८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

मायावी सान्निध्य

पुस महिनाको न्यानो घाम। झ्यालबाट कोठामा अलिकति चियाउँदा पनि अद्भुत आनन्द। हुन त अचेलको घाम यति कन्जुस भइदिन्छ कि दुई घण्टा बस्न पनि मान्दैन, तर पनि यति नै सही। यसले दिने ऊर्जा निकै शक्तिशाली महसुस हुन्छ। जसले तिखो र कठ्याङ्ग्रिँदो जाडोलाई पनि परास्त गरिदिन्छ। जाडो घाम यसै पनि प्यारो हुन्छ नै, त्यसमाथि पुसे घाम मन नपराउने त झनै को होला र ? त्यसैले त मैले पनि अफिसबाट दुई दिनको छुट्टी नै लिएको थिएँ, आनन्दले घामकै मजा ताप्नका लागि।

आफैले यति तारिफ गरेको घाममा बस्न पाएपछि मन खुस हुनुपर्ने हो तर कता कता के के नपुगेजस्तो, खल्लो खल्लो लागेजस्तो महसुस भइराखेको थियो। वास्तवमा यहाँ केहीको रिक्तता थियो भने त्यो मायालुको थियो। आखिरमा सुख होस् या दुःख, जे हुँदा पनि यो मनले खोज्ने त आफ्नै माया न हो। त्यसैले घामको रापमा लुटुपुटु हुँदाको खुसीले पनि मायालुकै अभाव देख्यो। यदि यतिबेला वर्षा मसँगै भइदिएको भए ? यो घाममा एउटाले छोडाउने र दुवैले बाँडेर सुन्तला खान पाएको भए ? कल्पना निकै परसम्म फिँजारियो छालजस्तै।

मलाई वर्षा एकदमै मन पर्थी। ऊ खुसी हुँदा म जति खुसी हुन्थें, म खुसी हुँदा ऊ अझै बढी खुसी हुन्थी। त्यसैले त भित्री मनबाटै सधैं उसको प्रगतिको कामना गरिरहन्थें। उसको उन्नति आफ्नैजस्तो लाग्थ्यो।

सम्झनाले मलाई बिस्तारै अतीततर्फ धकेल्यो। वर्षासँग मित्रता भएको करिब तीन वर्ष भएको थियो। अन्नपूर्ण बेस क्याम्प ट्रेकमा भएको थियो हाम्रो पहिलो भेट। त्यतिबेला ऊ एक्लै आएकी थिई। गोरी, राम्री अनि तिखो नाक। चालढाल सबै पृथक। बाटो, नदीनाला, पहाड, खोल्सा सबै अटाउँदै हिँडेकी थिई गलामा झुन्डिएको क्यामेरामा। बाटामा भेटिने केटाकेटी अनि बुढाबुढीको तस्बिर मात्र लिन्नथी, चकलेट पनि बाँड्दै हिँड्थी। छिनछिनमा आफ्नो झोलाबाट काजु, बदाम, चकलेट, बिस्कुट पनि झिक्थी र बाँड्थी प्रेमपूर्वक। उसको यो व्यवहारले मलाई रमाइलो लगाइरहेको थियो साथै कौतुहल पनि। उसको हाउभाउ अनि उदार व्यवहार देख्दा लागेको थियो– यो केटी पक्कै विदेशी हो।  

पुनहिलको बसाइमा म ऊसँग नजिकिन खोजें र कुरालाई माध्यम बनाएँ। ऊ भने आफैमा निकै व्यस्त थिई। मेरो धेरै प्रयासपछि ऊ मतर्फ फर्केकी देखेर भनें– हाइ ! दिस इज राम, आइ थिङ्क यु लभ ट्रेक।

मैले त्यति के भनेकी थिएँ, ऊ त खित्का छोडेर हाँस्न थाली। ‘परिचय पनि किन अङ्ग्रेजीमा ? वरिपरि यति राम्रा हिमाल, पहाड अनि झरनाले हामीलाई लोभ्याइरहेका छन्। यसैले त हामीलाई नेपाली हुनुमा गर्व छ। फेरि तपाईंचाहिँ अङ्ग्रेजीमा,’ ऊ फेरि हाँस्न थाली।

मलाई भने लाज लागेर आयो। मुख रातो भयो। आफ्नै देशवासी चिन्न नसकेकामा आफैलाई ग्लानिबोध भयो। लाग्यो– मानिसबाट गल्ती हुन्छ। त्यसलाई दोहो¥याउन पो हुन्न। अनि लाज लुकाउँदै दृढ भएर फेरि भनें– मेरो नाम राम। तपाईंको परिचय ?

