२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

म्याराथन रुटमा सर्वसाधारणलाई रोक

 कोरोना भाइरस फैलिने डरले टोकियो २०२० ओलम्पिकको आयोजकले मंगलबार म्याराथन रुटमा सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ।  

खेलको महाकुम्भ मानिने ओलम्पिकमा महामारीको रूप लिएको कोरोनाका विषयमा निकै संवेदनशील हुँदै आयोजकले यस्तो निर्णय सार्वजनिक गरेको हो। कोरोनाकै कारण वर्षदिन धकेलिएको प्रतियोगिता आउन तीन साता मात्र बाँकी छ। जुलाई २३ बाट हुने ओलम्पिकलाई लिएर आयोजक निकै कठोर हुँदै आएको हो।  

‘अहिले कोरोनाको अवस्थालाई लिएर संक्रमणको विषयमा आयोजक कठोर हुनुपर्ने अवस्था देखिएको छ। यही अवस्थालाई नियाल्दा सर्वसाधारण हिँडडुल गर्ने समयलाई लिएर केही निर्णय गर्नुपरेको हो,’ आयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सम्भावित अवस्थालाई रोक्न यस्तो निर्णय गरेका हौं।’

कोरोनाकै कारण म्याराथन आयोजनास्थललाई लिएर केही विवाद भएको थियो। टोकियोबाट म्याराथनको आयोजनास्थल उत्तर सापोरोमा तय भएपछि केही विवाद आएको थियो। उक्त स्थानमा गर्मी भएकाले विवाद देखिएको हो। महिला र पुरुषतर्फको फाइनल म्याराथन ओलम्पिकको अन्तिम इभेन्ट हुनेछ। जुन इभेन्ट अगस्ट ७ र ८ मा हुने तालिका छ।  

यसअघि सापोरोमा भएको रिहर्सलमा सुरक्षार्थ खटिएका अधिकारीले सर्वसाधारणलाई हेर्नसमेत अनुमति दिएका थिएनन्। संक्रमण हुने आशंकामा उनीहरू सर्वसाधारणप्रति कठोर देखिएका थिए।  

महाकुम्भ मेलाका लागि विश्वभरका धेरै खेलाडी उपस्थित हुने अनुमान गरिएको छ। आयोजकले १० हजार घरेलु समर्थकले मात्र खेल हेर्न पाउन प्रावधान तोकेको छ। तर अनुमति पाउनेमा अन्योल पनि उत्तिकै छ। यस्तै खेलस्थलमा आधा दर्शकलाई अनुमति दिने प्रबन्ध मिलाउँदा विदेशी समर्थकलाई भने पूर्ण रूपमा रोक लगाइसकेको छ।  

संक्रमण दर फैलिने विषयलाई लिएर जापान ओलम्पिककी पूर्वअध्यक्ष सिको हासिमोतोले खेल बन्द रंगशालामा हुने सक्ने चेतावनी दिएकी छिन्। ओलम्पिकमा सहभागी हुने खेलाडी र पदाधिकारी जापान पुग्ने क्रम जारी छ। ११ हजार ओलम्पिक खेलाडी उपस्थित हुने अनुमान गरिएको मेलामा २ सयभन्दा बढी देशबाट खेलाडी र पदाधिकारी सहभागी हुनेछन्।  

सोमबार जापानका सञ्चारमाध्यमले कोरोना संक्रमण फैलिने डरले उद्घाटन सत्रमा रंगशालामा दर्शकलाई अनुमति दिने सम्भावना न्यून भएको बताएका छन्। साथै आयोजकले भिआइपी र अन्य ओलम्पिक पदाधिकारीको हकमा पनि कमभन्दा कम उपस्थिति गराउने रणनीति अपनाइरहेका छन्। 

प्रकाशित: २३ असार २०७८ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App