जर्मनीका विश्वकप विजेता खेलाडी आन्द्रे सुर्लेले २९ वर्षको उमेरमा शुक्रबार सबै खाले फुटबल गतिविधिबाट संन्यासको घोषणा गरेका छन्। जर्मन स्ट्राइकर सुर्ले बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डसँग २ वर्षको सम्झौता अवधि बाँकी रहे पनि दुवै टोली सम्झौता रद्द गर्न सहमत भएका हुन्।
सन् २०१४ को ब्राजिल विश्वकप विजेता जर्मनीका स्ट्राइकर सुर्लेले दुई सिजन इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमा बिताएका थिए। उनी हाल लोनमा फुलह्याममा थिए।
‘मैले लिएको निर्णयमा मलाई कुनै गुनासो छैन र मलाई कसैको सहयोग पनि चाहिँदैन । मैले धेरै समय खर्चिएर लिएको यो परिपक्व निर्णय हो,’ उनले भने।
सन् २००९ मा मेइन्जबाट व्यावसायिक खेलजीवन सुरुआत गरेका सुर्लेले सन् २०१० नोभेम्बरमा स्विडेनविरुद्धको मैत्रीपूर्ण खेलबाट जर्मन राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनले सन् २०१३ देखि २०१५ सम्म चेल्सीबाट खेलेका थिए।
‘म सबैलाई जानकारी गराउन चाहन्छु कि म व्यावसायिक फुटबल जीवनबाट पनि अलग हँुदै छु,’ उनले सामाजिक सन्जालमा उल्लेख गरेका छन्, ‘मलाई अहिलेसम्म साथ र सहयोग गर्ने सबैमा म र मेरो परिवारको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु।’
प्रकाशित: ४ श्रावण २०७७ ०४:४९ आइतबार