१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन्। इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन्।  

प्रदेश १ बाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि टेवलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रुपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुरा छनौट भएको प्रशिक्षक गीता मगरले जानकारी दिइन्। यस्तै टेवलटेनिस पुरुषतर्फ अनमोल विक, सिद्धार्थ तामाङ, वोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौँ राष्ट्रियका लागि छनौट भएका छन्।  

दौडमा भोजपुर र धनकुटालाई स्वर्ण  

पाँच किलोमिटर दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले स्वर्ण पदक जितेकी छिन्। यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ भने धनकुटाका गोकुल याकिलाले स्वर्ण पदक प्राप्त गरेका छन्।  

पाँच किलोमिटर दौड महिलातर्फ सङ्खुवासभाकी निला जिमीले रजत तथा ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक पदक प्राप्त गरेकी छिन्। यस्तै पाँच किलोमिटर दौड पुरुषतर्फ सुनसरीका प्रशान्त तामाङले रजत तथा पाँचथरका ओसन राईले कास्य पदक प्राप्त गरेका छन्। नवौँ राष्ट्रिय खेलकुदको छनोट प्रतियोगिताका लागि सुनसरीको इटहरीमा भइरहेको एथलेटिक्सतर्फ आज फाइनल खेल हुँदै छ।    

भारोत्तोलनमा मोरङको वर्चस्व  

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ मा छनौट प्रतियोगिता भइरहेको छ। बिहीबारदेखि मोरङको विराटनगरमा सुरु भएको भरोत्तोलनमा मोरङका ६ खेलाडीले स्वर्ण पदक जितेका छन्। 

प्रतियोगितामा ५९ किलो तौल समूहमा महिलातर्फ झापाकी सोनीदेवी दासले स्वर्ण जितेकी छिन् भने खोटाङकी बिजुली थापाले रजत प्राप्त गरेकी छिन्। यस्तै ६२ किलोतर्फ इलामकी सुस्मा राईले स्वर्ण र उदयपुरकी सन्ध्या राईले रजत प्राप्त गरेकी छिन्। यस्तै ८१ किलो तौल समूहमा मोरङकी सृष्टि भलले स्वर्ण जितेकी छिन्। यता पुरुषतर्फ झापाका अमिलाल राजवंशीले स्वर्ण पदक जितेका छन् भने मोरङकै अर्जुन राजवंशीले ९६ किलो तौल समूहमा स्वर्ण जितेका छन्। विजयी खेलाडीलाई प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्लेले पदक तथा प्रमाणपत्र प्रदान गरेका छन्। 

प्रकाशित: १ आश्विन २०७९ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App