३ मंसिर २०८१ सोमबार
image/svg+xml
कला

नेपाली भरतनाट्यम जोडी

पाटनमा बिहीबार भरतनाट्यम् प्रस्तुत गर्दै कृतिका खनाल र स्मृति विष्ट

ललितपुरको यलमाया केन्द्रमा बिहीबार साँझ भरतनाट्यम प्रदर्शन सकेलगत्तै उनीहरु विश्राम गृहमा रोकिए । दक्षिण भारतीय पोशाकमा सजिएका उनीहरु ‘चेन्नई एक्सप्रेस’ फिल्मकी नायिका जस्तै सुन्दर देखिन्थे । सिद्धार्थ आर्ट फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सहभागी उनीहरुको सौन्दर्य नृत्यको थकानले झनै निखारेको थियो ।

‘आपका परिचय’ हातमा डायरी र गलामा क्यामरा भिरेर म नजिकिएँ । ‘म कृतिका खनाल, ऊ चाहिँ स्मृति विष्ट,’  भरतनाट्यमको झल्को आउने गरी आँखा हल्लाउँदै कृतिका मुस्कुराइन् । झुक्किएको भावलाई केही लुकाउँदै मैले पनि नेपालीले सिक्दै गरेको भरतनाट्यमको कथा सोधे ।

नृत्यको कुनै सीमाना हुन्न– कृतिका खनाल
भरतनाट्यमको थर्कनले मनै तरंगित हुन्छ– स्मृति विष्ट    
 

कुराकानी गर्दे जाँदा थाहा भयो उनीहरुको भेषभुषाले थुप्रै झुक्किएका रहेछन् । हिन्दी फिल्ममा देखिने कलाकारजस्ता देखिएका उनीहरुलाई सवैले परबाट हेर्दा भारतीय कलाकार ठान्दा रहेछन् । ‘यो पोशाक र नृत्यमा हामीलाई सबैले भारतीय नै ठान्दा रहेछन्,’ स्मृतिले सुनाइन्, ‘बोलेपछि मात्र नेपाली भन्ने चिन्छन् ।’

नेपालमा भरतनाट्यमको खासै प्रचार नभएका कारण मानिसहरु झुक्किने गरेको उनीहरुले सुनाए । हिन्दी फिल्म र समाचारमा देखिने परम्परागत पहिरनसहितको नृत्य नेपाली समाजमा घुलमिल नभइसकेको उनीहरुले बताए ।  

 

होटल व्यवस्थापनमा स्नातक कृतिले सन् २०१२ बाट  काठमाडांैस्थित भारतीय सांस्कृतिक केन्द्रमा पुगेर भरतनाट्यम सिक्न थालेको सुनाइन् । ‘सानैदेखि मलाई क्लासिकल नृत्यको रहर थियो,’ उनले भनिन्, ‘जव भरतनाट्यमको झलक देखँे तब आफूलाई थाम्न सकिनँ ।’ कथ्थक नाच सिक्न भनेर गएकी उनले भरतनाट्यमको एकै झलकले बाटो नै फेरिदिएको बताइन् ।

स्मृतिको पनि उस्तै भनाइ छ । सूचना प्रविधिमा स्नातक उनी पनि सानैदेखि नृत्यको सौखिन हुन् । यहि सोखले उनलाई पनि भारतीय सांस्कृतिक केन्द्रमा पुरायो र कृतिसँग भेट गरायो । ‘आज हामी जोडी भएर नाँच्यौं,’ स्मृतिले भनिन्, ‘निक्कै रमाइलो भयो ।’

भरतनाट्यमजस्तो उत्कृष्ट नृत्य सिक्न पाएकामा गौरवान्वित भएको उनीहरुले सुनाए । अन्य नाचको तुलनामा यो निक्कै कठिन रहेको उनीहरुको बुझाइ छ । शरीरको थर्कनसँगै आँखाको चालमा पनि ध्यान दिनुपर्ने उनीहरुले बताए । कठिन भए पनि यसले मनलाई आनन्दित दिने भएकाले निरन्तरता दिएको उनीहरुले सुनाए । ‘कति साथीहरु बीचैमा छाडेर पनि गएका छन्,’ कृतिकाले सुनाइन्, ‘तर म लगातार चार वर्षदेखि नाँच्दै छु ।’

कतिपयले भारतीय नाच भने पनि गीतसंगीत र नृत्यको कुनै सीमाना नरहने उनीहरुको बुझाइ छ । ‘सुरुमा आफ्नो खुसीको लागी नाँच्थँे,’ कृतिकाले भनिन्, ‘अब यो कला अरुमा पनि बाँड्ने सोच पलाएको छ ।’
नाचमा निक्कै रमाएकी कृतिकाले सुरुका दिनमा केही अप्ठेरो लागे पनि अहिले निक्कै रमाइलो लाग्न थालेको सुनाइन् । ‘अब त गीतसंगीत बजेलगत्तै शरीर आफै थर्कन थाल्छ,’ उनले भनिन्, ‘नाँच्दा निक्कै आनन्द महसुस हुन्छ ।’

दक्षिण भारतीय परम्परागत पहिरनमा सजिएका उनीहरुलाई तयार हुन भन् निक्कै समय लाग्ने सुनाए । ‘झन्डै ३ घन्टाको सजावटपछि हामी भरतनाट्यम नाच्न तयार हुन्छौं,’ स्मृतिले सुनाइन्, ‘जिन्स सर्टमा सजिने हामी एकछिन त आफैंलाई पनि चिन्दैनौं ।’

के हो भरतनाट्यम ?

यो शास्त्रीय नृत्य अन्तर्गतको प्रसिद्ध नृत्य हो । यसको सम्बन्ध दक्षिण भारतको तमिलनाडु राज्यसँग रहेको छ । यो नृत्यलाई  ब्रह्माले सिर्जना गरिएको मानिन्छ । यसलाई चार वेदपछि पाँचौं वेद अर्थात नृत्य वेद पनि भन्छन् । यसमा भाव, राग र तालको  गज्जबको संयोजन रहन्छ । हात, खुट्टा र अनुहारको चालसँगै शरीरलाई सन्तुलित राख्नुपर्छ ।

यो दर्शनशास्त्र, धर्म  र विज्ञानमा आधारित छ । यो सौन्दर्यको प्रतीक नृत्य पनि हो । यसमा समर्पणको भावना अधिक रहन्छ । विगतमा यो मन्दिरमा सीमित थियो । विस्तारै यो सिनेमा, नाटक हुदै विभिन्न सभाहरुमा समेत प्रदर्शन हुन थालेको छ ।

महिलाहरु विभिन्न देवीको आकृति अनुसार आफ्नो मुद्रा बनाउँछन् । प्राय घुँडा मोरेर नृत्य गर्छन् । जति निहुरेर नाँच्न सक्यो उनी राम्रो मानिन्छ ।

प्रकाशित: २५ भाद्र २०७३ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App