२ असार २०८१ आइतबार
image/svg+xml
समाज

अझै सक्रिय भएनन् स्थानीय सरकार, स्थानीय प्रशासन न्यानो बाड्दै

चिसोबाट जोगाउन सिरहाको विभिन्न स्थानमा सुरक्षाकर्मीले वितरण गरेको दाउरा बालेर आगो ताप्दै चिसो प्रभावितहरु। तस्विरःमिथिलेश यादव/नागरिक

लहान - शीतलहरले चिसिएर मधेसको जनजीवन कष्टकर बने पनि स्थानीय सरकार भने अझैं सक्रिए भएका छैनन्। प्रदेश २ का अधिकांश स्थानीय तह अझै योजना बनाउनमै अल्झेको बेला स्थानीय प्रशासनले सर्वसाधारणलाई आगो ताप्न दाउराको बन्दोबस्त गरेको छ।

प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा स्थानीय प्रशासनको अगुवाइमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सार्वजनिक स्थल, विपन्न बस्तीहरुमा दाउरा वितरण गरेर आगो ताप्ने बन्दोबस्त मिलाएको छ। कतिपय पालिकाहरु कम्बल र दाउराको बन्दोबस्तमा जुटेका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शुनील खनालका अनुसार शीतलहर चलेसँगै चिसोले जनजिवन प्रभावित हुन थालेपछि सुरक्षा निकायले जिल्लाको ७० स्थानमा आगो ताप्न दाउरा वितरण गरेको छ। केहि नगरपालिका र गाउँपालिकाले दउरा किन्ने प्रक्रियामा छन्। केहि किनि पनि सक्या छन्। कम्बल पनि कतिपय नगरपालिकाले किनिसकेको जानकारी दिएको छ, प्रजिअ खनालले भने,‘हामी चिसो प्रभावितको अवस्था बुझ्न गइरहेका छौं।’ स्थानीय तहलाई राहत वितरणमा सक्रिय हुन निरन्तर ताकेता पनि गरिरहेको उनले बताए।

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार जिल्ला दैविप्रकोप उद्धार समितिको निर्णय कातिक २५ गते सबै स्थानीय तहलाई पत्रमार्फत जानकारी गराईसकिएको छ। १७ वटै स्थानीय तहलाई शीतलहर तथा चिसोबाट प्रभावितको तथ्यांकसहित राहत सामग्रीसहित तयारी अवस्थामा बस्न निर्देशन गरिसकिएको छ। तर, कतिपय स्थानीय तह अझै तयारीमै जुटिरहेको जवाफ फर्काउँदै छन्। सुरक्षाकर्मीहरुको सक्रियतामा डिभिजन वन कार्यालयबाट प्राप्त दाउरा सार्वजनिक स्थल र विपन्न बस्तीमा वितरण गर्ने काम सुरु भएको उनले बताए।  स्थलगत अनुगमनमार्फत स्थानीय तहलाई न्यानो वितरणमा सक्रिय बनाउँदै छु, उनले भने।

सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार शुक्रबार लहान, सिरहा, सीमावर्ती झाझपट्टी, सुखिपुर, अर्नामा, सन्हैठा, बेल्हालगायतका शीतलहर प्रभावित बस्तीमा प्रहरीले दाउरा वितरण गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार शीतलहर पूर्व तयारी सम्बन्धि पूर्ण जानकारी १८ वटै स्थानीय तहमा कातिक महिनामै जानकारी गराइसकिएको थियो। तर, स्थानीय तहहरुको सक्रियता सोअनुसार देखिदैन। कतिपय नगरपालिकाहरुले दाउरा, कम्बल खरिद गरिएका छन्। स्वास्थ्य चौकीहरु औषधीसहित तयारी हालतमा छन्।