म वर्षा।  

आफ्नो नाम बताएर ऊ चुपचाप अगाडि बढी। मलाई भने झन् कौतुहल जाग्यो। झट्ट हेर्दा मभन्दा केही जेठी। त्यसमाथि ट्रेक गर्ने कल्चर अत्यन्तै कम भएको नेपाली समुदायकी महिला। त्यो भन्दा पनि रोचक त हिमाल–पहाडजस्तो जोखिमयुक्त स्थान घुम्न पनि एक्लै आएकी। मेरो मनले एक कदम अगाडि बढेर अनुमान लगायो– यिनी पक्कै विदेशमा बस्छिन्। नेपाल आएका बेला मेसो मिलाएर घुम्न निस्केकी हुन्।

मनमा एकपछि अर्को गर्दै लगातार आइरहेका जिज्ञासाले उनीबाट टाढै रहेर यात्रा गर्न फिटिक्कै दिएनन्। अलि लम्कें। अनि उनी नजिकै पुगेपछि पहिलेजस्तो गल्ती नहोस् भनेर सतर्क हुँदै सोधें– वर्षाजी तपाईं कुन देशमा बस्नुहुन्छ ? कहिले आउनुभएको नेपाल ?

‘के प्रश्न गर्नुभएको रामजी ? म काठमाडौंबाट आएको। मलाई यसो फुर्सद भयो कि आफ्नै देशका पाखापखेरामा भुल्न मन लाग्छ। म प्रायः यसरी नै घुम्न निस्किरहन्छु। तपाईं पनि त डाँडापाखाप्रेमी भएकै कारण आउनुभएको त हो नि, होइन र रामजी ?’

‘मलाई पनि मन पर्छ यस्तै प्रकृतिमा रम्न तर पनि यो मेरो पहिलो घुमाइ हो। बरु म पनि तपाईंकै पुच्छर लाग्छु नि है वर्षाजी ?’

त्यसपछि हामी एकअर्कासँग गफिँदै हिँड्न थाल्यौं। वर्षा योभन्दा पहिले पनि घान्दु्रकबाट अन्नपूर्ण बेस क्याम्प गएकी रहिछन्। यसपालि नयाँ पुल र लामो बाटोका कारण दुई दिन बढी लाग्छ भन्दै थिइन्। उनी प्रायः सबै बेस क्याम्प पुगिसकेकी रहिछन्। त्यसैले त क्याम्प पुग्दाका रमाइला क्षणहरू मलाई सुनाइरहेकी थिइन्, एकपछि अर्को गरेर। कतै कतै त बच्चाहरूले विदेशी भनेर पछ्याउँदै अङ्ग्रेजीमा कुरा गर्न खोज्ने र वर्षाले नेपालीमा कुरा गरेको सुनेपछि ‘ओहो ! विदेशीले पनि कति राम्रोसँग नेपाली बोलेको’ भनेर प्रतिक्रिया दिएकाजस्ता अनुभव पनि बाँडिरहिन् बाटोभरि।

म पनि यसकारण खुसी थिएँ कि लामो बाटो पार गर्नु थियो तर ट्रेकिङबारे खासै जानकारी थिएन। लहडमै ब्याग भिरेर हिँडेको थिएँ। बाटो र स्थानीय गाउँठाउँबारे धेरै जानकारी पाएँ वर्षाबाट। उनको कुरा सुन्दा म मन्त्रमुग्ध हुन्थें। उनको कुरा गर्ने शैली पनि यति रोमाञ्चक थियो कि उनको बोली कहिल्यै नसिद्धियोस्, बाटोभरि सुनिराख्न पाऊँ जस्तो लाग्थ्यो।

