१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

चेल्सीको हारमा जिम्मेवारी लिन्छु-पोर्टर

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार एस्टन भिल्लालाई २-० को नतिजा सुम्पिएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरले टोलीको खराब प्रदर्शनको जिम्मेवारी लिने बताएका छन्।

यो नतिजापछि २८ खेलको समाप्तीमा चेल्सी ३८ अंकसहित ११औं स्थानमा झर्न बाध्य भयो। एस्टन भिल्ला भने समान खेलबाट ४१ अंकसहित नवौं स्थानमा छ। चौथो स्थानको टोटनहमभन्दा चेल्सी ११ अंकले पछि छ। जसले चेल्सीको शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कमजोर देखिएको छ। सातौं स्थानको ब्रेन्टफोर्डभन्दा चेल्सी पाँच अंकले पछि छ। लगातार खराब नतिजापछि चेल्सी आगामी सिजन घरेलु प्रतियोगितामा मात्र सीमित हुने जोखिममा छ।

एस्टन भिल्लाको जितमा ओले वाट्किन्स र जोन म्याकगिनले समान एक गोल गरेका थिए। एस्टन भिल्लासँगको हारपछि चेल्सीका घरेलु समर्थकले आफ्नो टोलीको चर्को आलोचना गरेका थिए। ‘म कसैलाई पनि दोष दिन चाहन्नँ। यो हारको जिम्मेवारी म आफैं लिन्छु,’पोर्टरले भने, ‘यो हारपछि हाम्रा समर्थक निराश छन् भन्ने थाहा छ। त्यसैले उनीहरूले हाम्रो प्रदर्शनविरुद्ध नाराबाजी गर्नु पनि जायज नै हो। घरेलु मैदानमा हार्दा समर्थक आवेशमा आउनु स्वाभाविक पनि हो।’ प्रशिक्षक पोर्टरले पनि आगामी सिजनका लागि युरोपेली प्रतियोगितामा खेल्न पाउने सम्भावना कठिन भइरहेको स्विकार गरे।

‘लगातार खराब नतिजापछि आगामी सिजन युरोपियन प्रतियोगिताहरू (च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग) मा छनोट हुने हाम्रो सम्भावना कठिन देखिएको छ,’पोर्टरले थपे, ‘टोलीको आलोचना भैरहेको छ र म त्यसको जिम्मेवारी लिन तयार छु।’ घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लामाथि सुरुआती मिनेटबाटै दबाब बनाएको थियो। तर, चेल्सीले पाएका एक पछि अर्को अवसर सदुपयोग गर्न सकेन। चेल्सीले २७ वटा अवसर सिर्जना गरेको थियो। एस्टन भिल्लाले भने पाएका दुई वटै अवसरलाई गोलमा परिणत गर्‍यो।

‘टोली जितकै लागि मैदान उत्रिएको थियो,’पोर्टरले भने, ‘चेल्सीले गरेको प्रदर्शन र धेरैभन्दा धेरै अवसर सिर्जना गर्नुले पनि टोलीले मिहिनत गरेको देखाउँछ। तर दुर्भाग्य हामीले पाएका अवसर सदुपयोग गर्न सकेनौं। प्रदर्शन सकारात्मक भए पनि हाम्रा लागि नतिजा भने पीडादायी रह्यो।’

गत अक्टोबरमा युनेई इमिरे प्रशिक्षकमा नियुक्त भएपछि भिल्लाले निकालेको यो पाँचौं जित हो। भिल्ला आठौं स्थानको लिभरपुलभन्दा एक अंकले मात्र पछि छ। ‘प्रशिक्षणका दौरान टोलीले गरेको मिहिनत मैदानमा पनि देखियो,’इमिरेले भने, ‘टोलीले निकै सुधारिएको प्रदर्शन गरिरहेको छ। वाट्किन्सले पनि सुधार गरिरहेका छन्।’ 

प्रकाशित: २० चैत्र २०७९ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App