२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

देशभर आंशिकदेखि सामान्य बदली हुने

मनसुनी वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

पूर्वी भूभाग हुँदै जुन १२ (गत जेठ ३०) गते प्रवेश गरेको मनसुन सक्रिय भएसँगै  प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन्। उनका अनुसार ५० मिलीमिटरसम्मको वर्षालाई हल्कादेखि मध्यम वर्षा र ५० मिलीमिटरदेखि माथिको वर्षालाई  भारी वर्षा भनिन्छ।  

मनसुन सक्रिय भएकाले अबको केही दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको बताइएको छ। हाल देशका प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली र प्रदेश २, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा सामान्य बदली रहनुको साथै प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।  सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव आठ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव छ डिग्री सेल्सियस छ।

प्रकाशित: ४ असार २०७७ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App