१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

यू–१९ राष्ट्रिय क्रिकेट: गण्डकी र लुम्बिनी विजयी

यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन्।

विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत आइतबार मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले हराउँदै जित हात पार्यो।

टस जितेर ब्याटिङ थालेको मधेसले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८२ रनमै समेटियो। मधेसका जितेश मण्डलले ३२ रन, निरजकुमार यादवले १८ र मायन यादवले १३ रनको यागदान गरे। गण्डकीका अपराजित पौडेलले ५ विकेट लिए।

८३ रनको लक्ष्य पाएको गण्डकीले १८ ओभर २ बल खेल्दै १ विकेटको क्षतिमा लक्ष्य भेटायो। गण्डकीका सोहेल कुँवरले अविजित ३४ र अर्जुन कुमालले २४ रन बनाए। मधेसका जितेन मण्डलले १ विकेट लिए। गण्डकीले जितसँगै २ अंक जोडेको छ भने मधेसले २ खेलमा २ अंक जोडेको छ। कोशी २ खेलमा अंकविहीन अवस्थामा रहेको छ।

त्यस्तै, बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्बिनीले घरेलु टोली कोशी प्रदेशलाई ७५ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ४१ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ३५ रन बनायो। लुम्बिनीका सन्तोष यादव र दिलसाद अलीले क्रमशः ३६ र ३२ रन बनाए। कोशीका प्रतिक पोखरेलले ३ विकेट, सौजन घिमिरे, प्रेम कामत र विपिन महतोले समान २ विकेट लिए।

१ सय ३६ रनको लक्ष्य पछ्याएको कोशी २४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६० रनमा सीमित भयो। कोशीका लागि सोनु अन्सारीले १७ र रोशन साहले १३ रन बनाए। लुम्बिनीका महेश भार, रमेश कुर्मी र सन्तोष यादवले सामना ३–३ विकेट लिए। लुम्बिनीले २ अंक जोडेको छ।

कोशीका प्रशिक्षक लाक्पा लामाले बन्द प्रशिक्षणको समय कम भएकाले उनीहरुबीच राम्रोसँग तालमेल नहुँदा यस्तो भएको हो। बलिङ पक्ष सुधारिए खेले पनि ब्याट्सम्यानले भने सोचे अनुसार चल्न नसकेको लामाले बताए। उनले भने, ‘आजको खेलमा लुम्बिनीलाई पछ्याउन सक्ने योगफलमा रोकेको हौं। बलरले राम्रो खेले। तर ब्याटिङ पक्ष फितलो भयो। लगातार २ म्याचको तालिकाले खेलाडी थाकेको देखियो।’

प्रतियोगिताअन्तर्गत आज बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा बागमती र गण्डकी प्रदेश तथा मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। 

प्रकाशित: १२ कार्तिक २०८१ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App