२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्डमाथि श्रीलंकाको फराकिलो जित

कोलम्बो – निरोसन डिकवेला र कप्तान दिनेश चण्डीमलको उत्कृष्ट ब्याटिङ मद्दतमा श्रीलंकाले मंगलबार इङ्ल्यान्डविरुद्ध एकदिवसीय शृंखलाको अन्तिम तथा पाँचौँ खेलमा फराकिलो जित निकालेको छ।

डिकवेलाको ९५ रन र चण्डीमलको ८० रनको मद्दतमा श्रीलंकाले इङ्ल्यान्डमाथि गर्दा डकवर्थ लुइस पद्धतिमा २ सय १९ रनको जित निकाल्यो । ३ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनाउँदा लगातार वर्षा भएपछि खेल रोकियो।

घरेलु टोली श्रीलंकाले शृंखलाको यादगार अन्त्य गरे पनि शृंखला ३–१ ले इङ्ल्यान्डलाई सुम्पियो । यसअघि इङ्ल्यान्डले सन् १९९४ मा किङ्सटनमा वेस्ट इन्डिजसँग १ सय ६५ रनको फराकिलो हारको सामना गरेको थियो।

किफायती बलिङ गरेका अकिला धनञ्जयले ४ विकेट लिँदा १९ रन मात्र खर्चिए । तीव्र गतिका बलर दुसमन्था चमेराले पनि ३ विकेट लिएपछि इङ्ल्यान्डको पारी धराशयी बनेको थियो । चमेराले माथिल्लो क्रमका एलेक्स हल्स, जोस बट्रल र जो रुटलाई सिकार बनाएका थिए । श्रीलंकाका बलर हाबी भएको खेलमा इङ्ल्यान्डले ४ रन जोड्दा ३ विकेट गुमाएको थियो।

तर, पाँचौँ विकेटका लागि मोइन अली र बेन स्टोक्सले ७९ रनको साझेदारी गर्दै इङ्ल्यान्डको पारी उकासेका थिए । अलीले ३७ रन र स्टोक्सले ६७ रनको योगदान दिँदै इङ्ल्यान्डको पारी उकासे पनि जित दिलाउन सकेनन् । त्यसअघि श्रीलंकाका ओपनरद्वय डिकवेला र सदिरा सामाराविक्रमाले १ सय ३७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । डिकवेलाले ९५ रन र सदिराले ५४ रनको योगदान गरे।

दुवै ओपनरलाई स्पिनर मोइन अलिले पवेलियनको बाटो देखाएका थिए । त्यसपछि ब्याटिङ गर्न आएका कप्तान दिनेश चण्डीमलले ८० र कुशल मेन्डिसले ५६ रन बनाउँदा श्रीलंकाले इङ्ल्यान्डविरुद्धको एकदिवसीय खेलमा सर्वाधिक ३ सय ६६ रनको योगफल खडा गरेको थियो । इङ्ल्यान्डका लागि अली र टोम कुरानले समान २ लिए । टेस्ट शृंखला खेल्नुअघि यी दुईबीच आगामी शनिबारदेखि टी–२० शृंखला सुरु हुनेछ।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App