२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

राम्रो उपचार र हेरचाह हुन नसकेको अस्पतालको स्वीकारोक्ति, ५ लाख दिने प्रदेश सरकारको घोषणा

राजु सदा मृत्यु प्रकरण: ‘कोभिड अस्पतालमा जेनरल अस्पताल जस्तै उपचार सम्भव छैन’

धनुषाको हंसपुर नगरपालिका—७ प्रसाहीका राजु सदाको मृत्यु प्रि—आइशोलेसन कक्षमा राम्रो उपचार र हेरचाह हुन नसकेको अस्पतालले स्वीकार गरेको छ। जनकपुरस्थित कोभिड अस्पतालको प्रि—आइसोलेसन कक्षमा कोभिड –१९ को रिपोर्ट नआउँदै सदाको मृत्यु भएको थियो।  

सम्भवतः मस्तष्कि ज्वरो (मेनिङ्गो इनसेफेलाइटिस) को कारण राजुको मृत्यु भएको हुनसक्ने भन्दै अस्पतालले कोरोनाको रिपोर्ट नआउन्जेल स्वास्थ्यकर्मीमा कोरोनाको भय रहेकाले समान्य अवस्था जस्तै उपचार हुन नसकेको कोभिड अस्पताल धनुषाका संयोजक डा. जामुनप्रसाद सिंहले बताए।  

‘कोभिड हस्पिटलमा स्वास्थ्यकर्मीमा अझै हेजिटेसन छ। १० पटक प्रेसर जाँच गर्न भन्दा ४ पटक मात्र जाँच गर्छन्। यहाँ मात्र नभएर विश्वभरी यस्तै छ। हामी रातारात परिवर्तन समेत गर्न सक्दैनौ। स्वास्थ्यकर्मीबाट एकाएक डर निकालेर नन कोभिडजस्तै विरामीलाई उपचार गर्न सम्भव छैन्। हाम्रो कमजोरी स्वीकार गर्छौँ,’ उनले भने, ‘जेनरल हस्पिटलजस्तो उपचार र हेरचाह गर्ने हामी प्रयास गर्दै छौँ तर सकिरहेको छैनौ।

स्रोत साधन अभावले समेत समस्या भएको हो। एसी चलाएर मात्र स्टाफ दिनभरी पिपिइ लगाएर बस्न सक्छ। त्यो यहाँ छैन्।’

उपचार अभावमा छटपटाएरै राजुको मृत्यु भएको विभिन्न संचारमाध्यममा समाचार आएपछि प्रेस विज्ञप्ति जारी गर्दै उनले त्यसअवधिमा विभिन्न चरणमा उपचार समेत भएको दावी गरेका छन्।  

‘विरामीको मानसिक अवस्था राम्रो नभएकाले फिजिसियन तथा मनोरोग विशेषज्ञ दुबैलाई सुरुमै देखाइएको थियो। मेडिकल चेकजाँच तथा विभिन्न ल्याब टेष्टको रिपोर्ट हेरी निजको डयाइगनोसिस मेनिंगोइनसेफलाइटिस अनुसार उपचार गरिदै आएको थियो,’ विज्ञप्तीमा उल्लेख छ।  

डा.सिंहका अनुसार शुरुवाती दिनमा राजुमा दिसा पात्लो हुने, वान्ता आउने लगायतका कोरोसँग मिल्दो लक्षण देखिएको थियो। ‘रिपोर्ट छिटो पठाइदिन राष्ट्रिय जनस्वास्थय प्रयोगशाला र स्वास्थ्य मन्त्रालयलाई हामीले पत्राचार समेत गरेका थियौँ। तर जेठ २९ गते स्वाब लिएको उनको असार ८ गते रिपोर्ट आयो,’ ‘डा.सिंहले भने ‘त्यो बीचमा उनको रगतको ४० किसीमको कम्पयुटराइज जाँच भयो तर इनसेफलाइटिस बाहेक सबै नर्मल देखियो। भारतबाटै आएकाले उनलाई पनि कतैबाट सरेको होलान भनेर हामीले अनुमान गर्यौँ।’  

