२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

खोप हिमालतिर, बालबालिका सहरतिर

चिसोले मनाङ र मुस्ताङको खोप अभियान प्रभावित

हिमाली जिल्ला मनाङका किशोरकिशोरीलाई कोरोनाविरुद्ध मोडर्नाको पहिलो खेप खोप लगाउँदै। तस्बिर सौजन्यः बद्री आचार्य

अधिक चिसोका कारण हिमाली जिल्ला मनाङ र मुस्ताङको कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित भएको छ। कोरोनाविरुद्धको खोप लगाउने लक्षित समूहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उक्लिँदा खोप लगाउने समूह भने सहरतिर झरेका छन्।  

अहिले किशोरकिशोरीका लागि सरकारले मोडर्नाको पहिलो खेपको खोप लगाउन थालेको छ। तर, चिसो बढेपछि हिमाली जिल्लाका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौ, चितवन, लगायतका सहरमा झरेका छन्। कात्तिक लागेपछि गृहजिल्ला छाड्न थाल्ने स्थानीयबासी फागुन लागेपछि मात्र उक्लिन थाल्छन्। यो अवधिमा बालबालिकाका लागि सहरमै घुम्ति विद्यालय समेत संचालन गरेर पठनपाठन गराइन्छ।  

मुस्ताङका स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम भण्डारीका अनुसार मुस्ताङको तापक्रम माइनस ८ डिग्रीसम्म झरेको छ। त्यसले गर्दा माथिल्लो क्षेत्रका अधिकांश बासिन्दा जाडो छल्न तल (पोखरा, काठमाडौं) झरेका छन। अभिभावकसँगै किशोरकिशोरी पनि तल झरेपछि उनीहरुका लागि लक्षित खोप लगाउन समस्या भएको उनले बताए।  

मुस्ताङका लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र वारागुँ मुक्तिक्षेत्र गाउँपालिकामा खोप अभियान चल्न नसकेको भण्डारीले जानकारी दिए। ती गाउँपालिकाका विद्यालय चिसो बढेपछि बन्द भएका छन्। ती गाउँपालिकाका अधिकांश बासिन्दा जाडो छल्ल तल झरेका छन्। जाडो छल्न तल झरेका करिब सातसय किशोरकिशोरीका लागि फागुनपछि मात्र अभियान चलाउनुपर्ने उनले बताए। तीनवटा गाउँपालिकामा करिब सात सय बालबालिका छन्।

‘चिसो बढ्न थालेसँगै गत कात्तिकमा अभिभावकसँगै बालबालिका पनि तल झरेका छन्। अब उनीहरु फागुनमा मात्र घर फकिन्छन,’ भण्डारीले भने, ‘फागुनमा घर फर्केपछि मात्र ती बालबालिकालाई खोप लगाउने हो।’ तल बालबालिका विभिन्न जिल्लामा छरिएर बसेको र अहिले बसोबास गरेको जिल्लामा लगाउँदा पनि छुट्ने सम्भावना भएकोले एकैपटक सबैलाई समेट्नेगरि जिल्लामै अभियान चलाउने उनले बताए। 

मोडर्ना खोपको पहिलो डोज १२ देखि १७ वर्षका उमेर समुहका किशोरकिशोरीलाई लगाउन थालिएको छ। यो खोप ३० दिनसम्म मौज्दात राख्न मिल्ने भएकोले दोश्रो डोजका लागि राख्न नमिल्ने उनले बताए। ‘माइनस १५ देखि २५ डिग्रीमा खोप भण्डारण गर्नुपर्छ,’ उनले भने, ‘सबैतिर तापक्रम व्यवस्थापन गर्न मिल्दैन।’  

मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकामा भने यो अभियान चलिरहेको उनले बताए। थासाङ र घरपझोङ गाउँपालिकामा करिब सातसय जना किशोरकिशोरीले यो खोप लगाउनेछन्। ‘अहिले सातसयजनाले खोप लगाउँछन्। त्यत्तिकै संख्याका लक्षित समुह अहिलेका लागि छुटेपनि फागुनमा उनीहरुका लागि अभियान चलाउनुपर्छ,’ भण्डारीले भने। पहिलो डोज लगाएको २८ दिनपछि दोश्रो डोज लगाउनुपर्ने हुँदा त्यो बेला खोप मगाउने उनले बताए।  

मनाङमा पनि चिसोका कारण स्थानीयबासिले घर छाडेपछि माथिल्लो भेगमा खोप अभियान सुरु गर्न सकिएको छैन। हिमाली जिल्लाका माथिल्लो भेगका करिब ७० प्रतिशत बासिन्दा चिसो छल्न तल झर्ने गर्छन्।

मनाङका स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यका अनुसार मनाङका मनाङ ङिस्याङ र नार्पा भूमि गाउँपालिकाका सबै विद्यालय चिसोका कारण बन्द भएका छन्। ती गाउँपालिकाका किशोरकिशोरी अभिभावकसँगै जाडो छल्न तल भरेकोले उनीहरुले खोप लगाउन पाउने छैनन्। दुईवटा गाउँपालिकामा ५० जना किशोरकिशोरी रहेको उनले बताए।  

मनाङकै चामे र नासोँ गाउँपालिकाका बालबालिकालाई भने यो खोप लगाइएको छ। चामेमा ९१ र नासोँमा ८४ जनाले मोडर्नाको पहिलो खेप खोप लगाएका छन्। विद्यालय जाने र नजाने समेत गरेर ती किशोरकिशोरीले खोप लगाएका छन्। ‘अहिले छुटेका गाउँपालिकाका किशोरकिशोरीलाई उनीहरु बसिरहेको जिल्लाकै कुनैपनि ठाउँमा पुगेर लगाउने व्यवस्था मिलाउँछौ,’ उनले भने। दोश्रो खेप चारहप्ता पछि लगाउने भएपनि त्यो बेलासम्म चिसो छल्न तल झरेका गाउँले नफर्किने हुँदा अहिले बसोबास गरिरहेकै जिल्लामा खोप लगाउनुपर्ने उनले बताए।  

‘माइनस १५ देखि २५ डिग्रीमा स्टोर गर्नुपर्छ। सबै जिल्लामा तापक्रम सन्तुलन राख्न सकिन्न। त्यसले गर्दा तापक्रम कम हुन गई आयु पनि घट्छ,’ आचार्यले भने, ‘त्यसैले ३० दिनभित्र सबै खोप लगाइसक्नुपर्ने बाध्यता छ। तर, तल झरेका सबै बालबालिका त्यो बेलासम्म फर्किन भ्याउँदैनन।’ दोश्रो खेपका लागि पनि स्टोर गर्न नमिल्ने भएपछि त्यो बेला फेरि ढुवानी गर्नुपर्ने उनले बताए। मनाङमा अहिले तापक्रम घटेर माइनस १५ डिग्रीसम्म झरेको छ। रातीमा माइनस १५ र दिनमा पनि माइनस ६–७ डिग्रीमा ओर्लिन्छ। ‘अधिक चिसो छ। खोलाको पानी पनि जमेको छ। त्यही भएर यो बेला खोप अभियान चलाउन सहज छैन,’ आचार्यले भने।  

प्रकाशित: ६ पुस २०७८ ०९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App