२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो

धनगढीमा जारी विद्यालयस्तरीय यु–१९ राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको छ।

सोमबार कैलालीको नवबालवाटिका विद्यामन्दिरले सोमबार गुराँस एकेडेमीलाई हराउँदै सेमिफाइनलमा पुगेसँगै एलपिएलको अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो। जारी सातौं संस्करणमा समूहका चारै खेलमा शतप्रतिशत जित निकाल्दै डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमीसँगै लोटस आई स्कुल र धनगढीको लिटल फ्लावर बोर्डिङ हाईस्कुल यसअघि नै अन्तिम चारमा पुगिसकेका छन्। सोमबार अन्तिम चारका लागि भएको निर्णायक खेलमा नव बालवाटिकाले गुराँसलाई ७३ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा १ सय ४२ रनको लक्ष्य पछ्याएको गुराँस १४‍.१ ओभरमा ६८ रनमै समेटिएपछि नव बालवाटिकाले सहज जित निकाल्यो। गुराँसका लागि सचिन साउदको २० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नव बालवाटिकाका बलर नरबहादुर सार्कीले ह्याट्रिकसहित कुल चार विकेट लिए। उनले १३औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। गजेन्द्र बोहराले तीन तथा प्रकाश जैसीले दुई विकेट लिएपछि नव बालावाटिकाले सहजै सेमिफाइनलमा स्थान बनायो।

त्यसअघि टस जितेर ब्याटिङ गरेको बालबाटिकाले २० ओभर खेल्दै सात विकेट गुमाएर १ सय ४१ रन बनायो। बालवाटिकाका प्रवेश साउद र विराटसिंह भण्डारीले समान २९ रन जोडे। प्रकाश जैसीले २५ तथा गजेन्द्र बोहराले २० रन बनाए। गुराँसको बलिङमा सचिन साउदले तीन तथा प्रकाश रोकायाले दुई विकेट लिए। सोमबारकै दोस्रो खेलमा वेस्टन क्रिस्टलले होली फेमिलीमाथि सान्त्वना जित निकाल्यो। दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। १ सय ३३ रनको लक्ष्य वेस्टन क्रिस्टलले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।  

मंगलबार लिग चरणको अन्तिम खेलमा उपाधिहोडबाट बाहिरिसकेका शारदा विद्या निकेतन र सैनिक आवासीय महाविद्यालयबीच हुनेछ। बिहीबार दुई सेमिफाइनल र शनिबार उपाधि भिडन्त हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७९ ००:५५ मंगलबार

ट्वान्टी–२० क्रिकेट प्रतियोगिता लिटिल फ्लावर प्रिमियर