टीकाराम गौतम स्मृति प्रतिष्ठानले ताप्लेजुङको सामाजिक क्षेत्रमा योगदान पुर्याउने रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार वितरण गर्ने भएको छ।
प्रतिष्ठानले रेडक्रस उपशाखातर्फ फुरुम्बु उपशाखालाई नगद १० हजार १ सय ५ रुपैयाँसहित पुरस्कृत गर्न लागेको प्रतिष्ठानका विकास गौतमले जानकारी दिए।यस्तै उत्कृष्ट समाजसेवीतर्फ फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका ज्ञानप्रसाद तामाङ पुरस्कृत हुने भएका छन्।
उनलाई नगद ५ हजार १ सय ५ रुपैयाँ राशी सहित पुरस्कृत गर्न लागिएको समेत गौतमले जानकारी दिए। तत्कालिन हाङ्देवा गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तामाङ सेवा निवृत राष्ट्र सेवक समेत हुन्। यता ५ हजार १ सय ५ रुपैयाँ राशीको टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी संगिता कार्की पुरस्कृत हुने भएकी छन्।
रेडियो ताप्लेजुङकी सञ्चारकर्मी उनी पत्रकार महासंघ ताप्लेजुङी सहसचिव समेत हुन्। नेपाल पत्रकार महासंघ ताप्लेजुङको सिफारिस र टीकाराम गौतम स्मृति प्रतिष्ठानको निर्णय अनुरुप कार्कीलाइ सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
२०१३ साल वैशाख ९ गते जन्मिएका नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो। सामाजिक क्षेत्रमा अगुवा उनको निधन पछि सामाजिक क्षेत्रलाइ स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले टीकाराम गौतम स्मृति प्रतिष्ठानमार्फत कार्यक्रम गर्दै आइरहेका छन्। स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्दै आइरहेको छ।
प्रकाशित: ९ वैशाख २०७९ ०७:१० शुक्रबार