२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दुई वर्षमा पनि भएन पाँच प्रतिशत काम

पस्तावित काठमाडाैं भ्यु–टावर

काठमाडौं – आफैं प्रहरी कार्यालयमा उपस्थित भएका, पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्यु–टावरका विवादास्पद ठेकेदार मनोज भेटुवालमाथि अनुसन्धान थालिएको छ। उनी मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेका थिए। उनीमाथि आर्थिक अनियमितता र चेक बाउन्स कारोबारसम्बन्धी मुद्दा परेपछि प्रहरीले त्यहींबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत लगेर सात दिनको म्याद थप गरी कारबाही अघि बढाएको हो।

७५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उच्चअदालत पाटनले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार भेटुवालले एक व्यक्तिको ७५ लाख ठगी गरेको मुद्दा परिसरमा दायर भएको थियो। त्यसयता उनी प्रहरीको खोजी सूचीमा परेका थिए। प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि उनी साता दिनअघि भारतमा लुकेर बस्दै आएको प्रहरीको आशंका छ। ‘बैंकिङ कसुर र ठगी मुद्दामा कारबाही हुन्छ, यसअघि अन्य मुद्दा पनि परेकाले हामीले अनुसन्धान गर्छौं,’ प्रवक्ता बोगटीले भने।

साउन १५ मा काठमाडौं जिल्ला अदालतमा ठेकेदार मनोज भेटुवाललगायत विरुद्ध चार करोड ६० लाख ४२ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दायर भएको थियो। त्यसयता भेटुवाल प्रहरीबाट जोगिँदै हिँडेका थिए।

बैंकमा आवश्यक रकम नभएको चेक दिएर (चेक बाउन्स) ठगी गरेको भन्दै भेटवालविरुद्द चन्द्र तामाङले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो। यसअघि ठेकेदार भेटुवाल बैंक घोटाला काण्डमा मुछिएका थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरी तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्बभन्दा बढी रकम घोटालाबारे छानबिन गरेको थियो। यसबाहेक उनी पटक–पटक आर्थिक अनियमिततामा मुछिँदै आएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनको कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकोइको’ ले शंकास्पद कारोबार गरेका उदाहरण देखिएकाले उनको कम्पनीमाथि पनि अनुसन्धान हुनेछ।

गत साउन १५ गते राजश्व अनुसन्धान विभागले भेटुवालसहित चार जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर गरेको थियो। काठमाडौं जिल्ला अदालतमा भेटुवाल, राजकुमार बिष्ट, निशा गुरुङ र शिव बिष्टविरुद्ध चार करोड ६० लाख ४२ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्दा दायर भएको थियो। त्यसयता भेटुवाल प्रहरीबाट जोगिँदै हिँडेका थिए। यसबाहेक भेटुवालले खुलामञ्चमा अवैधानिक रूपमा सटर निर्माण गरी बिक्री गरेका थिए। चर्को विरोध र आलोचनापछि काठमाडौं महानगरपालिकाले डोजर चलाएर ती सटर भत्काइदिएको थियो। राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा भेटुवालले चार करोड ६० लाखभन्दा बढी रकम रकम हुन्डी गरी अवैध रूपमा नेपाल ल्याएको भेटिएको थियो। यति धेरै अवैध काम गरे पनि उनी कारबाहीबाट भने उम्किँदै आएका थिए।

भ्यु–टावर निर्माणको ठेक्का पाएका भेटुवालले दुई वर्ष नाघिसक्दा पाँच प्रतिशत पनि निर्माण कार्य नगरेको पाइएको छ। महानगरपालिकाका अनुसार हालसम्म भुइँतलाको आधा कामसमेत सकिएको छैन। क्षेत्रफलका हिसाबमा हालसम्म भएको कार्य प्रगतिलाई पाँच प्रतिशत पनि मान्न नसकिने महानगरपालिकाले जनाएको छ। काम थालनी गरेर निरन्तरता नदिएको र ठेक्का सम्झौताविपरीत देखिएपछि यसअघि महानगरपालिकाले उनीमाथि खबरदारी गर्दै आइरहेको थियो।

फागुन ७ गते उनले काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर तोकिएको समयमै भ्यु–टावरको काम सक्ने बताए पनि हालसम्म पाँच प्रतिशतसमेत काम नसकिएकाले भ्यु–टावरको काम अन्योलमा पर्ने देखिएको हो। महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालले सम्झौताअनुसार काम नभएर कारबाही हुने बताए। उनका अनुसार पाँचभित्र निर्माण कार्य सक्नेगरी २०७३ फागुन सम्झौता भएको थियो। तीन अर्ब लगानीमा बन्ने भ्यु–टावरको काम सुरुवातका लागि २०७४ भदौमा महानगरबाट नक्सा पास भएको थियो। काम थाल्नुअघि हरेक वर्ष महानगरलाई दुई करोड भाडा बुझाउने र हरेक वर्षमा १० प्रतिशतका दरले भाडा बढ्ने सम्झौता भएको थियो। सम्झौताअनुसार ३० वर्षपछि ठेकेदार कम्पनीले भ्यु–टावर महानगरलाई हस्तान्तरण गर्नेछ। ‘राम्रो गरेको भए त एक–दुईपल्ट म्याद थपिनु ठूलो कुरा भएन,’ ढकालले भने, ‘अहिलेसम्मको कार्य प्रगति हेर्दा सन्तोषजनक छैन।’

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App