२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

फुटबलको दुवै स्वर्ण एपिएफलाई

त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध बनाउँदै बिहीबार एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो। थप समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो।

टाइब्रेकर ४-४ को बराबरीमा पुग्दा सडन डेथमा आर्मीलाई हराउँदै एपिएफले स्वर्ण पदक जित्यो। एपिएफले सडन डेथमा ६–५ अन्तरले जित हासिल गरेको हो। एपिएफको जितमा गोलरक्षक राजु नगरकोटी नायक बने। उनले २ पेनाल्टी प्रहारको रक्षा गरेका थिए।

एपिएफका लागि नवीन लामा, आवास लामिछाने, सुदिल सिख्राकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे। सनिस श्रेष्ठको प्रहार बाहिरिएको थियो। उता आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपिएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे।

दुबै टोलीका एकएक खेलाडीले दोस्रो हाफमा रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए। एपिएफका प्रदीप लामा र आर्मीका पदम तामाङबीच विवाद हुँदा रेफ्री नवीन्द्र महर्जनले दुवैलाई रातो कार्ड दर्शन गराउँदै मैदान पठाएका थिए। उता कांस्य पदकका लागि बिहीबार नै भएको प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशलाई १-० गोल अन्तरले हराउँदै गण्डकी प्रदेशले कांस्य पदक जित्यो। गण्डकीको जितमा कमल थापाले गरेको गोल निर्णायक भएको थियो।

यस्तै महिला फुटबलमा पनि एपिएफ क्लबले स्वर्ण जितेको छ। स्याङ्जाको वालिङमा बिहीबार भएको फाइनल प्रतिस्पर्धामा एपिएफले नेपाल पुलिस क्लबलाई २-१ ले स्तब्ध बनाउँदै स्वर्ण पदक जितेको हो। एपिएफले जितमा दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन् भने पुलिसका लागि निरु थापाले एक गोल फर्काएकी थिइन्। आर्मीले कांस्य पदक जितेको छ ।

प्रकाशित: ४ कार्तिक २०७९ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App