२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

गाउँ फर्कनेलाई सरोकारवालाको सुझाव : क्वारेन्टाइनको सर्त प्रभावकारी पालना गर

ताप्लेजुङ- लकडाउनका कारण उपत्यकासहित मुलुकका बिभिन्न स्थानमा अड्किएका नागरिकलाई धमाधम आ–आफ्ना जिल्ला फर्काइदैं गर्दा सरोकारवालाले भने फर्किएका नागरिकलाई सर्त पालना गरेर न्यूनतम १४ दिन होम क्वारेन्टाइनमा बस्न सुझाएका छन् ।

ताप्लेजुङबाट २०५६ सालको निर्वाचनबाट प्रतिनिधिसभाका सदस्य छानिएका पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वाले लक डाउनकै बीच जिल्ला भित्रिएकाहरुलाई पूरापूर क्वारेन्टाइनको सर्त मानेर सुरक्षित बसिदिन सल्लाह दिएका छन् । उनले क्वारेन्टाइनको अनुशासन पालना गर्दै परिवार, आफन्त र साथीभाईसंग कम्तिमा १४ दिन भेटघाट नगरिदिन आग्रह समेत गरेका छन् । जिल्लामा पर्याप्त मात्रामा क्वारेन्टाइन र परीक्षण सामग्री नभएको अवस्थामा होम क्वारेन्टाइनका सर्त अनिवार्य पालना गर्न उनको सुझाव छ ।

नेपाली काँग्रेसका युवा नेता डम्बर लङ्वाले आफ्नो, आफ्नो परिवार, जिल्ला र देशबासीकै हितका लागि क्वारेन्टाइन बस्नु अनिवार्य सर्त भएकोले घर फर्किएकाहरुलाई होम क्वारेन्टाइनको सर्त पूर्ण रुपमा पालना गर्न सुझाव दिएका छन् । पत्रकार महासंघ ताप्लेजुङका सहसचिव केशव आचार्यले सर्तलाई प्रभावकारी कार्यान्वयन नगर्ने हो भने होम क्वारेन्टाइनको अर्थ नहुने भन्दै यसमा सम्बन्धित नागरिकले बिचार पुर्‍याउनुपर्ने बताएका छन् ।

होम क्वारेन्टाइन उल्लंघन गर्ने सम्भावना बढी हुने भएकोले यसमा स्थानीय सरकार र स्थानीय प्रशासन अरु बढी चनाखो हुनुपर्ने उनको तर्क छ । फुङ्लिङ नगरपालिकाका कर्मचारी कमला गौतमले आफू र आफ्ना लागि आफैं सुरक्षित हुने हो भने अहिले जिल्ला भित्रिएका नागरिकले कम्तिमा १४ दिन आफ्ना परिवारका सदस्य, आफन्त र छिमेकी कसैसंग भेटघाट र हिड्डुल गर्न नहुने बताएकी छन् ।

अर्गानिक गाउँले भाईको नामबाट फेसबुकमा लेखिएको छ ‘यो बेला गाउँ फर्कनेहरुले अनिवार्य क्वारेन्टाईनमा बस्नु पर्छ, तपाईँको सहयोगले ठूलो घाटा हुने सम्भावना रोक्छ’ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले यो बेला जिल्ला फर्किएका आम नागरिकलाई अनिवार्य क्वारेन्टाइनको सर्त मानेर यसको प्रभावकारी उपयोग गर्न सल्लाह दिएका छन् ।

अहिले सम्म संक्रमणको जोखिम नभएका जिल्लाहरुमा जोखिमका संकेत देखिए त्यसको असरको पहिलो कारक आफू हुने भएकोले क्वारेन्टाइनका सर्त पूर्ण रुपमा पालना गर्न उनले जिल्ला भित्रिएका नागरिकलाई आग्रह गरेका छन् ।

 

प्रकाशित: १३ वैशाख २०७७ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App