४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

चौंरीलाई आहारा अभाव

पाँचथरको फालोटमा चराउन लगिएका चौंरी । फाईल तस्बिर :गिरिराज/नागरिक

पाँचथर– प्रजनन(सन्तान उत्पादन) हुने बेलामा जिल्लाका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीलाई आहाराको अभाव भएको छ। भारतसँग सीमा जोडिएका उच्च पहाडी क्षेत्रमा पालिएका चौरीका लागि दैनिक दिइने आहारा नहुँदा समस्या भएको हो।

चौरी पालकहरुका अनुसार सन्तान उत्पादन गर्ने बेलामा चौरीका लागि दाना अभाव भएको हो। जिल्लाको फालेलुङ र याङ्वरक गाउँपालिकाका विभिन्न ठाँउमा पालिएका चौरीका लागि आहाराको अभाव भएको जानकारी दिइएको छ। उच्च पहाडी सीमावर्ती क्षेत्रमा रहेका गोठमा नजिकको भारतीय बजारबाट आहार ल्याएर खुवाउने गरिन्थ्यो। फालेलुङको फालौटसम्म भारतीय गाडीहरुले आहारा आपूर्ती गर्थे भने याङवरकाका विभिन्न ठाँउका चौरी गोठबाट नजिकको भारतीय बजारबाट आहार ल्याइन्थ्यो।

चौरी पालकका अनुसार चौरीलाई दिने दाना, नुन, सर्वोत्तम आहाराको अभाव भएको हो। ‘भारतीय व्यापारीहरुले यतिवेला आहार उधारोमा दिन्थे। पछि उनीहरुलाई हामी घ्यू दिन्थ्यौँ। अहिले सिमाना बन्द छ। चौंरीलाई दिने आहारा सकिएर समस्या भयो’ फालेलुङको फालोटका गोठ सञ्चालक चन्द्रलाल नेपालले भने ‘चौरीले सन्तान उत्पादन गर्ने बेला बढि नै आहारा खुवाउनु पर्छ। यहि बेला आहारको अभाव भयो, ल्याउने ठाँउ पनि छैन।’

फालेलुङमा मात्र २१ चौरी गोठ छन्। यसका अलवा गाई, भेडी गोठहरु पनि रहेका छन्। यस्तै १० हारहारीमा याङवरक गाउँपालिमा चौंरी गोठ रहेका छन्। फाल्गुनदेखि जेठसम्म मुख्य सन्तान उत्पादन हुने अवधि हो। यतिवेला दानापानीको महत्पूर्ण समय भएको नेपालले बताए।

फालेलुङमा ६ सय र याङवरकमा ३ सयको हारहारीमा चौरी रहेको बताइएको छ। नेपालकै बाटो भएर गोठसम्म दाना लैजान सक्ने अवस्था छैन। ‘चौरी पालकहरु सारै पिरमा पर्यौ। मुख्य चौरीजन्य उत्पादनको सिजन सुरु हुँदै गर्दा आहाराको अभाव छ। नेपालबाट ल्याउन पनि लकडाउन छ। यतिबेला हामीसँग पैसा पनि हुदैन। भारतीय व्यापारीले बाँकी (उधारो)मा दिन्थे। पछि घ्यू, छुर्पि पुर्‍याउथ्यौ’ चारराते भन्ने ठाँउका अर्का चौंरीपालक जंग राईले भने ‘भारतबाट ल्याउन सम्भव छैन। यो बेला स्थानीय सरकार, प्रदेश सरकारले हामीलाई सहयोग गर्नु आवश्यक भएको छ।’

यो बेला सरकारले सहयोग गर्नु पर्ने चौरी पालकहरुको भनाई छ। आहारको प्रवन्धका लागि राहत जस्तै सहयोग आवश्यक रहेको नेपालले बताए। यतिवेल चरनमा पनि घाँस कम हुने भएकाले आहार बढि आवश्यक पर्ने चौरी पालकको भनाई छ। प्रजनन(सन्तान) उत्पादन तथा घाँसको अभाव हुने बेलामा समस्या परेको नेपालीटारका चौरी पालक थर्क गुरुङको भनाई छ।

सन्तान उत्पादन तथा वृद्धि विकास, दूधमा बढोत्तरीमा दानाको अभावले समस्या हुने गुरुङले बताए। ‘मान्छेलाई एक बोरा चामल ल्यायो भने एक दुई महिना पुग्छ। चौंरी भोकै भए। सिजनमै स्याहारेन भने दूध कम हुन्छ’ गुरुङले भने ‘नेपालतर्फनै बाटो भएपनि ल्याउन सकिने अवस्था छैन। यो बेला विहान बेलुकै आहारा दिनुपर्छ।’
 

 

प्रकाशित: ३० चैत्र २०७६ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App