आरती रिजाल, विद्यालय जाँदै थिइन्। सार्वजनिक सवारीमा विद्यालय जानु उनको दैनिकी थियो। एक दिन विद्यालय जाँदै गर्दा उनले केही असहज महसुस गरिन्। नजिकको बस बिसौनिमा पुगेर झरेकि उनले कसैको आवाज सुनिन्। एक महिलाले उनलाई डाकेर भनिन् सेतो फरिया रातै भए छ नि! उनले आत्तिएर आफूसँग भएको सलले फरिया बाहिरबाट बेरेर घर फर्किइन्।
०००
सुदिप बाबु खुलाल बस्नेत मर्निङ्ग वाकका लागि बाहिर निस्केका थिए। घरभन्दा केही पर पुग्दा एक महिलाबीच बाटोमै मुर्छित अवस्थामा देखे। बेवास्ता गरेर केही मिटर अगाडि बढेका उनले पछाडी फर्केर हेर्दा ति महिलालाई उस्तै अवस्थामा देखे। नजिक पुग्दा महिलाको वास्तविक समस्या थाहा पाए। तत्कालै नजिकको सहज स्थानमा लगि आराम गर्न लगाई घरसम्म पुर्याए।
०००
सुदूरपश्चिमका दान सिंह धामी बाल्यकालदेखि नै परिवारसँग बस्दै आएका छन्। बुबाआमासहित हजुरआमाको उनको परिवार हासी खुसी सबै ठीक चलिरहेको थियो। अचानक उनको हजुरआमा बिरामी परेपछि परिवारको खुसी एकाएक हरायो। उपचारका लागि अस्पताल लगेका उनको हजुरआमालाई पाठेघरको क्यान्सर भएको रहेछ। चिकित्सकको सल्लाह अनुसार पाठेघरको अपरेसनपछि राहत महसुस गरिन्।
०००
महिलासँग सम्बन्धित केही प्रतिनिधिमूलक घटना हुन् यि। यि फरक फरक किसिमका घटनाले आरती, दान र सुदिप बाबुलाई एक ठाउँमा उभ्याई दियो। उनीहरु जस्तै नौ जनाको समूहले सुरु गर्यो ‘निःशुल्क सेनिटरी प्याड वितरण’ अभियान।
उमेरले २५ ननाघेका यि युवाले आफू, आफ्नो परिवार र समाजमा घटेका घटनालाई सिकाइको रुपमा लिँदै ‘युवा गरिब वृद्धहित संरक्षण नेपाल’(युग वृद्ध नेपाल) संस्था मार्फत यो अभियानको सुरुवात गरेँ। यही वर्षको असोज ७ गतेबाट अभियानको सुरु गरेको बताउँछिन्, संयोजक समेत रहेकी आरती रिजाल।
‘भृकुटीमण्डपमा रहेको सार्वजनिक शौचालयमा पाँच सय थान सेनिटरी प्याड राखेर अभियानको सुरु गर्यौ। साथीभाइसँग भएको पैसा जम्मा गरेर हामिले अभियानको सुरु गर्यौ।’ तत्पश्चात् अहिलेसम्म विभिन्न स्थानीय सरकारसँगको सहकार्यमा काम गर्दै आएको उनले सुनाइन्। ‘यो अभियान नेपालका सम्पूर्ण स्थानीय तहमा पुग्नु जरुरी छ। त्यस कारण स्थानीय सरकारसँग जोडिन गयौं।’
व्यक्तिगत रुपमा महिलासँग जोडिएको उक्त समस्या समाधानमा यो संस्थामा महिलाभन्दा पुरुषको सहभागिता बढी रहेको छ। नौ जनाको उनको समूहमा संयोजकसहित दुई जना मात्रै महिला छन् भने बाँकी सात जना पुरुष छन्।
महिलासँग व्यक्तिगत जोडिएको यो अभियानमा पुरुषले पनि किन जोडिनु पर्ने? सह संयोजक दान सिंह धामी भन्छन्, ‘परिवार पूर्ण हुन आमा र बुवा दुई चाहिन्छन्। एक जनाको अस्वस्थ वा एक जनाको अभावमा परिवार अपूरो हुन्छ। विरामी पर्दा आर्थिक व्ययभार सामूहिक रुपम उठाउनुपर्ने हुन्छ। त्यसकारण महिला वा पुरुषभन्दा पनि परिवारका सम्पूर्ण सदस्य स्वस्थ हुनु आवश्यक छ।’
आफैसँग घटेको आफ्नै घटनाबाट यो अभियान प्रति आकर्षित गरेको आरतीको अनुभव छ। ‘मैले जुन समस्या भोगे र विद्यालय जाँदै गर्दा बाटोमै फकिनु पर्यो। त्यो समस्या अरु कसैले व्यहोर्नु नपरोस् भन्ने कुराले घच्घच्यायो र, अभियानमा आर्किषत भएँ।’ उनी भन्छिन्, ‘काठमाडौंमा बस्ने म जत्तिको मान्छेले सेनिटरी प्याडको बारेमा नबुझेर अनि विद्यालयको शौचालयमा सहज रुपले प्याड नपाएर त्यस्तो समस्या भोग्नु पर्यो भने अन्य विकट क्षेत्रका महिलाले महिनावारीको समयमा कस्तो समस्या भोगिरहे होलान्?’
