२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

खोला उत्खनन् गर्दै गरेका दुई स्काभेटर र ट्याक्टर नियन्त्रणमा

सर्लाही- जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित पटौंना खोलामा उत्खनन् गरिरहेको अवस्थामा जिल्ला अनुगमन समितिको टोलीले दुईवटा स्काभेटर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।

खोलामा उत्खनन् भईरहेको छ भन्ने सूचनाका आधारमा अनगुमनका गएको जिल्ला स्तरीय अनुगमन समितिको टोलीले मंगलबार दिउँसो हरिवन नगपालिका–१ अत्रौलीस्थित पटौंना खोलामा खनिरहेको अवस्थामा स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिएको हो । समितिका संयोजक जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी नेतृत्वको टोलीले नियन्त्रणमा लिएका सवारीसाधनहरु आवश्यक कारबाहीका लागि हरिवन नगपालिका कार्यालयलाई बझुाएको छ ।

अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले खोला खनिरहेको अवस्थामा दुईवटा स्काभेटर एवं दुईवटा ट्याक्टर फेला परेको र ४ वटै सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रकृयाका लागि हरिवन नगरपालिका कार्यालयलाई बुझाईएको जानकारी दिए । ‘हामीले चुरेको फेदैमा खोला खनिरहेको अवस्थामा दुईवटा स्काभेटर र दुईवटा ट्याक्टर नियन्त्रणमा लिएका छौं’, प्रजिअ जिसीले भने, ‘प्रचलित कानून अनुसार प्राकृतिक स्रोत अवैध उत्खनन् सम्बन्धमा स्थानीय सरकारले कारबाही गर्ने व्यवस्था भएकाले सम्बन्धित हरिवन नगरपालिका कार्यालयमा बुझाई दिएका छौं ।’ अनुगमनमा जिल्ला समन्वय समितिका संयोजक चौधरी, प्रजिअ जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक दिलिपकुमार सिंह, सशस्त्र प्रहरीका नायव उपरीक्षक दामोदर ढोडारी लगायत गएका थिए ।

हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जिल्ला अनुगमन समितिले स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रकृयाका लागि नगरपालिकाको जिम्मा लगाएको जानकारी दिए । ‘हामीले छानविन गरिरहेका छौं’, प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘मापदण्ड अनुसार छ कि छैन, वैध वा अवधै के हो भन्ने बारेमा बुझ्ने काम भईरहेको छ, नियम विपरित भएको पाइए कानून अनुसार दण्ड जरिवाना गर्नेछौं ।’ राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रम अन्तर्गत उक्त क्षेत्रमा वाटर हार्भेष्टिङको काम भईरहेको र सोही कामका लागि पोखरी, ड्याम लगायत निर्माण कार्य भईरहेको भन्ने प्रारम्भिक जानकारी आएको उनले बताए ।

जिल्ला अनुगमन समितिले केही दिनअघि मात्र जिल्लाभर सञ्चालित ९ वटा क्रसर उद्योगहरु अनुगमन गर्दा कुनै न कुनै रुपमा मापदण्ड विपरित रहेकाले सबै क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएको थियो ।

प्रकाशित: २१ माघ २०७६ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App