१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

गाईघाटमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

राष्ट्रपति खेलकुद उद्घाटन कार्यक्रममा सहभागी वाग्ले, विश्वकर्मा र मेयर बस्नेत । तस्बिर: महेश्वर

सदरमुकाम गाईघाटमा यसवर्षको ‘राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०७९’ शुक्रबारदेखि सुरु भएको छ। हरेक वर्ष आयोजना हुदै आएको जिल्लास्तरीय प्रतियोगिताको यो १२ औँ संस्करण सुरु भएको आयोजक जिल्ला खेलकुद विकास समिति उदयपुरले जनाएको छ।

अन्तर पालिकास्तरीय प्रतियोगितामा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयहका खेलाडीको सहभागिता रहने समितिले जनाएको छ। त्रियुगा नगरपालिका १३ गाईघाटस्थित उदयपुर थरुहट रंगशालाको खेलमैदानमा सुरु प्रतियोगिताको प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव हंशराज वाग्ले, जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर बिश्वकर्मा र त्रियुगा नगरप्रमुख बसन्त बस्नतले संयुक्त रुपमा उद्घाटन गरे। 

आगामी २८ गतेसम्म सञ्चालन हुने ३ दिने प्रतियोगितामा भलिबल, सटफुट, कबड्डी, तेक्वान्दो, उसु, कराते र एथ्लेटिक्समा प्रतिस्पर्धा गराइने आयोजक जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक प्रकाशराम राईले बताए। उनका अनुसार प्रतियोगितामा एथ्लेटिकससहित ६ प्रकारका खेलमा महिला पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ।  

उसु, कराते र तेक्वान्दोनमा बिभिन्न तौल समूहमा महिला पुरुष दुवैतर्फका खेलाडी खेलमा सहभागी हुनेछन् भने भलिबल, कबड्डी र एथ्लेटिक्समा पनि महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा गराइनेछ। एथ्लेटिक्समा १ सय मिटरदेखि ४ हजार मिटरसम्म बिभिन्न दूरीमा दौडको स्पर्धा हुनेछ। त्यस्तै सटफुट, हाई जम्प, लङ जम्प, त्रिपल जम्प र ज्याबलिङ थ्रोमा पनि स्पर्धा हुने प्रशिक्षक राईले बताए।

जिल्लास्तरीय प्रतिस्पर्धा भएकाले हरेक स्थानीयतहबाट विजयी भएर आएका खेलाडीबीच रोचक र कडा प्रतिस्पर्धा हुने आयोजकको भनाई छ। आकर्षक स्पर्धा हुने भएकाले खेल हेर्न पहिलो दिनदेखि नै बजारबाट दर्शकहरु रंगशालामा भेला भएका छन्। प्रतिस्प्र्धामा विजेता समूह र खेलाडीलाई निकट भविष्यमै हुन गईरहेको प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइनेछ। विजयी खेलाडीहरुलाई प्रोत्साहनस्वरुप नगद पुरस्कारका साथै रनिङ सिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको प्रशिक्षक राईले बताए।

प्रकाशित: २६ फाल्गुन २०७९ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App