एक हप्ता बितेको पत्तै भएन। पोखरासम्म सँगै थियौं। वर्षा पोखराबाट काठमाडौं उडिन्, बुद्ध एयरमा। मचाहिँ बसमा चढें काठमाडौंकै लागि, खर्च सकिएर। वर्षा त छुट्टिइहालिन्, मेरो मन भने उनीसित छुट्टिन मानेन। उनले बोलेका कुरा, गफ गर्ने शैली, अरूलाई गरेको व्यवहार, यात्राप्रतिको मोह अनि प्रकृतिलाई बुझ्ने आफ्नै तरिकाजस्ता कुराबाट निकै प्रभावित भएकाले होला, उनलाई चाहेर पनि बिर्सन सकिनँ।

साँच्चै हो, मैले आजको दिनसम्म आमा, हजुरआमा र काकीबाहेक यति धेरै रमाएर र गम्भीर भएर कसैका कुरा सुनेकै थिइनँ। नढाँटी भन्ने हो भने सुन्न चाहेको पनि थिइनँ। तर वर्षाका कुराले भने मोहनी नै लगायो एकप्रकारले। हुँदाहुँदा त यस्तो लाग्न थाल्यो– वर्षालाई नै सुनिरहूँ। कसरी भेट्ने होला ? कहिले भेट्ने ? कहाँ भेट होला ? मनमा यिनै प्रश्न मात्र हाबी भए। आफूलाई भने उनको जानकारी यत्ति थियो– नाम वर्षा, बसाइ काठमाडौं। थाहा होस् पनि कसरी ? उनीसँग भेट भएपछिको यात्रा अवधि यति रमाइलो तरिकाले बितेछ कि हामीलाई एकअर्काको विस्तृत परिचय र सम्पर्क नम्बर सोध्ने समयसमेत जुरेन।  

समय बित्दै गइरहे पनि वर्षाको सम्झनाले मलाई छोडेन। अहँ, फिटिक्कै छाडेन। एकप्रकारले भन्दा वर्षासँग मेरो माया बसिसकेको थियो, तर एकतर्फी। यो माया भन्ने चिज पनि अचम्म हुने रहेछ। साथीभाइसँग रमाउने म, घरमा एकछिन पनि बस्न नसक्ने म, कहिले बियरको नसामा साथीभाइसँग घण्टौं झुल्ने त कहिले गाँजाको नसामा झुम्म भएर समाजवर्जित गतिविधिसमेत गर्ने म। यतिखेर भने सिङ्गै दिमागमा वर्षा मात्र बोकेर बसिरहेको छु। ठमेलका पुलिसको कठघरामा बसिनँ कि, हिरासतबाट उम्कन अब कहिल्यै पिएर अनि झुलेर नचाहिने काम गर्दिनँ भनेर कागजमा सही गरिनँ कि। के मात्र गरिनँ मैले। तर अहिले ? मात्र वर्षा, खालि वर्षा।

यति ठुलो सहर। भिडले नै किचेर मार्ला भन्ने डर। कहाँ भेटौं यस्तो कोलाहलमा उनलाई ? तर पनि मन न हो, कतै कुनाबाट बेलाबेलामा सान्त्वना दिन्थ्यो– राम ! चरेस त पचाइस्, तर हरेसचाहिँ नखा। कुनै दिन पक्कै वर्षासँग तेरो भेट हुनेछ। खासमा अब म बाँच्ने आधारसमेत यही मनको एउटा कुनाले दिने सहानुभूतिमा सीमित रहन पुग्यो। अनि वर्षासँग भेट हुने प्रतीक्षा नै मेरो बाँकी जीवन जिउने आधार बन्न पुग्यो। यही माया हो जसले मलाई विगतका कुकर्म र सङ्गतिहरूप्रतिसमेत घृणा जगाइदियो। अचेल त कतै ती पूर्व दोस्तहरूसँग भेट भयो कि विभिन्न बहाना बनाएर उम्किहाल्छु।

