३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

‘ल्याण्डफिल साइट’ पस्मराङमा सार्ने निर्णय विरुद्ध स्थानीयको विरोध

पोखरा महानगर घेराउ गरिरहेका स्थानीयलाई ज्ञापन पत्र वाचन गरेर सुनाउँदै वडाध्यक्ष सिम गुरुङ। तस्बिरः नागरिक

पोखराको ल्याण्डफिल साइट पोखरा महानगरपालिका–१६ र २० को बीचमा पर्ने पस्मराङमा सार्ने निर्णयबिरुद्ध स्थानीयबासी आन्दोलित भएका छन्। महानगरको उत्तरपूर्वी क्षेत्र पस्मराङमा ल्याण्डफिल साइट सार्नु घातक हुने भन्दै उनीहरुले आन्दोलन थालेका हुन्।  

पोखरा–२०का वडाध्यक्ष सिम गुरुङको नेतृत्वमा आन्दोलित स्थानीयबासीले बुधबार महानगरपालिका घेर्नुका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्रपनि बुझाएका छन्। आन्दोलित स्थानीयले पस्मराङमा कुनैपनि हालतमा ल्याण्डफिल साइट सार्न नदिने अडान राखेका छन्। उनीहरुले ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। जबरजस्ती ल्याण्डफिल साइट पस्मराङमा सार्ने प्रयास गरे जस्तोसुकै आन्दोलन गर्ने उनीहरुको चेतावनी छ।

स्थानीयले पस्मराङ आफूहरुको खानेपानीको मुहान भएकाले त्यहाँ ल्याण्डफिल साइट सार्नु घातक हुने बताएका छन्। ल्याण्डफिल साइटका कारण पानीको मुहान दुषित हुने र स्थानीय सोहि पानी पिउन बाध्य हुने स्थिति आउने उनीहरुको भनाई छ। त्यति मात्र होइन स्थानीयले पस्मराङबाट नजिकका क्षेत्र अर्मला, मौजा, आँटीघरलगायतका क्षेत्र पर्यटकीय गन्तव्य भएको भन्दै ल्याण्डफिल साइटको दुर्गन्ध त्यहाँ पुग्दा पर्यटन क्षेत्र ध्वस्त हुने उनीहरुको बुझाई छ।

स्थानीय हिमलाल आचार्यले भने, ‘फोहोर तलबाट माथि लैजाने हो कि माथिबाट तल झार्ने हो? यहाँ त तलबाट माथि लैजाने प्रयास भइरहेको छ, यो गलत हो।’ उनले तत्काल महानगरको निर्णय खारेज हुनुपर्ने बताए।

वडाध्यक्ष सिम गुरुङ पनि स्थानीयको माग जायज भएको बताउँछन्। महानगरले वडालाई सँधै हेपेको भन्दै उनले भने, ‘हिजो छाडा चौपायाँ पनि हाम्रै वडामा लगेर फालियो, त्यहाँ हाडखोरदेखि छालासम्म   व्यवस्थापन नहुँदा स्थानीयले दुषित पानी पिउन बाध्य भए, फोहोरमैला फाल्न फेरि ल्याण्डफिल साइट लगिदैछ, यो गलत हो।’ पस्मराङमा ल्याण्डफिल साइट सार्नु कुनैपनि हालतमा उपयुक्त नहुने उनको दाबी छ। 

‘यो ढोकाबाट नभई झ्यालबाट छिराइएको प्रस्ताव हो, कुनैपनि हालतमा मान्य हुँदैन,’ उनले भने। वडाध्यक्ष गुरुङले पस्मराङमा ल्याण्डफिल साइट कुनैपनि हालतमा सार्न नदिने आश्वासन दिए। ‘बरु म गोली खान तयार छु, टाउको फुटाउन परे टाउको फुटाउन पनि तयार छु, तर पस्मराङमा ल्याण्डफिल साइट सार्न कुनैपनि हालतमा दिन्नँ,’ उनले भने। उनले जबरजस्ती बलमिच्याईं गरेर ल्याण्डफिल साइट पस्मराङमा सारे महानगर ठप्प पार्ने चेतावनी दिए।

सोहि वडाका सदस्य भीमप्रसाद बाँस्तोलाले पस्मराङ क्षेत्रमा १५ वटा खानेपानी आयोजना रहेको भन्दै त्यसलाई दुषित बनाउनेगरी ल्याण्डफिल साइट कुनैपनि हालतमा सार्न नदिने अडान व्यक्त गरे। उनका अनुसार पस्मराङ भौगोलिक हिसाबले पनि ल्याण्डफिल साइटका लागि उपयुक्त छैन। ‘यो अति नै कमजोर भूमि हो, त्यहाँ बेलाबेला पहिरो जाने गरेको छ, त्यसको ठ्याक्कै तल बस्ती छ, त्यसैले पस्मराङमा ल्याण्डफिल साइट बनाउनु उपयुक्त हुँदैन,’ उनले भने।

स्थानीय योगेन्द्रसिंह थापाले ल्याण्डफिल साइट सार्न भनेर जानेलाई पस्मराङ छिर्न नदिने चेतावनी दिए। ‘ल्याण्डफिल साइट बनाउने भनेर जो जान्छ त्यसलाई बाँदर लखेटेझैं लखेट्छौ,’ उनले भने। 

पोखरा महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले स्थानीयको सहमति बिना पस्मराङमा ल्याण्डफिल साइट नसारिने बताईन्। महानगर घेर्न पुगेका स्थानीयलाई आश्वास्त पार्दै उनले भनिन्, ‘महानगर स्थानियको भावना विपरित जान सक्दैन, स्थानीयले पस्मराङमा ल्याण्डफिल साइट सार्न हुँदैन भन्छन् भने त्यहाँ ल्याण्डफिल सार्दैनौं, बरु अर्को विकल्प खोज्छौं।’

ज्ञापन पत्र बुझ्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताको भावनाको कदर गर्दै अगाडि बढ्ने बताए। उनले ल्याण्डफिल साइट भन्ने वित्तिकै लथालिङ्ग अवस्थाको फोहोरमैलाको मात्रै कल्पना नगर्न आग्रह गर्दै यसलाई सुरक्षित प्रकारको अत्याधुनिक बनाइने भएकाले सहयोग गर्न आग्रह गरेका थिए।

महानगरपालिकाको गत शुक्रबार बसेको कार्यपालिका बैठकले हालको पोखरा–१४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइट पस्मराङमा सार्ने निर्णय गरेको थियो । हालको ल्याण्डफिल साइट अन्तर्राष्ट्रिय हवाई उडान रुटमा पर्ने भएपछि त्यसलाई सार्न महानगरले वडा नम्बर–१६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला र प्राविधिक सम्मिलित अध्ययन समिति बनाएको थियो। सोहि सिफारिस समितिको सिफारिस अनुसार ल्याण्डफिल साइट सार्ने निर्णय भएपछि स्थानियबासी आन्दोलित भएका हुन्।

प्रकाशित: १० कार्तिक २०७८ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App