२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाको पहिलो जित

वेस्ट इन्डिजलाई ८ विकेटले हराएपछि खुसी साट्दै दक्षिण अफ्रिकाका खेलाडी (हरियो)। तस्बिरः एएफपी

वेस्ट इन्डिजलाई ८ विकेट हराउँदै दक्षिण अफ्रिकाले आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार ग्रुप एकको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि ८ विकेटको जित हात पारेको हो। वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।

दक्षिण अफ्रिकाका एडिन मारक्रमले अविजित ५१ र रासे भान डेर डुसेनले अविजित ४३ रनको योगदान गरे।२ रन जोड्दा कप्तान तथा ओपनर टेम्बा बभुमालाई गुमाएको दक्षिण अफ्रिकाको इनिङ दोस्रो विकेटका लागि रेजा हेन्ड्रिक्स र डुसेनले ५९ रनको साझेदारीका साथ उकासेका थिए। रेजाले ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ३९ रनको योगदान गरे।

तेस्रो विकेटका लागि डुसेन र मारक्रमले अविजित ८३ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो जितको स्वाद चाखेको हो। शनिबार पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो। मारक्रमले २६ बलमा २ चौका र ४ छक्का प्रहार गर्दा डुसेनले ५१ बलमा ३ चौका प्रहार गरे। वेस्ट इन्डिजका एकेल हुसेनले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल खडा गरेको थियो। वेस्ट इन्डिजका इर्बिन लुइसले ५६ र कप्तान काइरन पोलार्डले २६ रनको योगदान गरे। लुइसले ३५ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दा पोलार्डले २० बलमा २ चौका र १ छक्का प्रहार गरे।

पहिलो विकेटका लागि लेन्डल सिमोन्स र लुइसले ७३ रनको साझेदारी गर्दै वेस्ट इन्डिजबाट उत्कृष्ट सुरुआत गरेका थिए। सिमोन्सले १६ रन बनाए। त्यस्तै निकोलास पुरन र क्रिस गेलले समान १२ रन जोडे।

दक्षिण अफ्रिकाका ड्वाने प्रिट्रियोसले ३, केशव महाराजले २ र कागिसो रबाडा र एन्रिचले समान १ विकेट लिए। प्रतियोगितामा वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो। यसअघि शनिबार भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ६ विकेटको नतिजा सुम्पिएको थियो।

प्रकाशित: १० कार्तिक २०७८ ०४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App