आज कार्तिक पूर्णिमाको दिन। सन्ध्या आरतीका साथ पशुपति दर्शन गर्न मन लाग्यो। साँझ पाँच बजे नै प्रस्थान गरें भोले बाबाको दरबारतर्फ। नियाल्दै थिएँ पशुपति मन्दिर परिसरमा भएको परिवर्तन। यही नियालाइबीच एक्कासि कसैसँग जुधेका आँखा चिम्म गर्नै मानेनन्। उताका आँखाको पारा पनि उस्तै। हामी दुवै अघि बढ्यौं र एकले अर्कालाई अँगाल्यौं। खुसी साटासाट गर्‍यौं निकैबेर। यसरी मेरो सामीप्यलाई खुसीमा परिणत गर्ने व्यक्ति अरू कोही नभएर उही थिई– वर्षा।

जो हरपल सम्झनामा आइरहन्थी, उसैसँग अकस्मात भेट भएको थियो। जसको यादमा विगतका सबै कुकर्म त्यागें, जसलाई जीवनको पथप्रदर्शक ठानें, आज उसैसँग नसोचिएको अवस्थामा, नसोचिएको ठाउँमा भेट भएको थियो। खुसीको सीमा नै थिएन। हामी एकअर्कालाई भेटेर यति खुसी भयौं कि के भनेर कुरा सुरु गर्ने भन्ने विचारसमेत उब्जेन। तर दुवैमा झल्केको खुसी भने अनुहारले प्रदर्शन गरिरहेको थियो। खासमा मैले मात्र होइन, उनले पनि मलाई मिस गरिरहेकी रहिछन्। यही भन्थ्यो उनले अङ्कमालका लागि बढाएका हातले।

हामी शान्त अनि खुसी भएर पशुपतिको आरती हेरिरहेका थियौं। पूर्णिमाको आरती विशेष हुने नै भयो। आरती भजनसँगै शङ्खको आवाजले स्वर्गका सबै द्वार खुलेको आभास दिलाइरहेको थियो। अनि सबै देवदेवीले पुष्प वृष्टि गरिरहेका र आफू पनि यस महान् उत्सवमा प्रत्यक्ष सहभागी हुन पाएको अनुभूति भइरहेको थियो। सायद वर्षालाई पनि यस्तै भएको थियो।

आरती सकियो। दुवैजना उठ्यौं। भोले बाबाको दरबार परिसरलाई अँध्यारोले कब्जा गरिसकेको थियो। मैले उनको हात समाएँ। उनले कुनै प्रतिक्रिया जनाइनन्। अचम्म त यो लागिरहेको थियो कि उनले मेरा सबै गतिविधिलाई सहजै स्विकारिरहेकी थिइन्। उनी मलाई माया गर्न थालिसकेकी थिइन्, सायद।

‘वर्षा, हामी कस्तो अचम्मका साथी भएछौं हगि। ५–७ दिन सँगै बस्दा हामीले एकअर्काको नाम मात्रै सोध्न भ्यायौं। घरको ठेगाना न सम्पर्क नम्बर, सबै अनजान साथी। तिमी उडिसकेपछि मेरो त मुटुले ठाउँ नै छोडेजस्तो भयो। त्यसपछिका सबै दिन तिम्रै भेटको प्रतीक्षामा बिताएँ। आज धन्न, भगवान् पशुपतिनाथको कृपाले इच्छा पूरा भयो।’

‘तिमी केमा आएको राम ?’

‘म हिँड्दै आएको। यहीं बानेश्वर त हो मेरो बस्ने ठाउँ। अनि तिमी ?’

‘म त महाराजगन्ज हो नि। आऊ, मेरै गाडीमा जाऊँ।’

