६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

हाभार्ट्जको गोलमा चेल्सीलाई उपाधि

पोर्टोमा साँझ ढल्दै थियो। सामाजिक दूरीको नियमका बीच समर्थकको हूल देखिन थालेको थियो। समर्थकको भीड विभिन्न स्थानमा जम्मा हुँदै स्टाडियो डो ड्रागोन रंगशालातर्फ बढ्दै थियो। गत सिजन कोभिड १९ महामारीका कारण बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) बीचको च्याम्पियन्स लिग फाइनल घरमै बसेर हेर्न बाध्य भएका समर्थक यस सिजन हर्षित थिए, कारण उनीहरू प्रत्यक्ष रंगशालामा उपस्थित हुँदै युरोपको प्रतिष्ठित कपको फाइनल हेर्न गइरहेका थिए।

काई हाभार्ट्ज सम्भावना बोकेका जर्मन युवा खेलाडी हुन्। उतारचढावका बीच हाभार्ट्ज च्याम्पियन्स लिग सफलता चुम्दै सिजनको सुखद अन्त्य गर्न चाहन्थे। भयो पनि त्यस्तै। हाभार्ट्जको निर्णायक गोलमा चेल्सीले प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमाथि १–० को जित निकाल्दै च्याम्पियन्स लिग उपाधि हात पार्‍यो। 

खेलपछि पत्रकारले तपाईं त चेल्सीको क्लब इतिहासकै महँगो खेलाडी तर सिजनको सुरुआतमा सोचेअनुरूपको प्रदर्शन गर्न सक्नुभएन भनेर प्रश्न गर्दा उनको जबाफ थियो, ‘मलाई को महँगो को सस्तो भन्ने कुराको कुनै वास्ता छैन। मलाई यत्ति मात्र थाहा छ कि हामीले च्याम्पियन्स लिगको उपाधि जित्यौं।’ हाभार्ट्जको कथा पनि अन्यभन्दा भिन्न छ। उनका बुबा रिटायर्ड प्रहरी हुन् भने आमा वकिल। फुटबलबाटै कमाउनुपर्ने बाध्यता उनीसामु छैन। तर फुटबलमोहकै कारण उनी आज यो स्थानमा छन्।

मध्यान्तर हुन ३ मिनेट बाकी हुँदा  

हाभार्ट्जले मेसन माउन्टको पासमा सिटीका गोलकिपर इडरसनलाई वान भर्सेस वानमा छक्याउँदै बललाई जाली चुमाएका थिए। सोही गोल चेल्सीलाई सन् २०१२ पछि पहिलो पटक च्याम्पिन्यस लिगको उपाधि जित्न पर्याप्त भयो।

हाभार्ट्जका लागि खेलजीवनको अधिकांश समय आफू पनि अन्यजस्तै क्षमतावान् खेलाडी भनेर मनाउनैमा गयो। उनी सन् २०२० सेप्टेम्बर ४ मा कीर्तिमानी रकममा स्टाम्पोर्डब्रिज भित्रिएका थिए। तर महत्वाकांक्षी योजनामा हाभार्ट्जलाई क्बलमा अनुबन्धित गरेका प्रशिक्षक फ्रांक लाम्पार्डले उनलाई टोलीमा विरलै अवसर दिन्थे।

थोमस टचेलको स्टाफोर्डब्रिज आगमनसँगै हाभार्ट्जले आफूले चाहेको स्थानमा खेल्ने अवसर पाए र आफूलाई प्रमाणितसमेत गरे। हाभार्ट्जको यात्रा अब के हुन्छ कसैलाई थाहा छैन। तर एउटा कुरा के हो भने उनको नाममा वजन थपिएको छ। अब उनी विपक्षी रक्षकको कडा निगरानीमा पर्छन् र विपक्षी टोलीले उनीविरुद्ध छुट्टै रणनीति बनाउनुपर्नेछ। जर्मन टोली अर्को महिनाबाट सुरु हुने युरो कपमा समेत हाभाटर््ज लयमा भएको हेर्न चाहन्छ।

ग्वार्डिओलामाथि टचेलको रबाफ

जनवरीमा फ्रांक लाम्पार्ड बर्खास्त भएपछि टचेल स्पाम्फोर्डब्रिजमा भित्रिएका थिए। एफए कप र लिगमा गरी टचेलको प्रशिक्षणमा चेल्सीले पेप ग्वार्डिओलाको टोलीलाई निराश पारेको थियो। च्याम्पियन्स लिग फाइनल दुई टोलीका लागि सिजनको तेस्रो भेट थियो। ग्वार्डिओला यसअघि भोगेको दुई हारको बदला लिँदै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा थिए। यता गत सिजन पिएसजी बायर्नसँग १–० ले पराजित भएसँगै टचेलको च्याम्पियन्स लिग लक्ष्यले पूर्णता पाउन सकेको थिएन। यस सिजन भने टचेलले त्यो सपना पूरा गरेका छन्, तर भिन्न क्लबबाट।

प्रकाशित: १७ जेष्ठ २०७८ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App