सर्लाही- सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षी जनक कप’ फाइनल खेलका लागि मनाङ मर्स्याङदीले स्थान कब्जा गरेको छ। ‘राजर्षी जनक कप’ अन्तर्गत दोश्रो चरणको पहिलो सेमिफाइनलमा आइतबार हिमालयन शेर्पालाई ०–२ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइलमा स्थान सुरक्षित गरेको हो।
पहिलो हाफ बराबरीमा टुंगिएको खेलमा मनाङ मर्स्याङदीका लागि पहिलो गोल दोश्रो हाफको ३५ औ मिनेटमा जर्सी नं. २१ का विमल रानाले गरे। जर्सी नं. ७ का सुशील लामाको क्रस पासलाई हेड गर्दै रानाले गोल गर्न सफल भए । मनाङका लागि दोश्रो गोल अतिरिक्त समयमा जर्सी नं.९९ का अफिज गोलावालेले गरे । थप गरीएको १ मिनेट समयमा अफिजले डी एरीया नजिकैबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । मनाङका जर्सी नं. १८ का एडोम म्यान अफ दी म्याच बापत नगद ५ हजार प्राप्त गरे।
पहिलो हाफ प्रतिस्पर्धात्मक भएपनि दोश्रो आफमा मनाङ हावी भयो। पहिलो हाफमा हिमालयन शेर्पाको पटक पटको प्रयास मनाङका गोल रक्षक किशोर गिरीले विफल बनाएका थिए।
खेल शुरु भएको १४ औ मिनेटमा हिमलायनका एलेक्सले गोल पोष्टमा तिखो प्रहार गरे । तर क्रसबारमा बल ठोकिएर फर्केको थियो । लगतै १८ औ मिनेटमा हिमालयका राजकुमार श्रेष्ठले गोल पोष्टमा प्रहार गरे पनि सफल हुन सकेन । डि एरियाको नजिकैबाट श्रेष्ठले गरेको प्रहार खेर गएको थियो । खेलको २५ औ मिनेटमा हिमालयन शेर्पाका लागि सशक्त प्रहर निराजन मल्लले गरे । मल्लोको प्रहार गोलरक्षक किशोर गिरीले विफल बनाइदिए ।
दोश्रो सेमिफाइनल खेल सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरीबीच हुने छ। बागमती युवा क्लवको आयोजनामा सर्लाहीको बागमति खेल मैदानमा ए डिभिजन स्तरको फुटबल प्रतियोगित भइरहेको छ। प्रतियोगिताका बिजेताले नगद ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्ने छन्।
प्रकाशित: १३ चैत्र २०७३ १३:१० आइतबार