सहर तथा गाउँमा महिला अधिकार र समानताका लागि विभिन्न किसिमका कोठे बैठक बस्ने गरेका छन्। त्यसले केही मात्रामा सहयोग गरेपनि उल्लेख्य मात्रामा परिवर्तन ल्याउन भने सकेको छैन। महिनावारीका समयमा महिलाले विभिन्न किसिमका समस्या भोक्नु परेको छ। ‘सहरी क्षेत्रमा आफ्नो स्वास्थ्य सम्बन्धी केही मात्रामा भएपनि ख्याल गरे पनि गाउँमा त अझै पनि महिलाले अण्डरवेयर समेत लगाउँदैनन्। कतिपय ग्रामीण ठाउँमा त सेनिटरी प्याड भनेको पनि थाहा नपाउने अवस्था छ।’ भावुक हुँदै आरती भन्छिन्, ‘आजका दिनसम्म पनि थाहा छैन महिनावारीका समयमा कुन सामग्रीको प्रयोग गर्नुपर्छ भनेर। जसले गर्दा विभिन्न संक्रमणजन्य रोग लाग्ने गरेको हामीले देख्दै आएका छौ।’
नेपालको संविधानमा मौलिक हकका रुपमा धारा ३८ मा महिलाको हक तोकिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने भनेर सोही धाराको उपधारा ५ मा उल्लेख गरिएको छ। यसका बावजुद पनि कार्यान्वयनमा आउन नसकेकै कारण सरकारलाई नै सहयोग गर्ने उद्देश्यले स्थानीय सरकारसँगको सहकार्यमा अभियान सञ्चालन गर्दै आएको अभियानका सह संयोजक धामी बताउँछन्।
‘स्थानीय सरकारसँगको सहकार्यमा अभियान अगाडि बढाउँदै गइरहेका छौं। पाँच वर्षको कार्यकाल सकिँनै लाग्दा चिनो स्वरुप एक काम गर्नुस भनेर अभियान अगाडि बढाएका छौ। अहिलेसम्म ६÷७ वटा स्थानीय सरकारसँग काम गरि सक्यौ,’ धामी भन्छन्, ‘अहिलेसम्म कुनै पनि गैरसंघ संस्थाबाट किन्ने वा डोनेसन लिएर काम गरेका छैनौ। यो सकेसम्म नगर्ने नै हो।’
अभियानका लक्षित समूह को हुन् त? आरती भन्छिन्, ‘विशेष गरि कर्णाली प्रदेश हो। जुन अहिलेसम्म पनि पिछडिएको प्रदेशको रुपमा चिनिन्छ। जहाँ अहिलेसम्म पनि छाउपडी प्रथा याथवत छ। तर अभियान पूरा नेपाल भर फैलाउने योजना छ। सुरुवात त काठमाडौंबाटै गरेको।’
युवाको काँधमा देशको जिम्मेवारी हुन्छ। त्यही कुरालाई जिम्मेवारी बोध गरेर कामको थालनी गरेको धामीको भनाइ छ। अभियान चलाउन सहज नभएको अनुभव पनि उनको छ। ‘काम गर्न अलि गाह्रो नै छ। यो एक चुनौतिपूर्ण काम हो।’ उनी भन्छन्, ‘अहिले पनि हाम्रो समाजमा महिनावारी भनेको मासिक श्रापको रुपमा लिने गरिएको छ। यसलाई अलि परिवर्तन गराउन खोज्दा चुनौति पूण नै छ।’
धामी भन्छन्, ‘सहज भन्ने चिज कुनै छैन। गाह्रो त गाह्रो छ, तर सहज बनाएर काम गरिरहेका छौ। अभियानलाई पूर्णता दिन निरन्तर अगाडि बढी रहनेछौ। यही हो हाम्रो संकल्प।’
प्रकाशित: २ पुस २०७८ १५:०६ शुक्रबार