प, लगानी-गाउँको परिवेश, निर्णय-चुनावी परिवेश रहेको देखिन्छ।

सशक्त विपरीत धारमा र खुला समापन भएका लघुकथाहरूले घटना र परिवेशका बाँकी अवस्थाबारे पाठकलाई सोच्न बाध्य बनाउने, अरू अर्थ लगाउने जस्ता कल्पनाको स्वतन्त्रता दिने हुनाले उहाँका यी लघुकथाहरू प्रभावकारी छन्।

चरित्र/पात्र

कथामा तोकिएका भूमिकामा उभिएर घटनालाई गति दिन भूमिका खेल्ने पात्र नै चरित्र हुन्। लघुकथामा चरित्र/पात्र संख्या थोरै हुन आवश्यक छ। सोही कथ्य तथ्य विचार गरी लघुकथाकारले यस कृतिमा थोरै पात्र प्रस्तुत गर्नुभएको छ। उहाँका लघुकथाका पात्रहरू परिचित मात्र होइन वास्तविक, जीवन्त र प्रतिनिधिमूलक पनि छन्।

दृष्टिविन्दु

दृष्टिविन्दुमा प्रथम वा तृतीय दृष्टिविन्दुमा लघुकथाको विकास हुन्छ। यस कृतिमा आन्तरिक दृष्टिविन्दु वा म पात्रलाई उपस्थित गराएर कथिएका लघुकथाहरूमा पीडा, सचित्र, निशब्द, फरक, योग्य, नराम्रो मान्छे, भार, यात्रा, समाचार, आशीर्वाद, क्षमता, रहस्य, नामर्द, नशा, दुरूस्त, आवरण, झल्को, आडभरोसा, भोक, दार, भिसा र लापार्बाही छन् भने अन्य लघुकथामा लघुकथाकारले बाह्य दृष्टिविन्दु वा तृतीय दृष्टिविन्दुमा आफूलाई चरित्रहरूबाट पृथक् राखेर पात्रहरूको माध्यमबाट विचार पस्कनुभएको छ।

भाव/उद्देश्य

कथामा प्रस्तुत विचार वा उद्देश्य अप्रत्यक्ष रूपमा कलात्मक बनाएर प्रस्तुत गरिनुपर्दछ। कथामा रहेको विचार वा धारणा कथाले दिने सन्देश हो। लघुकथाकारले लघुकथाका माध्यमबाट समाजमा रहेको परिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक,राजनैतिक र मनोवैज्ञानिक पक्षलाई समेट्नुभएको छ।

उहाँले नेपाली समाजमा बाँचेको जीवन,भोग्नुपरेका विकृति र विसंगतिलाइ व्यंग्यात्मक रूपमा लघुकथामा प्रतिबिम्बित गर्नुभएका छ। जीवनप्रतिको आशा निराशा, कुण्ठा, प्रवासी पीडा, सामाजिक तथा सांस्कृतिक,राजनैतिक कुरीतिकाको पर्दाफास गर्ने काम गरिएको छ।

यस संग्रहमा सामाजिक कुरीतिलाई प्रस्तिुति गरिएका लघुकथा (व्रत, फैसला, आवाज), गरिबीको व्यथा बोकेको लघुकथा (पीडा, श्रमिकको खुसी, अभागी), एकल नारीको व्यथा बोकेको लघुकथा (भत्ता), कोरोना परिवेशका लघुकथा (पछुतो, त्रास, कोरोना), मातृत्वभाव बोकेका लघुकथा (फरक, दुरुस्त, झल्को, भिसा) बिम्बको प्रयोग भएको लघुकथा (स्वतन्त्रता, ईर्ष्या) आदि छन्।

कथामा प्रस्तुत विचार वा उद्देश्य अप्रत्यक्ष रूपमा कलात्मक बनाएर प्रस्तुत गरिनुपर्दछ। कथामा रहेको विचार वा धारणा कथाले दिने सन्देश हो।

संग्रहमा रहेका केही लघुकथाका भाव/सन्देश

व्रतः फेसन हैन आफ्नो अवगुण, दोषलाई त्याग्नु र सकारात्मक ऊर्जा प्राप्त गर्नु नै व्रत हो भन्ने सकारात्मक सन्देश दिएको छ। यस लघुकथामा ‘म ईश्वरमा आशा हैन भरोसा राख्छु’ भन्ने मर्मस्पर्शी वाक्यांश छ।

