२४ असार २०८१ सोमबार
image/svg+xml
कला

ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल?

चैतको पहिलो साता काठमाडाै‌मा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको विभिन्न छलफलमा चलचित्रकर्मीले चलचित्र प्रदर्शनीबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धन भइरहेको निष्कर्ष निकालेका थिए। 

दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो। पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ। अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजको रूपमा समेत बुझ्ने गरिन्छ। अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेशभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ। 

विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ। कुनै समय वा घटनालाई लिएर बनाइने चलचित्र त्यो समयलाई अहिलेको पुस्तासम्म पुर्‍याउनाका साथै इतिहासका लागि दस्ताबेजको कामसमेत गर्छ तर नेपालमा भने त्यस्ता कथामा कमै चलचित्र बन्ने गरेका छन्। 

सीमित बनेका चलचित्रले दर्शकको साथ पाउँदैन। यसैवर्ष प्रदर्शन भएको चलचित्र ‘नालापानी’ समीक्षात्मक र व्यावसायिक दुवै रूपको भएन। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण गर्न झन्डै नौ वर्ष लागेको निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिए। 

‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन। हाम्रो कथा देखाउ भन्दा कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुदैनन’, निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन्।’ 

उनी झैँ निर्माता तथा निर्देशक मिलन चाम्स पनि नेपाली कथा वस्तुलाई विश्वभर पुर्‍याउने उद्देश्यले ‘गोर्खा वारियर’ तयार गर्दैछन्। आफैँ पूर्वगोर्खा सैनिक भएकाले उनी दश वर्ष अगाडिदेखि नै गोर्खालीको वीरताको कथालाई पर्दामा उतार्ने प्रयासमा थिए।

‘चलचित्रको छायाङ्कनमै तीन वर्षभन्दा बढी समय खर्चिसकेँ। यसको प्राविधिक कार्यका लागि नेपालदेखि भारतसम्मका प्रविधिको प्रयोग गरेको छु’, निर्देशक चाम्सले भने। उनले गोर्खालीको वीरताको कथा देखाउने विषय भने मलाया युद्धलाई रोजे। किनकि गोर्खाली जङ्गल युद्धमा विश्वमै उच्च मानिन्छन्। 

त्यही कारण निर्देशक चाम्सले चार वर्ष अगाडि कथा तयार गरेका थिए। भूतपूर्व गोर्खालीसँगै अहिले सेवामा रहेकासम्मलाई भेटेर मलाया युद्धको बारेमा बुझी कथा तयार गरेपछि चलचित्रमा त्यो समयलाई पर्दामा देखाउन भने निकै सकस भयो। चाहिएको प्रविधि थिएन। चलचित्र भनेपछि सङ्ग्रहालयमा भएका पुराना सामान पाउनसमेत नसकेको उनले सुनाए।

‘आजभन्दा ८० वर्ष अगाडिको समय देखाउनुपर्ने भएकोले बेलायत र भारतबाट केही सामग्री पाए पनि त्यो पर्याप्त थिएन । मलाई समान जुटाउन नै एक वर्ष लाग्यो“, निर्देशक चाम्सले भने, ‘उहाँले पहिलो र दोस्रो विश्वयुद्ध लडेको र वीरतामा अगाडि आउने गोर्खालीको कथा विश्वभर पुर्‍याउने उद्देश्यले चलचित्र निर्माणसँगै निर्देशन गरेको बताउनुभयो।’ 

मलाया युद्धलाई चलचित्रको विषयवस्तु बनाउनाको कारण नै जङ्गल युद्ध थियो । किनकि त्यसलाई देखाउन धेरै खर्च पर्दैन । यसको छायाङ्कन अठार दिन मलेसिया र पचास दिन सिन्धुलीमा गरिएको थियो । ‘आफैँ गोर्खाली सैनिक थिएँ । नेपालीको वीरताको कथा देखाउन कुनै सम्झौता गर्न सकिन । किनकि हामीलाई विदेशमा गोर्खाली भनी गर्ने इज्जत निकै माथि छ’, निर्देशक चाम्सले भने। 

देशले गर्व गर्न सक्ने कथालाई पर्दासम्म ल्याउने क्रममा नीतिगतसँगै संस्थागत सहयोगको आवश्यकता उनले समेत महसुस गरे। निर्देशक अधिकारीले नेपालमा चलचित्रकर्मीको लगानीले त्यस्ता कथालाई पर्दासम्म ल्याउन जटिल भएको अनुभव सुनाए। ‘व्यावसायिक चलचित्रमा लगानी गर्ने त पाइन्छ तर हामीलाई गाह्रो छ। व्यावसायिक सफलताले अन्यलाई लगानी कदापि प्रोत्साहित गर्दैन। त्यसैले यस विषयमा सम्बन्धित सङ्घ संस्थासँगै राज्यले समेत सोच्नुपर्छ’, उनले भने। 

निर्देशक चाम्सलेसमेत चलचित्र ‘गोर्खा वारियर’ मा सामान्य चलचित्रभन्दा बढी लगानी भइसकेको बताए।  ‘म आफैँ निर्माता समेत हुँ। विदेशमा यस्ता विषय पाउन मुस्किल छ तर हामीकहाँ व्यावसायिक जोखिमले गर्दा लगानीकर्ता नै हुदैनन। हामी आफ्नै इच्छाशक्तिले निर्माण गरिरहेका छौ’, निर्देशक चाम्सले भने। 

उनले उक्त चलचित्र विदेशमा प्रदर्शनसँगै नेपालमा समेत आउँदो वर्ष प्रदर्शन हुने जानकारी दिए। निर्देशक तथा समीक्षक प्रकाश सायमीले ऐतिहासिक घटनाक्रमलाई आधार बनाएर तयार गरिएका चलचित्रप्रति दर्शकको विश्वास बढाउन सक्नुपर्नेमा जोड दिएका थिए।

‘त्यस्ता चलचित्र बन्नुपर्छ। हामीले प्रोत्साहन पनि गर्नुपर्छ तर दर्शक विश्वस्त भएको पाइँदैन’, उनले भने। तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमा गरेको आक्रमणलाई लिएर बनाइएको चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ का वितरक करण श्रेष्ठले व्यावसायिक रूपमानै यस्ता चलचित्र तयार गरिनुपर्नेमा जोड दिए। 

‘ऐतिहासिक घटनाक्रम समेटिएको पछिल्लो केही चलचित्रमा स्थापित अनुहार भने देखिएन। त्यसको असर व्यापारमा परेको हुनसक्छ । दर्शकलाई परिचित अनुहारमा बढी विश्वास नभएको पनि हुनसक्छ’, वितरक श्रेष्ठले भने, ‘कलात्मक रूपमा अब्बल रहँदै बन्ने त्यस्ता चलचित्रलाई व्यावसायिक रूपमा तयार गर्नु नै चुनौती रहेको छ।’

पछिल्लो समय नेपालमा कृति र ऐतिहासिक घटनाक्रमबाट चलचित्र बन्ने क्रम बिस्तारै बढे पनि सफलता भने न्यून संख्याले मात्र पाउने गरेका छन्।रासस

प्रकाशित: १९ चैत्र २०७९ ०९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App