२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकपः मकवानपुरको विजयी सुरुवात

बलको लागि प्रतिस्पर्धा गर्दै मकवानपुर र सिमराका खेलाडी।

हेटौँडामा शनिवारबाट सुरु भएको पाँचौँ संस्करणको सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्ड कप फुटबलमा घरेलु टिम मकवानपुर ११ ले विजय यात्रा सुरु गरेको छ। उद्घाटन खेलमा मकवानपुरले छिमेकी जिल्ला बाराको नवजनजागृति क्लब सिमरालाई २–० ले हराएको हो।

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको हो। मकवानपुरका प्रितम स्याङ्बोले १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। सिमराका गोलरक्षक रोहन मगरले हातबाट बल फुत्काएको बललाई नियन्त्रणमा लिँदै स्याङ्बोले गोल गरेका हुन्। पहिलो हाफको अतिरिक्त समयमा फागुराम चौधरीले गोल गर्दै मकवानपुरको अग्रता दोब्बर बनाएका हुन्। विश्व लामाको क्रसलाई उनले गोलमा परिणत गरेका हुन्।

खेलको ५० औँ मिनेटमा सिमरा दश खेलाडीमा सीमित भएको थियो। मकवानपुरका स्याङ्बोलाई फाउल गरेपछि सिमराका डिफेन्डर जनक कोइरालालाई रेफ्री विश्वास कार्कीले रातो कार्ड दिएका थिए। दोस्रो हाफमा दुवै टोलीले केही राम्रो मौका पाए पनि थप गोल हुन नसक्दा मकवानपुर २–० ले विजयी भएको हो।

खेलमा मकवानपुरका विदेशी खेलाडी एल्यु म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ“सहित ट्रफी प्राप्त गरे। सात वटा ए डिभिजन, एउटा विदेशी तथा ४ वटा मोफसलका गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ“ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई रोयल इन्फिल्ड (बुलेट बाइक) को व्यवस्था गरिएको छ भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उद्घाटन गरेका हुन्। मेयर लामाले यस प्रतियोगिता मकवानपुरकै गौरव भएको धारणा राखिन्।

उनले फुटबल मात्र नभै सबै खेललाई सामान ढंगले अघि बढाउन उपमहानगरपालिका तयार रहेको बताइन्। कार्यक्रममा उपमेयर बानियाँ, प्रतियोगिताका पूर्व संयोजक प्रताप विष्ट, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य टीकाराम लामा लगायतले यस प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिँदै लैजानुपर्ने धारणा राखेका थिए। जारी प्रतियोगितामा आइतबार ए डिभिजन क्लब सातदोबाटो र सशस्त्र प्रहरीको एपीएफ क्लबबिच खेल हुनेछ।

प्रकाशित: २८ माघ २०७९ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App