८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

श्रीपति गुठीले माइती नेपाललाई सम्मान गर्ने

पोखराको श्रीपति गुठीले माईती नेपाललाई सम्मान गर्ने भएको छ । स्वर्गिय समाजसेवी श्रीपति कोइरालाको नाममा स्थापित श्रीपति गुठीले स्थापना गरेको ‘श्रीपति समाजसेवा पुरस्कार '२०७७'  बाट माइती नेपाललाई सम्मान गरिने भएको हो । चेलीबेटी बेचबिखनविरुद्ध आवाजसँगै उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै माइती नेपाललाई पुरस्कृत गर्ने निर्णय गरिएको शनिबार पोखरामा आयोजित घोषणा सभामा श्रीपति कोइराला गुठीका अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए ।

यसअघि विभिन्न विधामा श्रीपति विद्या पदक र शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको श्रीपति गुठीले यसै वर्ष श्रीपति समाजसेवा पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ भने श्रीपति समाजसेवा पदकसमेत प्रदान गरिने गुठीले जनाएको छ । मानवीय विपदमा उद्धार, राहत, सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र, विज्ञान प्रविधि, सामाजिक जागरण, सामुदायिक विकास क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिने गुठीका अध्यक्ष कोइरालाले बताए ।

श्रीपति जन्मजयन्तीको दिन असार २७ गते घोषणा गरिएपनि गुठीको साधारणसभाको अवसरमा पुरस्कार प्रदान गरिने अध्यक्ष कोइरालाले बताए । यसअघि श्रीपति जन्मजयन्तीकै दिन पुरस्कार प्रदान गरिदै आएपनि यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण साधारणसभाको अवसरमा प्रदान गर्ने निर्णय गरिएको उनले प्रष्ट्याए ।

त्यस्तै गुठीले विगतका वर्षहरुमा प्रदान गर्दै आएको श्रीपति विद्या पदक तथा छात्रवृत्तिलाई पनि निरन्तरता दिने जनाएको छ । छात्रवृत्तिलगायत विद्या पदक पनि साधारण सभाकै अवसरमा प्रदान गरिने अध्यक्ष सचिव नवराज कोइरालाले जानकारी दिए ।

१८६४ साल असार २७ गते जन्मिई १९२६ साल  सालमा स्वर्गिय भएका श्रीपति कोइरालाको शनिबार २१३ औं जन्मजयन्ती सामाजिक दूरी कायम गर्दै शालिकमा माल्यार्पण गरेर मनाइएको थियो ।

प्रकाशित: २७ असार २०७७ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App