पीडाः एक त गरिबीको भुमरीमा संघर्ष गरिरहेकी त्यसमाथि माइतीबाट अपहेलित एक नारीको पीडा। यस लघुकथामा रहेको कथन ‘आफ्नो त देखाउनुभन्दा देखिन्छ कि भनेर छोप्नुपर्ने कुरा धेरै हुन्छन्’ ले दर्विलो समापन प्रस्तुत गरेको छ।

ब्रह्मज्ञानः शान्ति प्राप्ति मानिसले बनाएकाे कृत्रिम वस्तुमा हुँदैन शरीरभित्र हुन्छ भन्ने सन्देश दिन सफल लघुकथा, यो लघुकथा पढ्दा कताकता महाकवि देवकोटाको यात्री कवितालाई सम्झना गराउँछ।

निशब्दः विदेश बस्दा त्यहाँको नीतिनियमको परिपालन गर्ने र आफ्नो माटोमा प्रवेश गर्नेबित्तिकै फुकेको साँढेझैं हुने हाम्रो जुन प्रवृत्ति छ त्यसप्रति कटाक्ष छ।

श्रमिकको खुसीः दिनरात अहोरात्र साहुको सेवामा खटिएका एक दम्पत्तीले एक दिन बिदा पाउँदाको खुसी र क्षणभरमै त्यो खुसीमा पर्न गएको तुषारापात, मर्मभेदी लघुकथा।

भरोसाः राजनैतिक व्यंग्य, पार्टीको झण्डामुनि बसेर जस्तो पनि कुकृत्यहरूमा सफाइ पाउन सकिन्छ भन्ने मानसिकता बोकेकाहरूको चित्रण गरेको छ।

भारः अपत्यारिलो खेलाडीले पाएको सफलताको पछाडि लुकेको सफलताको कडी रहस्यमय छ।

बुईः अरूको आडभरोसामा नकारात्मक कार्य गर्न अग्रसर हुनेहरूप्रति झटारो।

मायाः माइतीको कुकुर पनि प्यारो भन्ने जनमासमा प्रचलित भनाइलाई सटिक प्रयोग गरी लेखिएको लघुकथा।

आवाजः जो चोर उसैको ठुलो स्वर भन्ने उखानलाई चरितार्थ गरेको छ यो लघुकथाले।

संग्रहमा समावृत्त अन्य लघुकथाहरूमा पछुतो, सचित्र, फरक, योग्य, प्रिय मान्छे, नराम्रो मान्छे, प्रयास, दान, यात्रा, भत्ता, त्रास, लगानी, निर्णय, निरुत्तर, पश्चाताप, अबोध, अभागी, दार आदि छन्।

यी सबै लघुकथामा गरिबी, डर, शून्यता, आमजनता र उनीहरूको बाध्यता लघुकथाको केन्द्रविन्दुमा छन्। जीवनसापेक्ष बन्नु राजनीतिक व्यंग्य, सामाजिक, पारिवारिक, आर्थिक, नैतिक, धार्मिक विषयप्रति गहिरो चासो उहाँको लघुकथाको मुख्य स्वर हो। मानवीय अवमूल्यनप्रति ध्यानाकर्षण गर्दै मूल्य-मान्यताप्रति आफ्नो सकारात्मक दृष्टिकोण प्रस्तुत गर्न सफल छन् लघुकथाहरू।

सुधारणीय पक्ष

डा. शेखरकुमार श्रेष्ठको भूमिका त्यत्ति लामो नभएकाे भए राम्राे हुने थियाे भन्ने लागेकाे छ। अधिकांश लघुकथाहरूको उठानमा वर्णात्मक रहेको छ (व्रत, पीडा, पछुतो, ब्रम्हज्ञान, सचित्र, प्रयास भार, लगानी निर्णय, समाचार, कुण्ठा, क्षमता, नशा, भाषा, विपरीत मार्ग, बिरक्तिएको मन, रोजगारी, कामचोर, स्वतन्त्रता, परिणाम, ईर्ष्या, प्रतिप्रश्न, दार, अभागी, आदि)।

यी लघुकथाहरूमा आकस्मिक उठान गर्न सकिने ठाउँ छन्। त्यस्तै लामो परवेशको लघुकथाहरू-रहस्य, पीडा, सचित्र, दार, घाँडो आदिलाई परिमार्जन गरेर एकै घटना वा परिवेशमा समेटिने लघुकथाहरू बनाउन सकिने छ।

