१७ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक

कांग्रेस ५ एमाले ४ स्थानमा विजयी

मोरङमा अन्तिम मतपरिणाम सार्वजनिक भएका ९ स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा एमालेका उमेदवार निर्वाचित भएका छन्। मोरङको कटहरी, जहदा, धनपालथान, बुढीगंगा र मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्।

मोरङको कटहरीको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी निर्वाचित भएका छन्। उनले ६ हजार ५ सय ६५ मत ल्याएर विजयी भएका हुन् उनका निकटतम प्रतिस्पर्धी सुभाषकुमार गच्छदारले ५ हजार ६ सय ८२ मत ल्याए। कटहरीको उपाध्यक्षमा नेकपा एमालेकी सितादेवी राजवंशी निर्वाचित भइन्।

उनले ५ हजार ८ सय ४८ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मञ्जीताकुमारी सरदारले ५ हजार ७ सय ५ मत ल्याइन्। मोरङको कटहरीमा कांग्रेसले १, जनता समाजवादीले १ वटा वडाको अध्यक्षमा निर्वाचित भए भने नेकपा एमालेका उमेदवार ५ वटा वडाको अध्यक्षमा निर्वाचित भए।

यस्तै मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रप्रसाद साहले ६ हजार ५ सय १ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जसपाका कैलाशप्रसाद मण्डलले ४ हजार ४८ मत ल्याए। उपप्रमुखमा नेपाली कांग्रेसकी हन्ना सोरेनले ५ हजार ५ सय ५५ मत ल्याएर निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी दुलालीकुमारी महतोले ३ हजार ५ सय १२ मत ल्याइन्।

वडातर्फ नेपाली कांग्रेसले ४ वटा, जसपाले २ एमाले १ र एमाओवादी केन्द्र १ वटा वडामा विजयी भयो। मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसका वविकुमार राई विजयी भए। उनले ८ हजार २ सय ५३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ४ हजार ९ सय १६ मत ल्याए। मिक्लाजुङको उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल ५ हजार ६ सय २६ मत ल्याएर निर्वाचित भए।

उनका प्रतिस्पर्धी एमालेकी निर्मला राईले ५ हजार ४ सय ५५ मत ल्याइन्। मिक्लाजुङमा नेपाली कांग्रेसले ४ वटा वडा, नेकपा एमालेले २ वटा र मोओवादी केन्द्रले १ वटा वडामा जित हाँसिल गरेको छ। मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उमेदवार जितनारायण थापा मगर विजयी भएका छन्।

उनले ८ हजार २ सय ९९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलभद्र सरदार थारुले ७ हजार ८ सय ८० मत ल्याए। यस्तै उपमेयरमा नेपाली कांग्रेसकै अमृताकुमारी गच्छदार विजयी भइन्। उनले ९ हजार ५० मत ल्याइन् भने उनकी प्रतिस्पर्धी नेकपा एमालेकी तुलसीकुमारी कुंवरले ६ हजार २ सय २३ मत ल्याइन्। बुढीगंगाको वडाहरूमा नेपाली कांग्रेसले ५ वटा वडाको अध्यक्षमा विजय हाँसिल गर्न सफल भयो। यस्तै १ वटामा एमाले र १ वटामा माओवादी केन्द्रले विजय हाँसिल गर्‍यो।

त्यस्तै मोरङको लेटाङ नगरपालिकाको मेयरमा नेकपा एमालेका भुपेन्द्रकुमार लावतीले १० हजार २ सय २७ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १ सय ५ मत ल्याए। उपमेयरमा नेकपा एमालेकी कृष्णकुमारी पोखरेलले ९ हजार ४ सय ६० मत ल्याएर निर्वाचित भइन्। उनी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४ हजार ९ सय ५ मत ल्याए।

लेटाङका ६ वडा वडामा एमाले र ३ वटा वडामा कांग्रेसका अध्यक्षका उमेदवारले जित हाँसिल गरेका छन्। यस्तै मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी राजमती इङ्गनामले ८ हजार ९ सय ७५ मत ल्याएर निर्वाचित भइन्। उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सञ्जय भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याए।

उपाध्यक्षमा नेकपा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार  ५ सय ५० मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मनकुमारी गुरूङले ७ हजार ८ सय १८ मत ल्याइन्। यसैगरी कानेपोखरीका ५ वटा वडाको अध्यक्षमा एमाले र २ वटामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ।

केरावारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङचिङ मगरले जित हाँसिल गरे। उनले ७ हजार ८ सय १० मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रोहितबहादुर कार्कीले ६ हजार ३ सय ९० मत ल्याए। उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगरले ७ हजार २ सय ६७ मत ल्याएर विजयी भइन्।

उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभद्रा राईले ६ हजार ४ सय २८ मत ल्याइन्। केरावारीमा नेपाली कांग्रेसले ३ वटा र एमालेले ७ वटा वडाको अध्यक्ष जित्न सफल भयो। मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६ सय ३९ मत प्राप्त गदै निर्वाचित भए।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेकै मिरा देवी दास केवरतले ८ हजार ३ सय ३ मत ल्याउँदै निर्वाचित भइन्। कांग्रेसकी विमला देवी केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर दुवैमा जित हाँसिल गरेको थियो। सुनवर्षीका वडाहरूमा कांग्रेस र एमालेले बराबर स्थान जितेका छन् कांग्रेसले ४ वटा वडामा जित हाँसिल गरेको छ भने एमालेले पनि त्यति नै वटा वडामा जित हाँसिल गरेको छ।

यस्तै नेकपा माओवादी कैन्द्रले १ स्थानमा जित हाँसिल गरेको छ। मोरङको मतगणना भइरहेका ८ वटा पालिका मध्ये ४ वटामा नेकपा एमाले ४ वटामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ। नेकपा एमालेले रंगेली नगरपालिका, उर्लावारी नगरपालिका, पथरी शन्श्चिरे नगरपालिका र वेलवारी नगरपालिकामा अग्रता कायम गरिरहेको छ।

यस्तै नेपाली कांग्रेसले रतुवामाई नगरपालिका, सुन्दरहरैंचा, ग्रामथान, र विराटनगर महानगरपालिकामा अग्रता कायम गरिरहेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा मोरङका ९ वटा स्थानीय तहमा कांग्रेस विजयी भएको थियो। नेकपा एमालेले ५, माओवादी केन्द्रले १, तत्कालीन संघीय समाजवादी हाल जनता समाजवादीले १ र मधेसी जनअधिकार फोरम लोकतान्त्रीकले १ स्थानमा जित हाँसिल गरेको थियो।

एमालेले मोरङका स्थानीय तहमा सिट संख्या बढाउने देखिएको छ। अन्य दलले मोरङको कुनै पनि स्थानीय तहमा जित हाँसिल गर्ने अवस्था देखिएको छैन। मोरङका मतगणना भइरहेका सबै स्थानीय तहमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ १०:३९ बिहीबार

मोरङ मिक्लाजुङ गाउँपालिका मोरङको कटहरी