२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

नेपालको दोस्रो हार

यु–१९ विश्वकप

पाकिस्तानविरुद्ध विकेट लिएपछि नेपालका आकाश चन्दलाई बधाई दिँदै सहकर्मी।तस्बिर: क्यान

नेपाल बुधबार पाकिस्तानसँग पाँच विकेटले स्तब्ध हुँदै जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ।

दक्षिण अफिकाको बफेलो पार्क क्रिकेट मैदानमा नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो। राम्रो सुरुआतका बावजुद पाकिस्तानले समालिएर खेल्यो।

मध्यम लक्ष्य दिए पनि नेपालले सहजै हार मानेन र ४८औं ओभरसम्म संघर्ष गर्‍यो। तर, अजान अवेसले अविजित ६३ रनको अर्धशतकीय इनिङ खेल्दै पाकिस्तानलाई जित दिलाए। समूह ‘डी’ मा पाकिस्तानले दुई जित निकाल्दा नेपालको भने दोस्रो हार हो। पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले स्तब्ध हुँदा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले हराएको थियो।

यु–१९ विश्वकपमा नेपालको पाकिस्तानसँग यो तेस्रो भेट हो। हालसम्म नेपालले एक र पाकिस्तानले दुई खेलको नतिजा आफ्नो पक्षमा पारेको छ।

विनोद दासको कप्तानीमा रहेको नेपालले सन् २००२ को यु–१९ विश्वकपमा सलमान बटको कप्तानीको पाकिस्तानी टोलीलाई ३० रनले हराएको थियो। त्यसपछि नेपालले  सन् २०१६ को यु–१९ विश्वकपमा पाकिस्तानको सामना गर्‍यो। त्यतिबेला राजु रिजालको कप्तानीमा नेपालले पाकिस्तानसँग १२२ रनले हार बेहोरेको थियो।

पाकिस्तानविरुद्ध तेस्रो भेटमा पनि नेपालको प्रदर्शन यादगार रहेन। यस पटक नेपालको ब्याटिङ चल्नै सकेन। बलिङतर्फ भने नेपालका बलरले सुरुआती पाँच ओभरमा कसिलो बलिङ गर्दै दबाब बनाए। तर, सफल भएनन्। पाकिस्तानका ओपनरद्वय सामिल हुसेन र साहजैब खानले ८० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए।

नेपालका तीव्र गतिका बलर आकाश चन्दले सुरुका तीन विकेट लिँदै चुनौती दिए। उनले २२औं ओभरमा दुवै ओपनरलाई समान ३७ रनमा आउट गर्दै पुनरागमनको संकेत गरे। तेस्रो विकेट पनि आकाशकै नाममा रह्यो। आकाशले अराफत मिनहासलाई ८ रनमै पभेलियन फर्काए।

२५.६ ओभरमा पाकिस्तान ९८/३ को अवस्थामा थियो। थप पाँच रन जोड्दा नेपालले चौथो विकेट पनि लियो। आकाश त्रिपाठीले विकेटकिपर साद बैगलाई खाता नखोल्दै पभेलियन फर्काए। तर, अजान अवेस र अहमद हसनले पाँचौं विकेटका लागि ६४ रनको साझेदारी गर्दै पाकिस्तानलाई जिततर्पm अग्रसर गराए।

स्पिनर दीपेश कँडेलले हसनलाई २९ रनमा आउट गर्दै यो साझेदारी तोडे। यद्यपि, अजानले ६४ रनको अविजित इनिङ खेल्दै जित दिलाए। हरून अर्सद पनि १६ रनमा अविजित रहँदै उनलाई साथ दिए। नेपालका बलरले कसिलो बलिङ गरे पनि पाकिस्तानले १४ बल अगावै जित निकाल्यो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै एक सय ९७ रनको योगफल बनायो। नेपालको सुरुआत राम्रो हुन सकेन र पाँचौं ओभरमा नै ओपनर अर्जुन कुमाललाई ६ रनमै गुमायो। अघिल्लो खेलमा ९० रन जोडेका अर्जुन स्पिनर हसनद्वारा क्लिन बोल्ड भए।

अर्का ओपनर विपिन रावलले इनिङ समाल्ने प्रयास गरे। तर, आकास त्रिपाठी पनि ६ रनमै आउट भए र नेपालले छिट्टै दोस्रो विकेट गुमायो।

विपिनले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ३७ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे। १८औं ओभरमा देव २३ रनमा आउट भए।

त्यसपछि आएका उत्तम मगर पनि चार रनमै पवेलियन फर्किए। यससँगै २०.६ ओभरमा नेपाल ८५/४ को अवस्थामा पुग्यो। थप ११ रन जोड्दा ओपनर विपिन पनि ३९ रनमा आउट भए।

सय रनको आँकडा पार नगर्दै पाँच ब्याटर पवेलियन फर्किएपछि दबाबमा परेको नेपालले त्यसपछि विकेट जोगाउँदै समालिएर खेल्ने प्रयास गर्‍यो। सुस्त ब्याटिङ गरेको नेपालले थप पाँच विकेट गुमाउँदा १०१ रन जोड्यो। अन्तिम चार ओभरमा नेपालले तीन विकेट गुमाएको हो।

दीपक डुम्रेले २६ रन, सुवास भण्डारीले २०, गुल्सन झाले १८ रन र आकाश चन्द १६ रनमा नटआउट रहे। पाकिस्तानको बलिङमा अराफतले १० ओभरमा दुई मेडन राख्दै तीन विकेट लिँदा २३ रन मात्र खर्चिए।

हसन र उबैद शाहले समान दुई तथा खुबैब खलिल, मोहम्मद जिसान र अली असफान्दले समान एक विकेट लिए। नेपालले अब समूहको अन्तिम खेल अफगानिस्ताविरुद्ध आगामी शुक्रबार खेल्दै छ। अफगानिस्तानविरुद्ध जित निकाल्दै नेपाल समूहको तेस्रो स्थान रहन चाहन्छ।

प्रकाशित: ११ माघ २०८० ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App