२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धरानको दुईवटा वडामा सेवा बन्द

समुदायमा फैलिएको आशंका

कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि धरान उपमहानगरपालिका वडा नं १४ र २० को कार्यालयमा सेवा बन्द गरिएको छ।

सेवाग्राहीहरुमा संक्रमण फैलिन नदिन एक साताको लागि वडा कार्यालयमा सेवा बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ। वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार थुप्रै कर्मचारीहरुमा लक्षण देखिएपछि हिजो मंगलबार परीक्षण गरिएको थियो।

कर्मचारीहरुको रिपोर्ट पोजेटिभ आएपछि वडा नं १४ र २० ले सेवा तत्काल ७ दिनको लागि बन्द गरेको छ भने वडा नं ११ ले बिहीबारदेखि सेवा बन्द गर्ने भएको खतिवडाले बताए।

उनका अनुसार वडा नं १३, १४, १९, ७, ११ र २० का वडा सचिवसहित अन्य कर्मचारीहरु पनि संक्रमित छन्। यस्तै, उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ। ‘नगर कार्यापालिका र वडा कार्यालयमा थुप्रै कर्मचारीहरु संक्रमित देखिएको छ। धेरै कर्मचारी संक्रमित भएको वडा १४ र २० मासेवा प्रवाह बन्द गरिएको छ, अन्य वडामा पनि समन्वय भइरहेको छ,’ खतिवडाले भने।

स्वास्थ्य महाशाखाका अनुसार मंगलबार १८ जनाको स्वाब परीक्षण गरिएको थियो। तीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। साथै, आज (बुधबार) थप १ जना कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको उनले बताए। संक्रमित भएकाहरुमध्ये ८ जनालाई धरान १९ हरियाली सामुदायिक वनको आवास गृहमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा राखिएको पनि मेहताले बताए। ‘८ जना आइसोलेसन सेन्टरमा छन्, अरु सबै होम आइसोलेसनमा नै बसेका छन्,’ मेहताले भने, ‘घरमा बस्न सहज नहुनेहरुलाई आइसोलेसन सेन्टरमा बस्ने व्यवस्था गरिएको छ।’

समुदायमा फैलिएको आशंका

पछिल्लो एक साता धरानमा धेरै भिडभाडको कार्यक्रमहरु आयोजना भएको थियो। ती कार्यक्रमपछि नै एकै साथ उपमहानगरपालिका तथा वडा कार्यालयका कर्मचारीहरुलाई रुघााखोकीलगायतका लक्षणहरु देखिएको थियो। स्वाब परीक्षण गर्दा तीमध्ये अधिकांश संक्रमित देखिए।

एक सातायता धरानमा भएका भिडभाडका कार्यक्रमहरुले संक्रमण फैलाउन भूमिका खेलेको अनुमान गरिएको छ। धरान उपमहानगरपालिकाको आयोजनामा पुष २० देखि २३ गतेसम्म तीन दिने धरान डे उत्सव भव्यताका साथ आयोजना भएको थियो।

तीनदिने कार्यक्रममा हजारौं सहभागी भएका थिए भने कर्मचारीहरु सक्रियतापूर्वक कार्यक्रम सम्पन्न गर्न खटिएका थिए। धरान डे उत्सवअघि र पछि पनि विभिन्न कन्सर्टहरु निरन्तर आयोजना भइरहेको छ। पुष लागेपछि नै धरानमा रविन एण्ड न्यु रेभुलोसनको कन्सर्ट, बगरकोटमा गायिका शिवानी मोक्तानको कन्सर्ट र एकदेव लिम्बु, अस्मिता अधिकारी र रचना रिमालको मनोरञ्जन धमका कन्सर्ट भइसकेको छ भने मंगलबार साँझ मात्र गायक सविन राईको अन्नपुर्ण साँझ पनि भएको छ। भिडभाड हुने यस्ता कार्यक्रमहरुले नै धरानमा संक्रमण फैलाएको बताइएको छ।

प्रकाशित: २८ पुस २०७८ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App