जाने ठाउँ नजिकै भए पनि कुदाउन कहाँ सजिलो छ र काठमाडौंमा। ट्राफिक जाम भइहाल्यो। त्यही मौका पारेर सोधें, ‘वर्षा ! तिमीले मलाई कत्तिको मिस ग¥यौ ? मैले त तिमीलाई साह्रै नै सम्झें। तिमी राम्री त छ्यौ नै, तिमीले त्यो ट्रेकिङ अवधिमा सबैलाई गरेको व्यवहार, तिम्रो बोली, सोचाइ आदि सबै कुरा देखेर म तिमीप्रति वास्तवमै मोहित भएँ। त्यसैले तिमीलाई बिर्सनै सकिनँ। तिमीलाई भेट्ने प्रतीक्षा तिमी उडेदेखि नै सुरु भएको हो। मलाई थाहा छैन, मेरो यो तिमीप्रतिको एकोहोरो मायाको परिणाम के हुन्छ तर यो चाहिँ थाहा छ कि म तिमीलाई धेरै नै माया गर्छु र मन पनि पराउँछु।

अगाडि बाटोमा हेरेर गाडी चलाइरहेकी वर्षाले त्यसपछि अनुहार मपट्टि तेर्साइन् र भनिन्, ‘त्यसो नभन राम। हामी गहिरो मित्रतामा बाँधिन सक्छौं। तिमी भर्खरका छौ। तिम्राअगाडि लामो जीवन बाँकी छ। म त विवाहबन्धनमा बाँधिइसकेकी महिला। मेरी छ वर्ष पुगेकी छोरीसमेत छिन्। मेरो श्रीमान् सिकागोको एउटा कम्पनीमा सेक्युरिटी इन्चार्ज हुनुहुन्छ। सासू एक्लै भएकाले मात्र म यहाँ बसेकी हुँ।’

म एकतमासले सुनिरहें। वर्षा थप्दै गइन्, ‘कहिलेकाहीं केही कुरा गर्न मन लाग्छ। जीवनमा नबुझेका कुरा सोध्न मन लाग्छ। त्यसकारण राम, हामी एकअर्कासँग मित्रता गाँसौं। एउटा सच्चा साथीका रूपमा एकअर्कालाई साथ दिऔं। एउटा मित्रताको मूल्य र मान्यता कस्तो हुँदोरहेछ भन्ने कुरा अन्नपूर्ण बेस क्याम्प जाँदा मैले तिमीबाट सिकें। जब म तिमीलाई छाडेर काठमाडौंका लागि प्लेनमा बसें अनि सबै कुरा पोखरामै छाडेर उडेजस्तो भान भयो। हुन पनि जीवनमा एउटा सच्चा मित्रको धेरै ठूलो भूमिका हुँदोरहेछ।

उनी निरन्तर बोलिरहिन्, ‘राम, मेरो माइतीघर वीरगन्जमा मात्र होइन, कर्म घर काठमाडौंमा पनि मेरो त्यस्तो कुनै साथी छैन। त्यसैले फुर्सद हुँदा म आफैंमा रमाउन ट्रेकिङ जाने गरेको हुँ, जसले गर्दा मन शान्त हुन्छ अनि फर्किंदा एउटा नयाँ ऊर्जा पनि आफूसँगै आउँछ। मलाई आर्थिक समस्या पनि छैन। म मात्र समय बिताउनका लागि एउटा पब्लिक स्पिकिङ इन्स्टिच्युटमा आबद्ध भएकी छु, तर पनि जीवन भने चाहेजस्तो, खोजेजस्तो बनाउन सकेकी छैन जस्तो लाग्छ कहिलेकाहीं। हुन त जीवन भन्नु नै सम्झौता हो। सबै कुरा सबैलाई कहाँ पुग्छ र ? त्यसैले मैले जीवनका गल्तीलाई त्यति धेरै गम्भीर रूपमा पनि लिन्नँ। अनि राम तिम्राबारेमा पनि केही ?’

‘वर्षा मचाहिँ एक्लो छु। पहाडमा हुर्केको। स्कुले शिक्षापछि काठमाडौं आएर पढ्दै काम गर्दै गरेँ। सधैं अभावको जिन्दगी बाँचें। बेलाबेलामा नसेडी र गँजेडी पनि भएँ। अहिले भने सबै छाडेको छु। एउटा होटलमा रिसेप्सनमा काम गरिरहेको छु। अलि राम्रो कामको खोजीमा छु। फुर्सदको समयमा समाजमा भएगरेका कुरा लेख्ने पनि गर्छु। यतिबेला भने म एकदमै खुसी छु किनकि म मेरो हराएको साथीसँग कुरा गरिरहेको छु। अरू त केही होइन वर्षा, तिम्रो र मेरो मित्रता अजम्बरी होस् भन्ने चाहना छ। ल त मलाई यहीं ओरालिदेऊ। अब त बेलाबेलामा फोन पनि पाऊँ। म पनि तिमीलाई सम्पर्क गर्छु, है त।’

