६ वैशाख २०८१ बिहीबार
खेल

पाकिस्तानी कप्तानद्वारा कोहलीको प्रशंसा

भारतीय टोलीका पूर्वकप्तान विराट कोहली विश्वकै उत्कृष्ट ब्याट्सम्यान रहेको पाकिस्तानका कप्तान बाबर आजमले बताएका छन्।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेका कोहलीलाई अहिलेको अवस्थामा सबैको साथ आवश्यक भएको भन्दै उनले कोहली उत्कृष्ट ब्याट्सम्यान रहेको बताएका हुन्। ब्याटिङ अवस्थामा सुधारका लागि कोहलीलाई समर्थकको साथ जरुरी भएको भन्दै सबैमा साथ दिन आग्रह समेत गरेका हुन्।

आजमले बिहीबार सामाजिक सन्जाल ट्विटरमार्फत विराट कोहलीको प्रशंसा गरेका थिए। ‘एउटा खेलाडीको नाताले अहिले तिमीले भोगेको पीडा महसुस गरिरहेको छु,’ श्रीलंकासँगको खेलअघि सामाजिक सन्जालमा आजमले भनेका छन्, ‘यस्तै अवस्थामा खेलाडीमा कति चोट पुग्छ मैले महसुस गरेको छु। साँच्चै कोहलीलाई साथको जरुरी छ। उनको साथका लागि मैले यो ट्विट गरेको हुँ।’

खराब लयका कारण कोहली वेस्ट इन्डिजसँगको खेलबाट पनि टाढिएका छन्। भारतले वेस्ट इन्डिजसँग एकदिवसीय र ट्वान्टी–२० क्रिकेट खेल्दै छ। सोही खेलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले विराटबिनाको भारतीय टोलीको घोषणा गरेको छ। घरेलु टोलीविरुद्धको ५ खेलको ट्वान्टी–२० शृंखलाका लागि रोहित शर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।

भारतीय टोलीले २९ जुलाईमा पहिलो ट्वान्टी–२० खेल्दै छ। कोहलीले २०१९ यता कुनै पनि खेलमा शतकीय पारी खेल्न सकेका छैनन्। यससँगै कोहलीको भविष्यलाई लिए पनि विभिन्न टीकाटिप्पणी हुन थालेका छन्। बिहीबार आजमले ट्विटरमा विराट कोहलीको फोटोसहित सहानुभूति र बलियो हुन आग्रह गरेका हुन्।

कोहलीको प्रदर्शनलाई लिएर भारतीय केही पूर्वक्रिकेटरदेखि पदाधिकारीले पनि आराम गर्न सुझाएका छन्। कपिल देवले विराट कोहलीलाई टोलीबाट हटाउँदै नयाँ युवा खेलाडीलाई स्थान दिनुपर्ने अभिव्यक्ति दिएका थिए। तर भारतीय टोलीका कप्तान रोहित शर्माले भने पूर्वकप्तान कोहलीको बचाउ गरिरहेका छन्।

‘कोहली भारतका राम्रा ब्याट्सम्यान हुन्। उनलाई कसैले भनेजस्तो सल्लाह आवश्यक पर्दैन,’ इङ्ल्यान्डसँगको दोस्रो एकदिवसीय खेल गुमाएपछिको पत्रकार सम्मेलनमा रोहित शर्माले भने, ‘कुनै पनि खेलाडीको खेलमा लय तलमाथि हुन सक्छ। त्यो अवस्था सबैमा हुन पनि सक्छ।

यो खेलको एउटा हिस्सा हो। कहिलेकाहीं यसलाई उपहारका रूपमा पनि लिनुपर्छ। यसले सुधारको मौका दिन्छ र कुनै पनि खेलाडीको स्तर एक/दुई इनिङबाट निर्धारण गरिनु हुँदैन।’ हाल इङ्ल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले बिहीबार दोस्रो एकदिवसीय खेलमा घरेलु टोलीसँग एक सय रनको लज्जास्पद हार भोगेको छ। २ सय ४७ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको भारतले ३८.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४६ रन जोडेको थियो।

प्रकाशित: ३२ असार २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App