१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जीर्ण सडकले यात्रुलाई बर्खामा झन् समस्या

ठाउँठाउँमा अवरुद्ध कर्णाली राजमार्ग।

कर्णाली राजमार्ग अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु जिल्लाको सदरमुकाम गमगढीसम्मको दूरी २९४ किलोमिटर हो। सामान्यतया यो दूरी पार गर्न सडकमार्गबाट एक दिन काफी हुन्छ। वर्षात्का कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिलो जाँदा गमगढी पुग्न आजभोलि कम्तीमा पाँच दिन लाग्ने गरेको छ।

खाद्यान्न र निर्माण सामग्रीहरू बोकेका गाडीहरू दुई दिनमा मुगु पुग्थे। सुर्खेतका रामबहादुर बुढा तीन वर्षदेखि सुर्खेत–मुगुमा ट्रक चलाइरहेका छन्। अरू बेला लोड ट्रक दुई दिनमा गमगढी पुर्‍याउने बुढालाई आजभोलि न्यूनतम पाँच दिन लाग्छ। ‘कर्णाली राजमार्गमा वर्खाको बेला गाडी चलाउँदाको सास्ती शब्दमा व्याख्या गरेर साध्य छैन्,’ ट्रक चालक बुढाले भने, ‘कहीँकहीँ एक किलोमिटर सडक पार गर्न पनि एक दिन लाग्छ।’

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक २०६४ सालदेखि सञ्चालनमा आएको हो। पहाडी भूभाग र साघुँरो सडकले अरू बेला पनि यहाँ यात्रा गर्न सास्ती हुन्थ्यो। अझ सानो पानीले पर्नेबित्तिकै खहरेले सडकमा पहिरो थुपार्ने भएकाले बर्खाको समयमा कर्णाली राजमार्गको यात्रा कम्ता जोखिम छैन। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक सञ्चालन भएको १५ वर्ष भयो।

एक दशकअघि ओटासिल गरिएको सडक जीर्ण छ। वर्षातले ठाउँठाउँमा सडक भत्केका छन्। पहिरोको समस्या उस्तै छ। सामान्यतया जुम्ला–सुर्खेतको दूरी आठदेखि १२ घण्टासम्मको हो। तर,आजभोलि यही सडकमा यात्रा गर्न तीनदेखि चार दिन लाग्छ।

‘साँघुरा सडक, ठाउँठाउँमा आएको पहिरोले गर्दा जुम्लादेखि सुर्खेत पुग्न दुई–तीन दिन लाग्छ’ जुम्लाका स्थानीय हंशराज ज्यौपानेले भने, ‘पहिले हिँडेरै तीन दिन लाग्थ्यो, आजभोलि गाडीमा जाँदा पनि त्यति नै समय लाग्छ।’ सडकको स्तरोन्नति र सरकारी निकायले समयमै आएको पहिलो नपन्छाउँदा यात्रुहरू सास्ती खेप्दै आएका छन्।

कर्णाली राजमार्गको कालिकोट खण्ड अन्यन्तै जोखिमपूर्ण छ। सुनार खोला, पिली, खल्लागाड लगायतका ठाउँमा दिनहुँ आउने पहिरोले यात्रुहरू समस्यामा पर्ने गरेका छन्। यो खण्डमा गाडी वारपार गराउन डोजरको सहायता लिनुपर्छ। दैलेख र कालिकोटमा १५ दिनयता दिनहुँ वर्षा भइरहेको छ। मर्मत हुँदै गरेको सेरीघाट-मान्म सडक खण्ड खोलामा परिणत भएको छ।

‘दैनिक पानी वर्षिन्छ पहिरो आउँछ, स्काभेटरले पहिरो पन्छाउँछ फेरी पहिरोले सडक पुरिहाल्छ,’ ट्राफिक प्रहरी जवान लालबहादुर क्षेत्रीले भने, ‘बर्खाको समयमा कालीकोट खण्डमा गाडी चलाउन धेरै समस्या हुने गरेको छ।’ कालीकोटको सेरीघाट, झाम्ला मोड, मेयर खोला, सुनार खोलामामा बाढीले क्षति पुर्‍याएको छ। स्काभेटरले पहिरो पन्छाउने र बाढीले चिरा पारेको सडकमा माटो भरेर सडक सञ्चालनमा ल्याउँदासम्म घण्टौ लाग्छ।

