२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफलाई उपाधि

कप्तान सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेको दिन बिहीबार एपिएफले कोसी प्रदेशमाथि ५४ रनको जित निकाल्दै ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले कोसी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि उचालेको हो। एपिएफले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। बिहीबार सम्पन्न फाइनलमा एपिएफले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य कोसीले २० ओभर नै ब्याटिङ गरे पनि पुर्‍याउन सकेन।

टोलीले ६ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो। कोसीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन जोडे पनि जित दिलाउन सकिनन्। रुबिनाका अलावा लकिता राजवंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्। कोसीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि विनु बुढा मगरले दुई तथा सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एकएक विकेट निकाले।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले पूरै २० ओभरमा विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो। सुरुआतबाट नै एपिएफले आक्रामक ब्याटिङ गरेको थियो। यो ललितपुर मेयर्स कपमा एपिएफले बनाएको सर्वाधिक ठूलो स्कोर पनि हो। यसअघि सन् २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशविरुद्ध १ सय ४४ रन बनाएको थियो।

एपिएफका लागि कप्तान सीता रानामगरले ६८ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७९ रन जोडिन्। यो ललितपुर मेयर्स कपको एकै इनिङमा एक खेलाडीले बनाएको सबैभन्दा उच्च व्यक्तिगत योगफल हो। यसअघि पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन्।

यसैगरी इन्दु बर्माले ४१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाइन्। अर्धशतक बनाउँदा उनी अविजित रहिन्। दोस्रो विकेटका लागि सीता र इन्दुले अविजित १ सय ३६ रनको साझेदारी गरेका थिए।

यस्तै ज्योति पाण्डे २ रनमा पवेलियन फर्किन पुगेकी थिइन्। यसअघि पहिलो संस्करणमै ललितपुरका सुमन खतिवडा र अस्मिना कर्मचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध अविजित १ सय ८ रनको साझेदारी गरेका थिए। कोसीका लागि एक मात्र विकेट अलिसा खडियाले लिएकी थिइन्।

पाँच टोली बीचको प्रतिस्पर्धामा एपिएफले समूह चरणका सबै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। यस्तै उपविजेता कोसीले समूहचरणमा तीन खेलमा जित र एकमा हारको नतिजासहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको थियो।

एपीएफले २ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ। एपिएफका कप्तान सीता रानामगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै ३० हजार रुपैयाँ हात पार्दा कोसीकी निशा साह उत्कृष्ट बलर र रुबिना क्षेत्री उत्कृष्ट ब्याटर घोषित भए। उनीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए। विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, क्यान पदाधिकारी लगायतले पुरस्कार वितरण गरे। 

प्रकाशित: १७ चैत्र २०७९ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App