५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

शान्तिपूर्ण प्रदर्शनप्रति कठोर बन्दै सरकार

शान्तिपूर्ण तबरले आफ्ना माग राख्न र सरकारलाई जिम्मेवार बनाउन सडकमा निस्किएका युवाप्रति सरकार कठोर बन्दै गएको छ। कोरोना भाइरस रोकथाममा सरकारले गम्भीरता नदेखाएको भन्दै दबाब दिन शुक्रबार बालुबाटार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवाहरूप्रति सरकारले दमनको नीति लिएको हो।  

शान्तिपूर्ण प्रदर्शनका लागि बालुवाटार जाँदै गर्दा ‘इनफ इज इनफ’का अभियन्तालाई प्रहरीले बाटामै रोकेर नियन्त्रणमा लियो। सो क्रममा आधा दर्जन युवालाई प्रहरीले बाटामै समातेर महानगरीय प्रहरी वृत्त महाराजगन्ज, काठमाडौं प्रहरी परिसर, लैनचौर वृत्त, रानीपोखरीलगायत कार्यालय लगेको छ। पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना, इनफ इज इनफका पुकार बम, शशीविक्रम कार्की, सुदन गुरुङ, वृत्तान्त खनाल, नकुल बुढाथोकी, आलोक सुवेदीलगायत छन्। त्यस्तै, ज्ञानेन्द्र शाही र उनीसँगै बालुवाटार पुगेका अन्य व्यक्ति पनि पक्राउ परेका छन्।  

साझा पार्टीका नेता रवीन्द्र मिश्रले कोरोना महामारीको बेला जायज माग राखेर सडकमा निस्किएका युवालाई प्रहरीले धरपकड गर्नु गैरन्यायिक तथा अधिनायकवादी कदम रहेको बताए। ‘युवाले माग गरेका विषय जायज नै छन्,’ उनले भने, ‘त्यो काम सरकारले आफैं बुझेर गर्नुपर्ने तर सरकारले दायित्वबोध गर्न नसकेपछि युवा सडकमा निस्किए, तैपनि सरकारले हेप्यो।’  

युवाका माग पूरा गर्ने लिखित सम्झौता गरिसकेका विषय कार्यान्वयन गर्नुको साटो सरकारले झन् कठोर व्यवहार देखाएपछि उनीहरू यसरी सडकमा निस्किएका हुन्। सरकारलाई जिम्मेवार बनाउन ‘इनफ इज इनफ’का अभियन्ताले दुई महिनादेखि शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन्। उनीहरू सरकारले विधिको शासन भुलेको र गैरजिम्मेवारीपन देखाएको भन्दै खबरदारी गर्न सडकमा ओर्लिएको बताउँदै आएका छन्। उनीहरूका माग सम्बोधनमा भने सरकारले चासो देखाएको छैन।  

बुधबार सिंहदरबारस्थित गृह र अर्थ मन्त्रालय जाँदै गर्दा आधा दर्शन युवालाई प्रहरीले सिंहदरबार गेटबाटै नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई पुलिस अफिसर्स क्लब भृकुटीमण्डप लगेको थियो।

अभियानका अभियन्ता पुकार बम, समुन्द्र केसी, प्रमेश श्रेष्ठलगायतलाई घिसार्दै गाडीबाट सडकमा ओरालेको थियो। मानव अधिकार हनन भएको भन्दै उनीहरूले बिहीबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका थिए। युवाले प्रहरीले गरेको व्यवहारको निन्दा उजुरीमा गरेका छन्।  

अभियानका युवाले अर्थमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिवलगायतविरुद्ध कोरोना महामारीको बेलामा पनि आर्थिक अनियमितता गरेको भन्दै आयोगमा उजुरी दिइसकेका छन्।  

विवेकशील दलका नेता मिलन पाण्डेले प्रहरीको व्यवहार दमनपूर्ण रहेको बताए। उनले सामान्य माग लिएर सरकारको ढोकानजिक पुगेका आम नागरिकलाई प्रहरीले अमानवीय र अभद्र व्यवहार गरेको जानकारी दिए। उनले भने, ‘सरकारले सम्झौता गरेको छ, तर ती सम्झौता पूरा गर्न खोज्दैन, सामान्य कामका लागि पनि कसरत गर्नुपरेको अवस्था छ, यो सरकारले युवालाई दुःख दिइरहेको छ।’

सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै १३ दिनदेखि अभियानका अभियन्ता ईः वसन्तपुरमा अनशन बसेका छन्। उनले सरकारले माग पूरा नगरेसम्म अनशन नतोड्ने अडान लिँदै आएका छन्।

प्रकाशित: १७ श्रावण २०७७ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App