२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको सिरिजंगामा भएको नमूना मतदानमा पाँच प्रतिशत मत बदर

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकमा आयोजना गरेको नमूना मतदानका क्रममा ५ प्रतिशतसम्म मत बदर भएको छ।

मतदाता शिक्षा सुरु कार्यक्रम सुरु भएकै दिन जिल्ला निर्वाचन कार्यालयले मतदाता जागरणका लागि नमूना मतदान सुरु गरेको हो। २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशत र प्रत्यक्षतर्फ साढे ५ प्रतिशत मत बदर भएको थियो।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार तेल्लोक माध्यमिक विद्यालयमा भएको नमूना मतदानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५८ जनाले मतदान गरेकोमा २ मत बदर भएको थियो। ५६ मत सदर भएको थियो।

यस्तै समानुपातिकतर्फ ५८ जनाले मतदान गरेकोमा ३ मत अर्थात् कूल संख्याको ५ प्रतिशत बढी मत बदर भएको थियो। प्रदेशसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ५८ जनाले नमूना मतदान गरेकोमा दुवैतर्फ साढे तीन प्रतिशतका दरले मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ समान ५६–५६ मत सदर हुँदा समान २–२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिए। मतदाता शिक्षा जागरणका क्रममा जिल्ला निर्वाचन कार्यालयले शुक्रबारै सिदिङ्वा गाउँपालिकामा पनि नमूना मतदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

यस्तै कात्तिक १९ गते मिक्वाखोला र मेरिङदेन गाउँपालिका,२० गते फक्ताङलुङ गाउँपालिका,२१ गते मैवाखोला र आठराई त्रिबेणी गाउँपालिका,२२ गते पाथीभरा याङ्वरक गाउँपालिका र २३ गते फुङलिङ नगरपालिकामा नमूना मतदान गर्ने गरी जिल्ला निर्वाचन कार्यालयले कार्यसूची बनाएको छ।

जिल्ला निर्वाचन अधिकारी खनालले निर्वाचन आयोगको परिपत्र अनुसार मतदाता जागरणका लागि प्रत्येक पालिकाका केन्द्रहरुका पायकपर्ने स्थानमा नमूना मतदान कार्यक्रम हुने गरी कार्ययोजना बनेको जानकारी दिए।

प्रकाशित: १८ कार्तिक २०७९ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App