समय बित्दै गयो। हामी दुवै बेलाबेलामा भेट्थ्यौं। मेरो आर्थिक अवस्था अलि कमजोर थियो। त्यसैले वर्षाले परेका बेला आर्थिक सहयोग पनि गर्थिन्। यसरी हाम्रो मित्रता राम्रैसँग चलिरहेको थियो।

एक्कासि महामारी सुरु भयो। सबैतिर बन्द। मैले काम गरिरहेको बुटिक होटल पनि बन्द भयो। मलाई खानबस्न नै समस्या हुन थाल्यो। केही गर्न पनि खर्च भएन मसँग तर वर्षाले बोल्नै नपाई मेरा सबै समस्या टारिदिन्थी। अनि मलाई सम्हाल्दै भन्थी, ‘केही समयको हो यो दुःख। हरेस नखाऊ। एकदिन महामारी सिद्धिन्छ। यो दुःख हामीलाई मात्रै होइन, संसारलाई नै परेको छ। केही न केही उपाय निकाल्लान् विकसित देशहरूले, नआत्तिय। बरु मेरी सासू बिरामी होइसिन्छ। केही सहयोग आवश्यक प¥यो भने तिमीलाई भन्छु है।’  

वर्षाकी सासू एकदमै बिरामी हुनुभयो। श्रीमान् पनि विदेशमा। साथमा एक कक्षामा पढ्दै गरेकी सानी छोरी मात्र। उसलाई भ्याइनभ्याइ थियो। त्यसैले उसलाई दुःख नहोस् भनेर म रातदिन सकेको सघाउँथें। वर्षालाई पनि चिसोले समातेको थियो। तैपनि उनले आफ्नो कर्तव्य पूरा गर्न छाडेकी थिइनन्। सबै कुरा सकेसम्म आफै गर्थिन्।

डक्टरले बिरामीको हालत ठीक छैन भन्ने सङ्केत दिए। त्यसपछि वर्षा साह्रै रोइन् र भनिन्, ‘राम, मेरी आमालाई बचाऊ। उहाँलाई केही भयो भने म अनाथ हुन्छु। म सासू–आमाबिना बाँच्नै सक्दिनँ। अनि मेरी छोरीसमेत टुहुरी हुन्छे। मलाई केही भयो भने मेरी छोरीलाई हेरविचार गर र सन्जोगको जिम्मा लगाइदेऊ। मेरी सासू आमालाई केही नहोस् भनी प्रार्थना गर राम, प्लिज राम, प्लिज !’  

वर्षाको रोदन एक्कासि सुनिएको सिस्टरको आवाजले रोकियो– आइसियु १३ नं. बेडको बिरामीको आफन्तको हुनुहुन्छ ? बिरामीको अवस्था एकदम क्रिटिकल छ। यो जरुरी औषधि ल्याइहाल्नूस् त।  

वर्षाले आफू आमासँग बस्ने भन्दै मलाई औषधि ल्याउने कागज थमाइन्।

विडम्बना, जति दौडधुप गरे पनि आमा बाँच्नुभएन। आमाको अन्तिम कार्य मैले नै सबै गरें। उता वर्षाको अवस्था पनि ठीक थिएन। उनलाई पनि अस्पताल भर्ना गर्नुपर्‍यो। घटनाको दुई दिनपछि पाँच बजेतिर सन्जोग आइपुग्ने जानकारी प्राप्त भयो। उनी आउने भएपछि म भारी मन लिएर घर फर्किएँ।  

दुई हप्तापछि पत्रिका पढ्ने क्रममा वर्षाको फोटो पनि छापिएको देखें। जसको माथि लेखिएको थियो– हार्दिक श्रद्धाञ्जली !

प्रकाशित: २३ पुस २०७९ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App