५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पशुपंछी उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल बन्दै

पोखरामा निर्माण गरिन लागेको अत्याधुनिक भेटेरिनरी अस्पतालको शिलान्यास गर्दै भूमि व्यवस्था कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढा । तस्बिरः नागरिक

पशुपंछीको उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । घाईते तथा विरामी पशुपंछीको उपचार गर्ने उद्देश्यले कास्की र तनहुँ गरी प्रदेशका २ जिल्लामा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्नेगरी बजेट छुट्टिएको थियो । त्यही अनुसार पोखरामा अस्पताल निर्माण शुरु गरिएको हो ।

पोखरा महानगरपालिका– १२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा निर्माण गर्न लागिएको सो नमूना अस्पतालको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिवी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरे ।  

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको पाँच करोड ५४ लाख ४७ हजार रुपैयाँ लागतमा अत्याधुनिक अस्पताल निर्माण गरिने पशु सेवा विज्ञ केन्द्र कास्कीले जनाएको छ । पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं बरिष्ठ पशु विकास अधिकृत डा.शोभा शर्माका अनुसार अस्पताल सञ्चालनका लागि सुविधासम्पन्न साढेदुई तलाको २ वटा भवन बनाइनेछ । दुईवर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी अस्पताल निर्माणका लागि सिद्धबाबा÷फुल्जोर जेभिसँग यहि साउन ११ गते सम्झौता भएको उनले जानकारी दिइन् । उनले आगामी २०८० साल साउन १० गते भित्र अस्पताल भवन निर्माण सम्पन्न हुने बताइन् ।

पशु सेवा विज्ञ केन्द्रका अनुसार अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशाला लगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । कार्यालय प्रमुख शर्माले पशुपंछी, माछा, घरपालुवा जनावरको उपचारका लागिपनि छुट्टाछुटटै कक्षमा उपचार गर्ने व्यवस्था हुने जानकारी दिइन् ।

अस्पतालमा पहिलो चरणमा दीवाकालीन सेवा दिइनेछ । जसका लागि किसानले उपचारका लागि पशु तथा पंछी अस्पतालमा लिएर आउनु पर्नेछ । ‘यसअघि पनि उपचार गर्ने गरिन्थ्यो, डा.शर्माले भनिन्,‘तर यो अस्पताल बनेपछि विशिष्ट सेवा दिइनेछ ।’ ‘शुरुमा दीवाकालीन सेवा दिइएपनि भविष्यमा दीवा र रात्रीकालीन दुवै सेवा दिने लक्ष्य रहेको छ,’ उनले भनिन् । तर त्यसका लागि मानव श्रोत साधनको ब्यबस्थापन गर्न आवश्यक हुने उनले बताइन् । उनले भनिन, ‘सेवासँगै श्रोत साधनसम्पन्न बनाउनुपर्छ, तब मात्र सेवा प्रभावकारी हुन्छ ।’  

हाल दुईजना पशु चिकित्सकको दरबन्दी र दुईजना पशु सेवा अधिकृतको दरबन्दी गरी ४ जनाको मात्र दरबन्दी भएकाले यो अस्पताल सञ्चालनका लागि अपुग हुने उनले बताइन् । प्रयोगशालामा खटिने प्राविधिक छुट्टै चाहिने मात्र नभई सेवाग्राहीको चाप अनुसार चिकित्सक र अन्य प्राविधिकपनि थप्नुपर्ने हुनसक्ने उनको भनाई छ । यसबारे मन्त्रालयले सोंचिरहेको भन्ने जवाफ दिएकाले आफूहरु आशाबादी भएको उनले बताइन् ।

शिलान्यास कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि, सहकारी तथा गरिवी निवारणमन्त्री चन्द्रबहादुर बुढाले पशु पंछीको उपचारका लागि अत्याधुनिक अस्पताल बन्नु प्रदेशका लागि ऐतिहासिक र दीर्घकालिन महत्वको कार्य भएको बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण कृषि क्षेत्रमा सरकारले लिएका लक्ष्य तथा उद्देश्यहरु हासिल गर्न कठिनाई भएको बताउँदै उनले सबैले मिलेर यो चूनौतीको सामना गर्नुपर्ने बताए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.मनबहादुर पुनले मोडल अस्पताल लाइभस्टकका क्षेत्रमा कोशेढं्गा सावित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित: २५ श्रावण २०७८ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App