२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

गणेशबहादुर भट्टराई।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ। आगामि शनिबार हुने छैठौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गर्न थालिएको हो।  

भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए। पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुद प्रतियोगिताका सिल्भर मेडलिस्ट हुन्। उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन्।  

भट्टराई १९८९, १९९० र १९९१ मा लगातार बक्सिङमा राष्ट्रिय च्याम्पियन भएका थिए। सन् १९८७ मा पहिलोपटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराई पहिलो सहभागितामै जुनियर च्याम्पियन बने। १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते। सोहि वर्ष सिनियरतर्फ चौथो भए। त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने। १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए।  

राष्ट्रिय अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको हात भाँच्चियो। त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपछि व्यवस्थापकीय पक्ष सम्हाल्न थालेका थिए। १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ काँस्य पदक देशले जित्दा उनी टीम म्यानेजर थिए।  

फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बनेका थिए। भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिका उपमेयरको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।  

मञ्चले यसअघी अग्रज खेलाडीहरु प्राडा वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्रबहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पोखरा स्पोर्टस् अर्वाड अन्तर्गत अरु खेलाडी र खेलकर्मीलाई पनि पुरस्कृत गर्ने तयारी भएको बताए।

प्रकाशित: १४ असार २०७९ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App