पाँचथर– भुटानको फ्यान्स क्लब (बिआरसी) मंगलबार पहिलो खेलमा आयोजक फिदिम स्र्पोटिङ क्लबसँग २–० को नतिजामा पराजित भएपछि आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताबाट वाहिरिएको छ ।
मंगलबारको पहिलो क्वार्टरफाइनल जितेपछि आयोजक फिदिमले अन्तिम चारको यात्रा पक्का गरेको छ । झापामा जारी काँकडभिट्टा गोल्डकपमा रुपन्देहीसँग पराजित भएपछि फिदिम उक्लिएको भुटानी टोली पाँचथरमा पनि निराश हुनुप¥यो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । मध्यान्तरपछि फिदिम आक्रामक हुँदा सरन बस्नेतले दुई गोल गरे । विपक्षी रक्षकका गल्तीको फाइदा उठाउँदै वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान छिरेका सरनले गोल गरे । आशिष राईको पास विपक्षी रक्षकले क्लियर गर्न नसक्दा ६० औं मिनेटमा सरनले फिदिमको खाता खोलेका सरनले ११ मिनेट बाँकी रहँदा अर्को गोल थपे । प्रदीप आङदेम्बेको पास साजन राईले मिलाएपछि सरनले पेनाल्टी बक्सभित्रबाट दोस्रो गोल गरेका थिए । विपक्षी गोलरक्षक अघि बढेको मौकामा सरनले दोस्रो गोल गरेका थिए ।
रक्षापंक्तिमा रहेर घरेलु टोलीको नेतृत्व गरेका कप्तान नरेश सम्बाहाफे म्यान अफ दि म्याच घोषित भए । बिहीबार सेमिफाइनलमा फिदिमले उपाधिकै दाबेदार मानिएको बिर्तामोडको युनाइटेड झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम आठको खेलमा ताप्लेजुङको कर्णसिंह सोनामा स्मृति क्लब र काठमाडौंको चर्च ब्वाइज क्लबबीच खेल हुनेछ ।
पुस १५ मा सुरु प्रतियोगिताको फाइनल आइतबार हुनेछ । विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख १५ हजार रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ ।
प्रकाशित: २० पुस २०७३ ०६:०४ बुधबार