यी सबै लघुकथामा गरिबी, डर, शून्यता, आमजनता र उनीहरूको बाध्यता लघुकथाको केन्द्रविन्दुमा छन्। जीवनसापेक्ष बन्नु राजनीतिक व्यंग्य, सामाजिक, पारिवारिक, आर्थिक, नैतिक, धार्मिक विषयप्रति गहिरो चासो उहाँको लघुकथाको मुख्य स्वर हो।

केही लघुकथाको अन्तिम हरफ आवश्यक नरहेको महसुस गरेको छु। यी लघुकथाहरूमा सचित्र, प्रिय मान्छे, लगानी आदि छन्।

लघुकथा ‘यात्रा’को शीर्षक औडाहा भएको भए लघुकथाले अझ सार्थकता पाउने थियो कि भन्ने महसुस गरेको छु।

केही लघुकथामा धेरै पात्र उल्लेख भएका छन्-दान, आवाज, राजनीति, चट्टान। ‘चट्टान’ लघुकथामा तीन सयभन्दा धेरै शब्द छ। यसलाई छोटो बनाउने ठाउँ छ।

लघुकथा ‘नशा’मा अलि पात्र संवाद नमिलेको देखिन्छ। कतै म पात्र छ त कतै काकी पात्र।

केही ठाडा शब्दहरू बजिया (लघुकथा-भरोसा), राँडो (लघुकथा-घाँडो) आदि शब्दहरू अलि पाच्य हुँदैनन जस्तो अनुभूति भएको छ।

कहीं कतै शुद्ध-अशुद्धिले भनाइ खजमजिएको छ। निम्न स्थानमा सुधारको आवश्यकता महसुस गरेको छु-

लघुकथाभत्ताको पहिलो हरफ, लघुकथा दानको दोस्रो हरफमा, लघुकथा पश्चातापको दोस्रो हरफमा अनावश्यक रूपमा उद्धरण (“ ‘) चिन्हको प्रयोग भएको छ।

आयोजक राष्ट्र चिन-चीन (लघुकथा-कमजोरी), शब्दमा- शब्दमा (लघुकथा-श्रमिकको खुसी),पछाडिको डिक्की खोलेर सामान निकालो-निकाल (लघुकथा-श्रमिकको खुसी), उनलेत-उनले त (लघुकथा-दार) र सहकारी लिन्छ-सहकारीले लिन्छ (लघुकथा-अबोध)

अन्त्यमा,

सिद्धान्तको पर्खालभित्र रहेर लघुकथा लेख्न कठिन नै हुन्छ। सर्जकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन। त्यसमाथि पूर्ण रचना, चातुर्यपूर्ण समापन, अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता छ। यद्यपि यो मामलामा लघुकथाकार शुभ सफल रहेको देखिन्छ। नियमित लघुकथा वाचन तथा समीक्षकहरूको टिकाटिप्पणीले लघुकथाकार शुभलाई लघुकथा लेखनमा निकै नै परिपक्व बनाएको देखिन्छ।

उहाँको लेखनमा आफूले अनुभव गरेको यथार्थलाई चित्रण गरेको छ। सकारात्मक सोच, संवेदनशीलता र आदर्शवादी चेत उहाँको लघुकथाको मुख्य आधार रहेको छ। वस्तुपरक लघुकथाहरू यस संग्रहको सबैभन्दा ठूलो उपलब्धि हुन्।

सिद्धान्तको पर्खालभित्र रहेर लघुकथा लेख्न कठिन नै हुन्छ। सर्जकसँग धेरै शब्द खर्च गर्ने स्वतन्त्रता हुँदैन। त्यसमाथि पूर्ण रचना, चातुर्यपूर्ण समापन, अर्थपूर्ण र सन्देशमूलक हुनुपर्ने बाध्यता छ।

शुभांशु लघुकथासंग्रहले नेपाली लघुकथाको फाँटमा एक इँटा थप्ने र संकलित लघुकथाहरू नेपाली लघुकथा विधाका लागि बलियो मेरुदण्डको रूपमा रहने विश्वास छ। कथावस्तुको विविधता र शिल्पको चेतनाले यो संग्रहको लघुकथाहरूले पाठकको मनमा छाप छोड्न सफल रहोस्। लघुकथाकार शुभ शर्मालाई हार्दिक बधाई एवं कृतिगत सफलताको शुभकामना!

प्रकाशित: २३ वैशाख २०८० ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App