काठमाडौं– म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन्। उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१ हजार ४ सय २५ रुपैयाँ रकम उनको अभियानका लागि प्रदान गरेका छन्।
सोमबार उनले राजधानीस्थित लाजिम्पाटमा भेटघाटकाबीच सहयोग रकम हस्तान्तरण गरे। गायक खरेल गत अगस्ट महिनामा क्यानडामा नेपलीज क्यानेडियन कम्युनिटी सर्भिसेजले आयोजना गरेको ‘हिमालयन मेला’ मा सहभागी हुन गएका थिए। ‘त्यही अवसरमा फ्यानहरुसँग सानो सांगीतिक जमघटको आयोजना गरेको थिए,’ उनले भने, ‘त्यही जमघटमा मैले महावीरको अभियानका लागि सहयोग गर्न अपिल गरे। र, सहयोग सङ्कलन भयो।’
महावीरले सहयोग रकम लिँदै अभियानमा कलाकारले पु¥याइरहेको सहयोगको प्रशंसा गरे। ‘कलाकारका धेरै प्रशंसक हुन्छन्। उहाँहरुमार्फत धेरै सहयोग जुट्न सक्छ। अझै धेरै सहयोग गर्नुहुनेछ भन्नेमा म आशावादी छुँ,’ उनले भने। गायक खरेलले उनको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।
‘यो शुरुवात मात्र हो,’ उनले भने, ‘सांगीतिक टुरका लागि विदेश जाँदा म अभियानका लागि सहयोग गर्न अपिल गरिरहनेछु।’
प्रकाशित: ४ आश्विन २०७३ १०:३९ मंगलबार