१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एट्लेटिकोलाई ग्रिजम्यानको प्रेरणा

मड्रिड – फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानको ह्याट्रिकप्रेरित एट्लेटिको मड्रिडले आइतबार सेभियामाथि ५–२ को विजयी नतिजा निकाल्दै स्पेनिस ला लिगाको शीर्ष क्लब बार्सिलोनासँगको दूरी ७ अंकले घटाएको छ।

‘म टोलीको प्रदर्शनमा सन्तुष्ट छु । तर हामीले दुई गोल खायाैं,’ ग्रिजम्यानले भने, ‘सबै स्ट्राइकरले गोल गरे त्यो सुखद पक्ष हो । तर त्योभन्दा महत्वपूर्ण पक्ष भनेको हामीले जोडेको स्पष्ट तीन अंक हो।’ एट्लेटिकोको जितमा ग्रिजम्यानको ह्याट्रिकसहित डिएगो कोस्टा र कोकेले १–१ गोल गरेका थिए । सेभियाका पाब्लो साराबिया र नोलिटोले सान्त्वना गोल गरे।

२९औं मिनेटमा कोस्टाले गोल गर्दै एट्लेटिकोका लागि खाता खोलेका थिए । मध्यान्तर हुन ३ मिनेट बाँकी हुँदा ग्रिजम्यानले एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए। ५१औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता बढाएका थिए । त्यसको १४ मिनेटपछि कोकेले एट्लेटिकोका लागि चौथो गोल गरे।

खेल सकिन ९ मिनेट बाँकी हुँदा ग्रिजम्यानले ह्याट्रिक पूरा गर्दै एट्लेटिकोको सहज जित पक्का गरेका थिए। अन्तिम ५ मिनेटमा दुई गोल फर्काए पनि सेभियाका लागि त्यो खेलमा फर्कन पर्याप्त भएन। ८५औं मिनेटमा साराबिया र त्यसको ४ मिनेटपछि नोलिटोले गरेको गोल टोलीका लागि सान्त्वनामा सीमित बन्यो।

यस जितपछि २५ खेलमा ५८ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा यथावत् छ । समान खेलमा ६५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम रहँदा ५१ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा यथावत् छ । समान खेलमा ३९ अंक जोडेको सेभिया छैटाैं स्थानमा झरेको छ।

यसअघि आइतबारै चाँडो गरी सम्पन्न खेलमा गेटाफेलाई १–० ले पराजित गर्दैै भिल्लारियाल चौथौ स्थानमा उक्लिएको थियो।
तेस्रो मिनेटमा इनेस युनालले गरेको गोल भिल्लारियालको जितमा पर्याप्त बन्यो।

३६औं मिनेटमा एन्जेल रोड्रिग्वेज र पाँचौं मिनेटमा जर्ज मोलिनाले पेनाल्टीको अवसर खेर फाल्नु गेटाफेका लागि महँगो साबित भयो ।
यस जितपछि २५ खेलमा ४१ अंक जोडेको भिल्लारियाल चौथो स्थानमा र ३३ अंक जोडेको गेटाफे १०औं स्थानमा छन्।
स्पेनिस ला लिगाअन्तर्गत आइतबारै सम्पन्न अर्को खेलमा भ्यालेन्सियाले रियाल सोसिडाडलाई २–१ र एथलेटिक बिल्बाओले मालागालाई २–१ ले पराजित गरेका छन्।
 

प्रकाशित: १५ फाल्गुन २०७४ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App