२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

‘अनुराधासँग अनुराधाहरू’

धनगढी कैलालीकी कल्पना भट्ट, महेन्द्रनगरकी शारदा चन्द र सुनसरीकी सुभद्रा प्याकुरेलका उस्तैउस्तै जीवनशैली र कर्म छन्। बिहान होस् या अबेला, यी तीनैजना आआफ्नो भूगोलमा उही कर्म गरिरहेका हुन्छन्। सडक जीवन बिताइरहेका मानसिक रोगीलाई आश्रय दिँदै आएका छन्। उनीहरू तीनैजनाको एकै भाव प्रकट हुन्छ, ‘सडक बेसहारालाई स्याहार्दाको आनन्द बेग्लै हुन्छ।’

धनगढीमा चार दिनदेखि चलिरहेको विश्व नेपाली नारी साहित्य महोत्सवमा सयौं साहित्यकार तथा दर्शकमाझ ‘अनुराधासँग अनुराधाहरू’ विषयक कार्यक्रममा सञ्चारकर्मी मुकुन्द भण्डारीसँग साक्षात्कार गर्दैै धनगढीमा दृष्टि फाउन्डेसन नेपाल नामक सामाजिक संस्था सञ्चालन गरी ६४ जना मानसिक रोगी तथा सडक बेसहारालाई स्याहार्दै आएकी कल्पना भट्टले भनिन्, ‘बेरोजगार, हिंसा, गरिबीलगायतका कारणले मनोरोगीको संख्या बढ्दै गएको छ, जुन घर परिवार छाडेर सडकमा जीवन बिताइरहेका छन् भने केही बेसहारा हुन पुगेका छन्।’

ती सडकमा बेसहारा भई जीवन बिताइरहेकाहरूलाई देख्नेबित्तिकै प्रहरी तथा स्थानीयको सहयोग लिएर उद्धार गरी आश्रममा पालनपोषण गर्दै आएकी छन् कल्पना। मानसिक अवस्था गुमाएका सयौं मानिसलाई स्याहार्दास्याहार्दै आफ्नो उमेर र समय बितेको पत्तै नपाएको बताउँदै उनले भनिन्, ‘एक घरपरिवारका पाँच/सात जनाको मत त फरक हुन्छ, यहाँ भिन्नभिन्नै ठाउँका मानसिक अवस्था गुमेकाहरूलाई मिलाएर एउटै घरमा परिवार भई बस्न झनै कस्तो कठिन हुन्छ, त्यो त मलाई मात्रै थाहा छ।’

यस्तै कञ्चनपुरमा रहेर महिला तथा वृद्ध सेवा केन्द्र सञ्चालन गर्दै आएकी अधिकारकर्मी शारदा चन्द पनि अहिले ७० जना वृद्धवृद्धाको स्याहारमा समर्पित छिन्। घरपरिवारले वास्ता नगरेपछि वृद्ध आमाबुबा मानसिक अवस्था गुमाउँदै सडकमा निस्कने गरेको उनले भनिन्, ‘त्यस्तो ज्येष्ठ आमाबुबालाई देख्नेबित्तिकै मन पग्लन्छ, समात्छु र महिला तथा वृद्ध सेवा केन्द्रमा राख्छु।’

उनीहरूको लालनपालनमा समस्या हुने गरे पनि मनकारीले भने अहिलेसम्म सहयोग गर्दै आएको उनले बताइन्। ‘आफ्नो जन्मदिन, आमाबुबाको श्राद्धतिथि तथा विभिन्न चाडपर्वमा केही मनकारीले खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्दै आएका छन्’, उनले भनिन्, ‘तिनैबाट अहिलेसम्म जेनतेन वृद्धाश्रम चलिरहेको छ र यहाँ बस्ने ७० जनाको लालनपालन गरिरहेका छौं।’

आफूले यही आश्रमबाट अहिलेसम्म ५ हजारभन्दा बढी ज्येष्ठ नागरिकको उद्धार तथा पुनर्मिलन गरिसकेको बताइन्।

सुनसरी माया घरकी सुभद्रा प्याकुरेलले पनि १ सय ५४ जना सडक बेसहारा तथा अलपत्र परेका ज्येष्ठ नागरिकको भरणपोषण गर्दै आएकी छन्। ‘खाना, नाना र छाना नपाएर सडकमा बेसहारा जीवन बिताइरहेकाहरूलाई हामीले आश्रय दिँदै आएका छौं’, उनले भनिन्, ‘नेपालका मात्रै नभएर भारतको सिक्किम, दार्जिलिङका बेसहारा नागरिकको उद्धार गरेर पुनर्मिलन पनि गराएका सयौं उदाहरण हामीसँग छन्।’

भट्ट, चन्द र प्याकुरेलले विश्व नेपाली नारी साहित्य महोत्सवको मञ्चबाट एकै स्वरमा भने, ‘तीन तहको सरकार आए पनि बेसहारा सडक मानवलाई आश्रय दिने तथा उनीहरूको हेरचाह गर्ने न त कार्यक्रम नै छ, न त त्यस क्षेत्रमा निःस्वार्थ भई काम गरिरहेकालाई हेर्ने दृष्टिकोण नै सकारात्मक छ।’

आफूहरू व्यक्तिगत कामले कहींकतै जाँदा पनि माग्न आएको जस्तो व्यवहार आम नागरिकले गर्ने गरेको गुनासो तीनै जना सामाजिक अभियन्ताले दुखेसो पोखे।

प्रकाशित: १५ चैत्र २०७९ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App