१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ठूलो योगफल भेट्टाउने विश्वास थियो’

तस्बिर : दासुन सानाका

 कुशल मेन्डिसको उत्कृष्ट सुरुआत र भानुका राजपक्षको आक्रामक ब्याटिङमा श्रीलंकाले एसिया कपको सुपर चारमा शनिबार अफगानिस्तामाथि चार विकेटको रोमाञ्चक जित निकालेको छ।

श्रीलंकाले उत्कृष्ट सुरुआत र फिनिसिङ पाएपछि एक सय ७६ रनको लक्ष्य सारजाहमा पाँच बल अगावै पूरा गरेको थियो। पथुन निसन्का (३५ रन) र मेन्डिस (३६) ले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुआत गराए। एक समय कठिन अवस्था पुगेको श्रीलंकाका लागि भानुका राजपक्षले पनि आक्रामक ब्याटिङ गरे। अफगानिस्तानका बलरले श्रीलंकाको मध्यक्रमलाई दबाबमा राख्ने क्रममा निरन्तर विकेट लिइरहेका थिए।  

तर, राजपक्षले १४ बलमा ३१ रन र वानिदु हसरंगाले अविजित १६ रन जोडेपछि श्रीलंकाले संयुक्त अरब इमिरेट्(युएई) मा अहिलेसम्मकै ठूलो योगफल भेट्टायो। ‘टोलीमा जितको विश्वास थियो। हामी यो विकेटमा ठूलो योगफल भेट्टाउन सक्छांै भन्नेमा विश्वस्त थियौं,’श्रीलंकाका कप्तान दासुन सानाकाले भने, ‘राम्रो विकेट हुँदा सहजै रन पछ्याउन सकिन्छ।

हामीले यो खेलका लागि लिएको रणनीति पनि सफल भयो र हामीसँग राम्रा ब्याटर पनि थिए।’ यस अघि रहमानउल्लाह गुर्बाजले ८४ रन प्रहार गरेपछि अफगानिस्तानले ६ विकेटको क्षतिमा एक सय ७५ रनको योगफल तयार पारेको थियो।  

अन्तिम ओभरतिर श्रीलंकाका बलरले सफलता हात नपारेको खण्डमा जुन योगफल अझ बढ्न सक्थ्यो। टस जितेर ब्याटिङ गर्न आएको अफगानिस्तानका गुर्बाजले दोस्रो विकेटका लागि इब्राहिम जादरानसँग ९३ रनको साझेदारी गरेका थिए। समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको अफगानिस्तानले अन्तिम पाँच ओभरमा मात्र ३७ रन जोड्न सक्यो।

‘हामीले २०/२५ रन कम जोड्यौं,’अफगानिस्तानका कप्तान मोहम्मद नाबीले भने, ‘साथै हाम्रो बलिङ र ब्याटिङ तथा फिल्डिङ पनि कमजोर रह्यौ। आज पिच राम्रो थियो। जसमा हामीले अझ बढी रन बनाउन सक्थ्यौं।’

श्रीलंकाका दिलसान मदुसन्काले दुई तथा आसिथा फर्नान्डो र स्पिनर महिस थिकसानाले समान एक विकेट लिए। जबाफी ब्याटिङमा श्रीलंकाका ओपनर निसंका र मेन्डिसले पावर प्लेनमा गतिलो सुरुआत गरे।

समूह चरणमा बेहोरेको हारको बदला श्रीलंकाले सुपर फोरमा लिएको हो। समूह चरणमा श्रीलंका अफगानिस्तानसँग आठ विकेटले स्तब्ध भएको थियो। तर, समूहको अन्तिम खेलमा बंगलादेशमाथि रोमाञ्चक जितसहित श्रीलंका सुपर फोरमा प्रवेश गरेको थियो। सुपर फोरको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलको यात्रा तय गर्नेछन्। 

प्रकाशित: २० भाद्र २०७९ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App