महोत्तरी जिल्लाका प्रशासकिय अधिकृत कामेश्वर यादवकाअनुसार मटिहानी नगरपालिकाले दाउरा किनेर केहि ठाउँमा वितरण गरेको जानकारी प्राप्त भएको छ। हामीले कम्बल र दाउरा वितरण गर्न स्थानीय तहहरुलाई तकेदा गर्दैछौं, उनले भने।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार स्थानीय तह शीतलहर पीडितलाई राहत दिन जति सक्रियता देखाउनु पथ्र्यो उती देखाएको छैन्। यहाँसम्मकी शीतलहर प्रभावितहरुको तथ्यांकसमेत संकलन गर्न सकेको छैन्। विपद् व्यवस्थापनका लागि केन्द्रबाट आएको निर्देशन सम्पूर्ण (१८ स्थानीय तह)लाई मंसिर ८ गत्ते नै जानकारी गराइसकिएको छ। तर, विपद् व्यवस्थापनको तयारीमा स्थानीय तहको भूमिका सन्तोषजनक छैन्, उनले भने।

स्थानीय तहहरुलाई प्रभावितहरुको तथ्यांक पठाउन बारम्बार तकेदा गर्दापनि अहिलेसम्म नपठाएको उनले बताए। सुरक्षाकर्मीहरुको सहयोगमा सार्वजनिक स्थल र केहि विपन्न बस्तीमा दाउरा वितरणको काम सुरुवात भएको उनले जानकारी दिए।

बाराको कलैया उपमहानगरपालिकाले शुक्रबार केहि सार्वजनिक स्थानमा दाउरा वितरण गरेको छ। बारा जिल्लामा पनि स्थानीय तहहरु अझै शीतलहर प्रभावितलाई राहत उपलब्ध गराउन सक्रियता देखाएको छैन्। पर्साको बिरगन्ज उप महानगरपालिकाले सार्वजनिक स्थानहरुमा दाउरा वितरणको सुरु गरेको छ। शीतलहर प्रभावितहरुको तथ्यांक संकलन गरेर कम्बल वितरणको तयारी पनि केहि स्थानीय तहले गरेका छन्।

चिसोले बिरामी बढे
शीतलहर चलेसँगै चिसो बढेपछि अस्पतालमा रुघाखोकीका बिरामी हवात्तै बढेको अस्पतालहरुले जनाएका छन्। चिसोको कारण दमका बिरामी, बालबालिका र दीर्घरोगी बढी प्रभावित बनेको चिकित्सकको भनाइ छ। रुगाखोकी, निमोनिया, दमका साथै बालबालिकामा निमोनिया, कोल्ड डाइरिया बढीरहेको चिकित्सकले बताएका छन्। दैनिक उपचारमा आउने बिरामीमध्ये ६० प्रतिशतमा यस्ता समस्याका बिरामी हुने गरेको बताइएको छ।

जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिडेन्टेन्ट डा. नागेन्द्र यादवकाअनुसार जाडो मौसममा दैनिक एक सयदेखि डेढसय जना  बिरामी आउने गरेका छन्। उपचारको लागि अस्पताल आउने बिरामीमध्ये ५० प्रतिशत चिसोको कारण विरामीहरु रहेको उनले बताए। अस्पतालमा रुगाखोकी र ज्वरोका बिरामी उपचारमा पुग्ने गरेको उनले बताए।

धेरै जसो रुघाखोकी र ज्वरोका विरामी निजी क्लिनिक र अस्पतालहरुमा पुग्ने गरेका छन्। ‘रुगाखोकीको सुरुमा सकेसम्म सामान्य औषधी आफैँ किनेर खाने प्रचलन देखिन्छ, त्यो कारण पनि सबै अस्पताल पुग्दैनन्’ लहान अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिल कुमार कुशवाहाले बताए।

चिसोको कारण सबैभन्दा बढी एक वर्ष मुनिका बालबालिका प्रभावित हुने गरेको पाइन्छ। यी बालबालिकामा झालापखाला र निमोननियाको संक्रमण बढी देखिएको चिसित्सकहरु बताउँछन्।

प्रकाशित: ५ पुस २०७६ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App