२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा कोरोना संक्रमणको अवस्थाः शहरमा नियन्त्रणोन्मुख, गाउँमा बढेको बढ्यै

शहरी क्षेत्रमा नियन्त्रण उन्मुख देखिएको कोरोना संक्रमण अहिले ताप्लेजुङका गाउँ–गाउँमा भने ब्यापक भएको छ। कुनै बेला सदरमुकाम फुङ्लिङ नगर क्षेत्रमा संक्रमणको दर अचाक्ली भएको अवस्था अहिले ठीक उल्टो अवस्थामा रहेको पाइएको हो। सबैभन्दा बढी कोरोना संक्रमित अहिले आठराइ त्रिबेणी गाउँपालिकामा रहेका छन्। त्यहाँ अहिले १ सय ७१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।  

जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार २ सय ५३ जनामा संक्रमण देखिएको आठराइ त्रिबेणीमा ८२ जना मात्र संक्रमणमुक्त भएका छन्। अरु पालिकामा संक्रमण दर उच्च हुँदा पनि निकै लामो समयसम्म सुरक्षित रहेका मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकामा पनि संक्रमण दर निकै ठूलो मात्रामा रहेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको बिबरणमा उल्लेख गरिएको छ। स्वास्थ्य कार्यालयले दिएको बिबरण अनुसार मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकामा क्रमशः ५९ र १६ जना संक्रमित रहेका छन्। ८५ जना संक्रमित रहेको मिक्वाखोलामा २६ जना र ४० जना संक्रमित भएको फक्ताङ्लुङमा २६ जना संक्रमणमुक्त भएका छन्।  

जिल्लाभरमै सबैभन्दा कम संक्रमित पाथीभरा याङ्वरकमा देखिएका छन्। ३७ जनामा संक्रमण देखिएको त्यहाँ ३६ जना संक्रमणमुक्त भइ १ जना मात्र सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। मैवाखोला गाउँपालिकामा ३२ जना सक्रिय संक्रमित रहेका छन्। ५३ जनामा संक्रमण देखिएको त्यहाँ ५१ जना संक्रमणमुक्त भएका हुन्। ९२ जनामा संक्रमण देखिएको मेरिङ्देन गाउँपालिकामा ५४ जना संक्रमणमुक्त हुँदा ३८ जना अझै सक्रिय संक्रमित रहेका छन्। १ सय ३ जनामा संक्रमण देखिएको सिरिजंगा गाउँपालिमामा ५६ जना संक्रमणमुक्त हुँदा ४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सिदिङ्वा गाउँपालिकामा भने ८ जना संक्रमित रहेका छन्। १४ जनामा संक्रमण देखिएको त्यहाँ ६ जना संक्रमणमुक्त भएका छन्।  

३६ प्रतिशत अझै संक्रमित  

ताप्लेजुङमा कूल संक्रमित संख्याको आधारमा अहिले पनि करिव ३६ प्रतिशत सक्रिय संक्रमित रहेको पाइएको छ। कूल १ हजार १ सय ७३ जना संक्रमित भएकोमा ४ सय १६ जना अझै सक्रिय संक्रमित रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ। यस आधारमा कूल संक्रमित मध्ये ७ सय ५७ जना संक्रमणमुक्त भएका छन्। तथ्याङ्क अनुसार करिव ६२.५ प्रतिशत संक्रमणमुक्त भएका छन्।  

संक्रमणबाट थप एकको मृत्यु

ताप्लेजुङमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भइ ताप्लेजुङ जिल्ला अस्पतालको कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको थप उपचारका लागि झापातर्फ लैजाने क्रममा मृत्यु भएको हो। योसहित ताप्लेजुङमा कोरोना संक्रमणको दोस्रो भेरिएन्ट सुरु भएयता मृत्यु हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य कार्यालयले यसअघि नै १८ जनाको मृत्यु भइसकेको बिबरण सार्वजनिक गरिसकेको छ। तर जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको बिबरणमा भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ मात्र रहेको उल्लेख छ। 

कूल संक्रमित संख्यालाई आधार मान्ने हो भने ताप्लेजुङमा १.६१ प्रतिशत मृत्युदर देखिएको छ।

प्रकाशित: १९ असार २०७८ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App