२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

बक्सिङ टोली स्वदेश फिर्ता

थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा सहभागी ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राति स्वदेश फर्किएको छ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे।

थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा नेपालले १ कांस्य पदक जित्यो। महिला ६० केजी तौलसमूहमा पुनम रावलले नेपाललाई कांस्य दिलाएकी हुन्। पुनमको स्पर्धामा ६ खेलाडी सहभागी थिए। पहिलो चरणमा बाई पाएर सेमिफाइनल पुगेकी पुनमले फिलिपिन्सकी रिजा पस्युटसँग प्रतिस्पर्धा गरेकी थिइन्। सेमिफाइनलमा पुनम ३–२ ले पराजित भएकी थिइन्। रिजाले पछि स्वर्ण नै जितिन्।

सन् २०१० मा दीपक महर्जनले जितेको कांस्यपछि कुनै पनि नेपाली खेलाडीले यो प्रतियोगितामा पदक जितेको पहिलो पटक भएको बक्सिङ संघले जनाएको छ। त्यस बेला उक्त प्रतियोगिता किङ्स कपका नाममा हुने गथ्र्यो।

पुरुष ६३ केजीमा भूपेन्द्र थापा मगर तथा महिला ५१ केजीमा मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ४८ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गरेका थिए। भूपेन्द्र र मीनु १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन्।

टोलीसँगै फुकेट गएका बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरले छोटो तयारीका बावजुद खेलाडीको प्रदर्शन प्रशंसनीय रहेको बताए। आइबा वान स्टार रेफ्री/जज धनकुमार मैनालीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह  गरेका थिए।

प्रकाशित: ३० चैत्र २०७८ ०२:०२ बुधबार