२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

श्रीलंकाद्वारा शृंखला बराबरी

पाकिस्तानविरुद्ध बलिङ गर्दै श्रीलंकाका प्रभात जयसूर्या।

स्पिनर प्रभात जयसूर्याले पुनः आफ्नो स्पिन जादु देखाएको दिन बिहीबार श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २ सय ४६ रनले जित्दै दुई टेस्टको शृंखला १-१ को बराबरीमा टुंग्याएको छ।

जयसूर्याले ५ विकेट लिएपछि श्रीलंकासामु भ्रमणकारी टोली पाकिस्तान २ सय ६१ रनमा अलआउट भयो। ३९ वर्षीय जयसूर्याले अस्ट्रेलियाविरुद्ध गत महिना सम्पन्न दुई टेस्ट शृंखलाअन्तर्गतको दोस्रो टेस्टसँगै श्रीलंकन टेस्ट टोलीबाट डेब्यु गरेका थिए।

गालेमा आफ्नो टेस्ट डेब्यु सुखद पार्ने क्रममा जयसूर्याले दुवै इनिङमा समान ६ विकेट गरी कुल १२ विकेट लिएका थिए। जुन खेल श्रीलंकाले एक इनिङ र ३९ रनले जित्दै शृंखला १-१ को बराबरीमा टुङ्ग्याएको थियो।

पाकिस्तानविरुद्धको पहिलो टेस्टमा पनि उनले एक इनिङमा पाँच विकेट लिएका थिए। तीन टेस्टमा उनले पाँच विकेट लिएको यो चौथो पटक हो। उनले टेस्टमा आफ्नो विकेटसंख्या २९ पुर्‍याएका छन्। पहिलो टेस्ट ४ विकेटले जित्दै पाकिस्तानले शृंखलामा १-० को अग्रता लिएको थियो।

‘कप्तानको ममाथि विश्वास थियो, जुन मैले प्रमाणित गरें,’ जयसूर्याले कप्तान दिमुथ करुणारत्नेलाई आभार व्यक्त गर्दै भने। करुणारत्नेले आफूले नेसनल सुपर लिगमा जयसूर्याको खेल देखेको र त्यसबाट प्रभावित भएको बताए। ‘मैले उनमा क्षमता देखें,’ करुणारत्नेले भने, ‘टोलीमा कोभिड १९ संक्रमणका कारण खेलाडीको आवश्यकता थियो। मैले उनलाई टोलीमा बोलाउनेबारे प्रशिक्षकसँग सल्लाह गरें। त्यसैले अस्ट्रेलियाविरुद्धको टेस्टमा टोलीमा राख्यौं।’

जयसूर्या अहिले श्रीलंकन टोलीको संकटमोचक भएका छन्। पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता खेल्न संघर्षरत जयसूर्या अहिले श्रीलंकन टोलीका मुख्य सदस्य भइसकेका छन्। जसको स्पिन जादुबाट बाँच्न विपक्षी ब्याटरलाई निकै मुस्किल हुने गरेको छ।

‘मेरा लागि श्रीलंकाको राष्ट्रिय टोलीसम्मको यात्रा निकै कठिन रह्यो,’ जयसूर्या सम्झन्छन्, ‘सबै कुरा मैले आफैंले व्यवस्था गर्नुपरेको थियो। अहिले मैले गतिलो साथ पाएको छु। मिहिनेतको फल मिलेको छ।’

जयसूर्या अहिले श्रीलंकन टोलीको संकटमोचक भएका छन्। पहिलो श्रेणीको क्रिकेट प्रतियोगिता खेल्न संघर्षरत जयसूर्या अहिले श्रीलंकन टोलीका मुख्य सदस्य भइसकेका छन्। जसको स्पिन जादुबाट बाँच्न विपक्षी ब्याटरलाई निकै मुस्किल हुने गरेको छ। 

यो दुई टेस्ट शृंखलामा मात्र जयसूर्याले पाकिस्तानका कप्तान बाबर आजमलाई चार इनिङमध्ये तीनमा पवेलियनको बाटो देखाएका थिए। यस खेलमा पनि उनले ८१ रनमा खेलिरहेका बाबरलाई एबिडब्लुको सिकार बनाएका थिए। श्रीलंकाले पहिलो इनिङमा ३ सय ७८ रन जोडेको थियो। पाकिस्तानको पहिलो इनिङ भने मात्र २ सय ३१ रनमा सीमित भएको थियो।

पहिलो इनिङमा पाकिस्तान १ सय ४७ र नले पछि परेको थियो। श्रीलंकाले धनञ्जय डी सिल्भाको शतकमा ३६०-८ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेसँगै पाकिस्तानले जितका लागि ५ सय ८ रनको विशाल लक्ष्य पाएको थियो। तर पाकिस्तान दोस्रो इनिङमा २ सय ६१ रनमा सीमित भयो। यस क्रममा श्रीलंकाका जयसूर्याले पाँच र रमेश मेन्डिसले ४ विकेट लिएका थिए। 

प्रकाशित: १३ श्रावण २०७९ ०२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App