म्युनिख – जर्मनीका प्रशिक्षक जोचिम लोउले मिडफिल्डर मेसुट ओजिलले जर्मन फुटल संघ (डिएफबी)माथि लगाएको जातीय दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्।
ओजिलको संन्यासको बारेमा पहिलो पटक सार्वजनिक धारणा व्यक्त गरेका लोउले उनको आरोप कपोलकल्पित र निराधार रहेको बताएका हुन्।
आर्सनलका मिडफिल्डर ओजिलले गत महिना जर्मन फुटबल संघ (डिएफबी) का अध्यक्ष, प्रायोजक र सञ्चारमाध्यमलाई सम्बोधन गर्दै ४ पेज लामो पत्र लेखेर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए।
जर्मनीले २०१४ को विश्वकप उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका ओजिलले आफूमाथि निरन्तर जातीय दुव्र्यवहार भैरहँदा पनि डिएफबीका अध्यक्ष रेनार्ड ग्रिन्डेलले कुनै प्रतिक्रिया नजनाएपछि आफू निराश भएको उल्लेख गरेका थिए।
‘आप्रवासी पृष्ठभूमि भएका खेलाडीमाथि कुनै भेदभावपूर्ण व्यवहार भएको छैन । सबै खेलाडीलाई समान व्यवहार गरिँदै आएको छ।’
‘ग्रिन्डेल र उनका समर्थकको आँखामा जर्मनीले जित्दा म जर्मन खेलाडी भएँ भने टोलीले हार्दा म आप्रवासी भएँ,’ विश्वकपअघि टर्कीका राष्ट्रपति इर्डोगानसँगको भेटको कुनै राजनीतिक उद्देश्यले नभएको भन्दै २९ वर्षे ओजिलले भनेका थिए, ‘मेरो दुईवटा मुटु छ । एउटा जर्मनीको र अर्को टर्कीको।’
‘ओजिलले जातीय दुर्व्यवहारको आरोप लगाएका छन्, तर म दाबीका साथ भन्न सक्छु, डिएफबीले कहिले कुनै खेलाडीमाथि जातीय दुर्व्यवहार गरेको छैन,’ फ्रान्सविरुद्ध सेप्टेम्बर ६ मा र ९ मा पेरूविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा कार्यक्रममा लोउले भने, ‘आप्रवासी पृष्ठभूमि भएका खेलाडीमाथि कुनै भेदभावपूर्ण व्यवहार भएको छैन । सबै खेलाडीलाई समान व्यवहार गरिँदै आएको छ ।’लोउले २००६ देखि जर्मन टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन्।
‘ओजिलको संन्यासबारे मैले मेरो सल्लाहकारले भनेपछि मात्र थाहा पाएँ,’ लोउले भने, ‘यसअघि खेलाडीले संन्यास घोषणा गर्दा सम्बन्धित फुटबल संघ र प्रशिक्षकसँग छलफल गर्ने चलन थियो, ‘मैले पछिल्लो २ सातादेखि ओजिलसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनी अहिलेसम्म मेरो सम्पर्कमा आएका छैनन् । उनले रोजेको बाटो स्वीकार गर्नुको विकल्प छैन।’
गत मेमा टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगनसँग भेटेको तस्बिर सार्वजनिक भएसँगै जर्मन राष्ट्रिय फुटबल टोलीप्रति ओजिलको इमानदारितामा प्रश्न उठेको थियो।
प्रकाशित: १४ भाद्र २०७५ ०४:०७ बिहीबार