२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

कमजोर टोलीविरुद्ध नेपालको मध्यम ब्याटिङ

जापानविरुद्ध रन लिने प्रयासमा पूजा महतो र कप्तान इन्दु बर्मा। तस्बिर सोजन्य: क्यान

कमजोर टोलीविरुद्ध पनि मध्यम ब्याटिङ गरेको नेपालले बलिङमा साथ पाएपछि शनिबार जापानमाथि ६७ रनको जित निकाल्दै चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा पहिलो सफलता प्राप्त गरेको छ।

नेपालले हङकङमा जारी शृंखलाको आफ्नो तेस्रो खेलमा आफूभन्दा ३१ वरीयता तल रहेको जापानविरुद्ध ब्याटिङमा संघर्ष गर्नुपर्‍यो। यस क्रममा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १४ रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो। तर, जबाफमा बलिङमा उत्कृष्ट साथ पाएपछि जापानलाई निर्धारित ओभरको अन्तिम बलमा ४६ रनमै अलआउट गर्दै नेपालले शृंखलामा पहिलो जित निकाल्यो। जापानलाई सस्तैमा रोक्न स्पिनर संगीता राईले चार ओभरमा पाँच विकेट लिँदा ६ रन मात्र खर्चिइन्।

अस्मिना कर्माचार्य र पूजा महतोले समान दुई विकेट लिँदा एक विकेट रनआउटका रूपमा प्राप्त गर्‍यो। समान तीन ओभरमा अस्मिनाले ९ रन र पूजाले एक मेडनसहित दुई रन मात्रै खर्चिए।

ट्वान्टी–२० को ५२औं वरीयताको जापानले २१औं प्राप्त नेपालविरुद्ध राम्रो बलिङ गरे पनि ब्याटिङमा भने चल्न सकेन। जापानका दुई खेलाडी मात्र दोहोरो अंकमा रन जोड्न सफल भए।

मध्य क्रमकी सेइका सुमीले १३ रन जोड्दा दशौं नम्बरमा ब्याटिङ गर्न आएकी मेघ ओगावाले १७ रन बनाइन्। जापानको इनिङमा तीन मात्र बाउन्ड्री यी दुई ब्याटरले प्रहार गरेका थिए।

सुमिले १६ बल खेल्दै एक चौका र ओगावाले २९ बलमा दुई चौका हिर्काए। जापानले इनिङको पहिलो बलमै ओपनर अकारी निसिमुरालाई गुमायो। उनलाई पूजाले एलबिडब्लु धरापमा पारिन्। त्यो विकेटसँगै जापान समालिन नै सकेन र एकपछि अर्को विकेट गुमाउन पुग्यो।

नेपालको उत्कृष्ट बलिङसामु जापान १२.६ ओभरमा २६/९ को नाजुक अवस्थामा पुग्यो। यद्यपि, दशौं नम्बरकी ब्याटर ओगावाले जापानको इनिङलाई अन्तसम्म डोर्‍याइन्। उनी इनिङको अन्तिम बलमा रनआउट भइन्। जापानका तीन खेलाडी खाता खोल्न नै असफल भए।

उत्कृष्ट बलिङसँगै नेपालले कमजोर टोलीविरुद्ध शृंखलाको समूहमा रबाफिलो जित निकाल्यो। नेपालले यसअघि पहिलो खेलमा तान्जेनियासँग २७ रन र दोस्रो खेलमा आयोजक हङकङसँग ९ विकेटको हार सामना गरेको थियो। त्यससँगै नेपाल फाइनल पुग्न असफल रह्यो। नेपालले तेस्रो स्थानको लागि अब जापानसँग नै खेल्नेछ।

फाइनल र तेस्रो स्थानको खेल आइतबार नै हुनेछन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १३ रनको सामान्य योगफल बनायो।

पूर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। उनले ३२ बलमा पाँच चौका प्रहार गरिन्। काजोल श्रेष्ठ ७ बलमा तीन चौकासहित १५ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्माले ३१ बलमा २७ रन र ओपनर पूजा १३ रनमा आउट भए।

अनुभवी ब्याटर सीता रानामगर २० बल खेलेर ९ रनमा पवेलियन फर्किइन्। कप्तान इन्दु र रुविनाले तेस्रो विकेटको लागि ४८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए। जापानको बलिङमा इलिना कुसुदाले दुई विकेट तथा ओगावा र अयुमी फुजिकवाले समान एक विकेट लिए।

प्रकाशित: ३ मंसिर २०८० ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App