नाग्मदेखि गमगढीसम्मको ९४ किलोमिटर सडकको अवस्था झन जोखिमपूर्ण छ। असारदेखि भदौसम्मको तीन महिना यो सडकमा यातायातका साधन चलाउन सास्ती हुन्छ। नाग्म–गमगढी खण्डको कोइरेली, बड्की, विष्टवाडा, रोकायवाडा, गोठीज्यूला लगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध हुन्छ ‘सामान्य वर्षाले पनि कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक खण्डका विभिन्न स्थानमा पहिरोले बाटो अवरुद्ध गर्छ,’ चालक बुढाले भने, ‘कहिले कर्णालीको सडक सुधार होला र सहज तरिकाले गाडी गुडाउन पाइएला।’

कर्णाली राजमार्गका विभिन्न स्थानमा सडक कामदार राखिएका छन्। ‘सामान्य मर्मत बाहेकका काम हामीले गर्न सक्दैनौं’ एक कामदारले भने, ‘एउटै ठाउँमा चार-पाँच घण्टासम्म यात्रुहरू जाममा पर्ने गरेका छन्।’ जीर्ण सडकसँगै कर्णाली राजमार्गअन्तर्गतका अधुरा पुलले पनि यात्रुहरूलाई सास्ती दिँदै आएको छ। अधुरा पुलहरू, बीचबीचमा आउने पहिरोले यात्रु घण्टौं जाममा बस्नुपर्छ। पहिरो डोजर लगाएर पन्छाए पनि पुल नहुँदा खोलाहरूमा आउने बाढीले यात्रुहरू झन समस्यामा पर्ने गरेका छन्।

सडक सञ्चालनमा आएदेखि कर्णाली राजमार्गको स्तरोन्नति भएको छैन्। साँघुरो सडकका कारण यहाँ दिनहुँ दुर्घटना हुन्छन्। सुर्खेत–जुम्ला सडकमा यात्रुवाहक बस चलाउँदै आएका भक्तहादुर सावाँले साँघुरो सडकले सास्ती हुने गरेको बताए। कुनैकुनै यस्ता ठाउँ छन्, जहाँ साइट दिनका लागि आधा घण्टा समय लगाएर ब्याक गर्नुपर्ने अवस्था आउँछ,उनले भने, ‘सडक सञ्चालनको यतिका वर्ष हुँदा पनि स्तरोन्नति नहुँदा समस्यै समस्या छन्।’

कर्णाली राजमार्गअन्तर्गतको दैलेखको खिड्कीज्यूलादेखि सेरीगाडसम्मको सडक सबैभन्दा साँघुरो छ। कालीकोट सदरमुकाम मान्मदेखि जुम्लाकोसीमा नाग्मसम्म पनि कैयौं स्थानमा साँघुरो बाटोले हैरान बनाउने गरेको छ। उद्योग वाणीय संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले कर्णालीको लाइफलाइन सडक सुधारमा प्रदेश र केन्द्र सरकारले चासो नदिएको आरोप लगाए। ‘नाम मात्रै राजमार्ग छ,’ उनले भने, ‘सडकको अवस्था बेहाल छ।’

उनले स्तरीय सडक नहुँदा दैनिक उपभोग्य वस्तु र निर्माण सामाग्रीको मूल्यमा असर पर्ने गरेको बताए। ‘सुर्खेतदेखि कालीकोट, जुम्लासम्मको दूरी छोटो भए पनि जीर्ण सडकका कारण यहाँ खाद्यान्न र निर्माण सामाग्रीहरूको मूल्य छोइसक्नु छैन्,’ उनले भने, ‘सरकारले सडकको स्तरोन्नति गरिदिए धेरै ठूलो राहत हुन्थ्यो।’ 

नगेन्द्र उपाध्याय/सुर्खेत, गोविन्द केसी/वीरेन्द्रनगर र  ललित विष्ट/कालिकोट

प्रकाशित: १७ असार २०७९ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App