राजुलाई इन्सेफलाइटिसको लक्षण देखिएको विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र समाजिक विकास मन्त्रालयलाई पहिल्यै बताइसकेको उनले बताए। कोरोना परीक्षणको रिपोर्टमा ढिलाई भएका कारण थप जाँच र उपचारमा कठिनाइ भएको उनले बताए।  

‘१ साता पहिले हामीलाई नन कोभिड विरामी रहेको थाहा भएको भए हामी भेन्टिलेटरमा राख्थ्यौ वा बाहिर बाहिर गएर उनको परिवारले उपचार गराउथे,’ उनले थपे, ‘१० दिनपछि रिपोर्ट आएपछि हामीले तुरन्त राजुलाई इमेरजेन्सीमा भर्ना गर्न पठायौँ। किनकी कोभिड भन्दा नन कोभिडमा उपचारको व्यवस्था राम्रो हुन्छ। तर रिपोर्ट आउँदासम्म उनको ब्रेन काम गर्न छोडिसकेको थियो।’  यो रोगमा विरामीको चेत अवस्थमा कम हुने, छटपटाउने बाउडिने जस्ता लक्षण हप्तौसम्म रहने तथ्य प्रस्तुत गर्दै उनले विरामीको उपचारमा अस्पतालकै वरिष्ठ चिकित्सकको नेतृत्वमा तीन जना विशेषज्ञ फिजिसियन चिकित्सक समेत लागेको दावी गरेका छन्।  

उनका असार ६ गते राति कन्सलटेन्ट मिटिंग गरी उपलब्ध स्रोत साधनको उपयोग गरी राजुको उपचार भएको थियो।  

‘विरामीको अवसथा चिन्ताजनक रहेको , बेडमा समेत राख्न गाह्रो भैरहरेको जानकारी समबन्धीत विभागहरु तथा व्यक्तिलाई दिइएको थियो। उक्त बिरामीको पिसिआर टेष्ट रिपोर्ट असार ८ गते विहान आएको र रिपोर्ट नेगेटिभ आएपछि निजलाई यसै अस्पतालको इमेरजेन्सी विभागमा सिफ्टग री लेभेल अफ केयर बढाइएको थियो,’ विज्ञप्तीमा दावी गरिएको छ।  

यो रोगेको खास कुनै उपचार नभएको र लक्षण अनुसार उपचार मात्र हुने भएको डा. सिंहको भनाइ छ। ‘यो महिनामा छिमेकी राष्ट्रको उत्तरी विहारमा यो रोग धेरै हुने गरेको पाइएको छ। लामखुटेको टोकाइबाट रोग सर्ने गरेको छ र निज विरामी समेत उतैबाट आएकाले उक्त रोगको आशंका थप बलियो बनाइएको जनाउँछौँ।’  

राहत स्वारुप ५ लाख दिने प्रदेश सरकारको घोषणा

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले घटनालाई गम्भीर रुपमा लिएको बताउँदै तत्काल मृतक राजुको परिवारलाई ५ लाख रुपैँया दिने निर्णय गरेको छ। शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले दोषी देखिने जोकोहीलाई कार्वाही गर्ने प्रतिबद्धता समेत जनाएको छ। यसअघि घटनाको छानबिन गर्न सामाजिक विकास मन्त्रालयले बिहीबार तीन सदस्य छानबिन समिति गठन गरेको थियो।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा उक्त छानबिन समिति गठन गरिएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिचन्द्र साहको नेतृत्वमा गठन गरिएको छानबिन समितिमा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा प्रमुख नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान सदस्य रहेका छन् । समितिलाई घटनाको छानबिन गर्न सात दिनको म्याद दिइएको छ ।

प्रकाशित: १२ असार २०७७ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App